गृहपृष्ठ गौचरणमा परिणत फाप्ला क्रिकेट मैदान

गौचरणमा परिणत फाप्ला क्रिकेट मैदान

सरकारले वर्षेनी बजेट छुट्याउने तर, कार्यान्वयन नगर्ने परिपाटीले खेलप्रेमी चिन्तित

सुदूरपश्चिम प्रदेश सरकारले धनगढीको फाप्लालाई अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउने घोषणासहित गौरवको आयोजनामा राखेको दुई वर्ष बितिसक्यो । तर, अहिलेसम्म शून्य काम भएको छैन । काम अघि नबढाइएकाले एकातिर बजेट फ्रिज हुँदै आएको छ, भने अर्कातिर फाप्ला मैदान गौचरनमा परिणत भएको छ ।

फ्रेन्चाइजी क्रिकेट प्रतियोगिता गराइँदै आएको धनगढीको फाप्लामा प्रदेश सरकारले अन्तर्राष्ट्रिय रंगशाला बनाउने घोषणा गरेपछि स्थानीय खुसी भएका थिए । सरकारले घोषणा मात्र गरेन, गौरवको आयोजनामा राखी बजेटसमेत छुट्ट्यायो । तर, काम भने हुन सकेको छैन । ‘जग्गा प्राप्तिलगायत प्रक्रिया अगाडि बढाइएकै छैन । यसले गर्दा यहाँका खेलप्रेमीमा निराशा छाएको छ,’ धनगढीका स्थानीय नरेन्द्र थापाले भने, ‘सरकारले वर्षेनी बजेट छुट्याउने तर कार्यान्वयनमा नआउने परिपाटीले खेलप्रेमी चिन्तित बनेका हुन् ।’

अन्तर्राष्ट्रिय क्रिकेट मैदान बन्ने भयो भनेर खुसी भएका स्थानीयमा निराशा छाएको हो । सरकारले निर्माणमा तदारुकता नदेखाउँदा मैदान गौचरमा परिणत भएको स्थानीयको भनाई छ । धनगढी क्रिकेट एकेडेमीले आफ्नै खर्चमा फाप्ला मैदानको स्तरोन्नति गरी दुई पटक फ्रेन्चाइजी लिग गरेको थियो । मैदानमा लगानी गर्न सरकारलाई नैतिक दबाब दिनु पनि एकेडेमीको उद्देश्य थियो ।

प्रदेश सरकारले गौरवको आयोजनामा राखे पनि कुनै काम अगाडि नबढेकाले फाप्ला अहिले गौचरमा परिणत भएको छ । धनगढी उपमहानगरपालिका ३ का अध्यक्ष बलबहादुर ऐरले प्रदेश सरकार गौरवको योजनामा राख्ने तर, कार्यान्वयन नहुने भन्दै टिप्पणी गरे । अब तत्काल काम सुरु हुनुपर्ने उनको माग छ ।

फाप्ला मैदान रहेको जग्गालाई लिएर विवाद भएकाले काम अगाडि बढाउन समस्या भएको प्रदेश सरकारको भनाइ छ । सुरुमा सामुदायिक वनको भनेर विवाद भए पनि जग्गा सरकारी भएको स्पष्ट भइसकेको छ तर निर्माणका लागि कसैले पनि अग्रसरता देखाएको छैन । यस वर्ष मैदान निर्माणको काम अघी बढ्ने निवर्तमान अध्यक्ष जिल्ला खेलकुद विकास समिति कैलालीका अध्यक्ष बाबुराजा श्रेष्ठले दावी गरे ।

दुई वर्षमा रंगशाला निर्माणका लागि छुटाइएको ५ करोडभन्दा बढी बजेट फ्रिज भइसकेको छ । चालू आर्थिक वर्ष एक करोड मात्र छुट्टाइएको छ । एकातिर बजेट घटाइनु र अर्कातिर कामै सुरु नहुनुले अन्तर्राष्ट्रियस्तरको रंगशाला बनाउने प्रदेश सरकारको गौरवको आयोजना कागजमै सीमित हुने त होइन भन्ने प्रश्न उठाउन थालिएको छ ।

प्रकाशित समय ११:१० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु