गृहपृष्ठ टेनिस खेलाडीका परिवारलाई १२ लाख ८० हजार रूपैयाँ सहयोग

टेनिस खेलाडीका परिवारलाई १२ लाख ८० हजार रूपैयाँ सहयोग

कास्की जिल्ला टेनिस संघले टेनिस खेलाडी स्व. सुरज नगरकोटीका परिवारलाई १२ लाख ८० हजार रूपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ । नेपाल टेनिस संघका केन्द्रीय उपाध्यक्ष एवं जिल्ला टेनिस संघका निवर्तमान अध्यक्ष विनोद कायस्थले आज पोखरामा आयोजित कार्यक्रममा सो सहयोग रकम नगरकोटीका श्रीमती बबितालाई हस्तान्तरण गरेका हुन् ।

सहयोग रकममध्ये आठ लाख रूपैयाँ स्व. नगरकोटीका दुई वर्षीया छोरी शाकुराको अध्ययनलगायत अन्य खर्चका लागि बालिकाको नाममा बैंकको मुद्धति खातामा राखिएको छ । बाँकी एक लाख ५० हजार रूपैयाँ श्रीमती र एक लाख ५० हजार रूपैयाँ बुबा/आमा तथा बाँकी रकम किरिया खर्चका लागि प्रदान गरिएको संघका कोषाध्यक्ष राजु गुरुङले जानकारी दिए । संघका केन्द्रीय उपाध्यक्ष कायस्थले परिश्रमी र गौरव गर्न लायक खेलाडी गुमाउँदा दुःख लागेको बताउँदै स्व. नगरकोटीको छोरीलाई निःशुल्क अध्ययन अध्यापन गर्न संघले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

धादिङ त्रिपुरा सुन्दरी गाउँपालिका–५ सल्यानकोट घर भएका स्व. नगरकोटी पाँच वर्ष अघिदेखि पोखरामा रहेर टेनिस खेल तथा प्रशिक्षणमा आबद्ध थिए । गत असोज २२ गते फेवातालमा पौडी खेल्ने क्रममा डुबेर नगरकोटीको निधन भएको थियो ।

प्रकाशित समय ०६:५३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु