गृहपृष्ठ पोखरामा जुनियर एटिएफ टेनिस च्याम्पियनसिप
पोखरामा जुनियर एटिएफ टेनिस च्याम्पियनसिप
सोमबारदेखि पोखरामा ट्रेकर्स इन यु-१४ जुनियर एटिएफ टेनिस च्याम्पियनसिप सर्किट १ र २ शुरु हुने भएको छ । प्रतियोगिताका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ ।
कास्की जिल्ला टेनिस संघले आइतबार पोखरामा पत्रकार सम्मेलन गरि यस्तो जानकारी दिएको हो । एसियन टेनिस महासंघको कार्यक्रम अनुसार हुन लागेको प्रतियोगितामा हङकङ, पाकिस्तान, भारत र नेपालका गरी सय भन्दा बढी खेलाडीहरुले सहभागिता जनाउने आयोजक संघका अध्यक्ष दोर्जे लामाले जानकारी दिए । प्रतियोगिताले पोखरामा टेनिस विकासका लागि थप सम्भावना खुल्ने भएकाले यसलाई अबसरका रुपमा लिएको उनले बताए ।
प्रतियोगितामा सहभागि खेलाडीले नगद पुरस्कारका लागि नभई अंकका लागि प्रतिस्पर्धा गर्ने टुर्नामेन्ट डाइरेक्टर अजय विष्टले बताए । सर्किट १ सकिए लगत्तै सर्किट २ का खेलहरु शुरु हुने छ । दुवै सर्किटका खेलहरु १० दिनसम्म चल्नेछन् ।
होटल ट्रेकर्स इनले मुख्य प्रायोजन गरेको प्रतियोगिताको पहिलो सर्किटमा पुरुष ३२ र महिला २५ र दोश्रो सर्किटमा पुरुष ३० र महिला २२ जना खेलाडीको सहभागिता जनाउने संघ कास्कीका महासचिव नविन चालिसेले जानकारी गराए । उनले खेलाडीहरुलाई रातको समयमा पनि अभ्यास गर्न मिल्ने गरि फ्लड लाइट जडान गर्न लागिएको बताए ।
प्रतियोगितामा १४ वर्ष मुनी नेपालका शीर्ष वरियताका खेलाडीहरु आरभ हाडा, अकी राउन, प्रणव मानन्धर लगायतको सहभागिता रहने छ भने महिलातर्फ पनि सलोनी तामाङ्ग, सर्भानी श्रेष्ठ र इशा श्री शाहको सहभागिता रहनेछ ।
प्रकाशित समय २०:०८ बजे
















