गृहपृष्ठ नेपाल पुलिस मनकामना केबुलकार पोखरा कपको क्वाटरफाइनलमा

नेपाल पुलिस मनकामना केबुलकार पोखरा कपको क्वाटरफाइनलमा

आज हुने पहिलो क्वाटरफाइनलमा थ्रिस्टार र एपीएफ भिड्दै

football-pokhara-newskarobar फाइल तस्बिर

विभागीय टोली नेपाल पुलिस क्लब पोखरा रंगशालामा जारी मनकामना केबुलकार पोखरा कप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । पुलिसले प्रतिद्वन्द्वी संकटा क्लबलाई २–१ गोलअन्तरले पराजित गर्दै क्वाटरफाइनलमा स्थान बनाएको हो ।

पुलिसको जितमा अभिषेक रिजाल र म्यान अफ द म्याच घोषित रवि पासवानले एक÷एक गोलको योगदान दिए । संकटाविरुद्धको खेलमा सुरुवातमै गोल खाएर दबाबमा परेको पुलिसले ३१औं मिनेट गोल गर्दै खेल बराबरीमा पुर्यायो । निरकुमार राईले दिएको बललाई अभिषेकले पोस्टको दिशा दिँदा खेल बराबरीमा पुराएका हुन् । खेलको ५४औं मिनेटमा रविले विपक्षी गोलरक्षक बिट भएको अवस्थामा करिब सिक्स यार्ड नजिकबाट बललाई पोस्टको दिशा दिएका हुन् । पुलिसका तीर्थ रानामगर, रवि पासवानका केही अवसर सदुपयोग हुन नसक्दा गोलअन्तर फराकिलो हुन सकेन ।

लिगको दोस्रो स्थानमा रहेको संकटाले खेलको ११औं मिनेटमै १–० को अग्रता कायम गरेको थियो । तर, बाँकी समय सम्हालिन नसक्दा हार व्यहोर्नुपर्यो । रोसन पहारीको पासमा डिबक्स नजिक रहेका म्याक्सवेल इलनले गोल गरेका थिए । यसअघि, खप्तड गोल्डकपमा पनि पुसिलसँग संकटा पराजित भएको थियो । लिगमा भने संकटाले पुलिसलाई पराजित गरेको थियो । संकटाका अब्बा, लक्ष्मण रुचाल र इलनका केही प्रहार खेर गएका थिए ।

संकटाका प्रशिक्षक सल्यान खड्कीले दोस्रो गोल हुँदा आफ्नो टिमको डिफेन्स लाइनमा कमजोरी हुँदा पराजित हुनुपरेको बताए । नेपाल पुलिसका प्रशिक्षक अनन्तराज थापाले लिगपछि पनि लगातार विभिन्न प्रतियोगितामा सहभागी भए पनि आफूहरुले सोचेजस्तो उत्कृष्ट खेल भने प्रदर्शन गर्न नसकेको तर्क गरे ।

प्रतियोगितामा आइतबारदेखि क्वाटरफाइनलका खेलहरु हुनेछन् । आइतबार थ्रिस्टारविरुद्ध सशस्त्र प्रहरी बलको एपीएफ क्लबबीच खेल हुने एन्फा कास्कीले जनाएको छ ।

प्रकाशित समय ०७:२४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु