गृहपृष्ठ भारतीय पाठ्यपुस्तक पढाउने स्कुललाई स्पष्टीकरण

भारतीय पाठ्यपुस्तक पढाउने स्कुललाई स्पष्टीकरण

सांकेतिक तस्बिर

झापा- सरकारी स्वीकृतबिनाका भारतीय पाठ्यपुस्तक पठनपाठन गराएको अभियोगमा झापा दमकको एक विद्यालयसँग स्पष्टीकरण मागिएको छ । दमक–६ स्थित सूर्योदय अंग्रेजी बोर्डिङ स्कूलले आफूखुसी भारतीय पाठ्यपुस्तक पठनपाठन गराएको भन्दै नगरपालिकाको शिक्षा समितिले सो स्कुललाई कारवाही प्रक्रिया अगाडि बढाएको हो ।

नेपाली राष्ट्रियतामाथि आँच हुनेखालका भारतीय पाठ्यपुस्तक पठनपाठन गराउँदै आएको गुनासो आएपछि समितिले आज स्कुल अनुगमन गरेको थियो । अनुगमनपछि समितिले स्कुललाई २४ घण्टे स्पष्टीकरण सोधेको शिक्षा अधिकृत शालिग्राम काफ्लेले जानकारी दिनुभयो ।

स्कुलले १ देखि कक्षा १० सम्म अधिकांश भारतीय पब्लिकेसनका पुस्तक पढाउँदै आएको छ । स्कुलले आफूले पढाउने पुस्तकको विषयमा शिक्षा कार्यालयमा जानकारी गराउनुपर्ने भए पनि हालसम्म त्यसो नगरेको काफ्लेले बताउनुभयो ।

तोकिएको समयभित्रमा चित्तबुझ्दो स्पष्टीकरण नदिए विद्यालय बन्द गर्नेसम्मको कारवाही हुन सक्ने उहाँको भनाइ छ । शिक्षा अधिकृत काफ्लेले उक्त स्कूलले आधारभूत तहमा भारतको दिल्लीस्थित इडुहेरल्स पब्लिकेसनका ‘इङ्लिस कन्भरसेसन’का पुस्तकमा राष्ट्रियतामाथि नै आँच आउने किसिमका शैक्षिक सामग्री फेला परेको उल्लेख गर्नुभयो ।
पुस्तकमा भारतको झण्डा, आफ्नो जन्मभूमि भारत हो, हाम्रो राष्ट्रिय झण्डाजस्ता पाठ्यसामग्री समावेश गरिएको पाइएको उहाँको भनाइ छ ।

अनुगमनमा नगरपालिकाकी उपप्रमुख गीता अधिकारीसहितका शिक्षा समितिको एक टोली खटिएको थियो । दमक नगरभित्र २१ वटा सामुदायिक र ५९ वटा संस्थागत विद्यालय छन् । (रासस)

 

प्रकाशित समय १५:१५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु