गृहपृष्ठ वर्षा र बाढीले देशभरको जनजीवन प्रभावित
वर्षा र बाढीले देशभरको जनजीवन प्रभावित
सांकेतिक तस्बिर
काठमाडौं– अविरल वर्षापछि आएको बाढी र पहिरोले देशभरको जनजीवन प्रभावित भएको छ । आइतबार दिउँसोदेखि निरन्तर पानी परेसँगै नजिकैका खोलामा आएको बाढी सहर बजार पसेपछि जनजीवन थप कष्टकर बनेको हो ।
रामेछापमा अविरल वर्षापछि आएको बाढीले परीक्षा दिन गएका विद्यार्थीलाई बगाएको छ । बाढी पसेपछि मन्थली बजारलगायतका स्थान अस्तव्यस्त बनेको छ । मन्थली नगरपालिकाको भटौलीमा रहेको रुद्राक्षेश्वर मावि केन्द्रमा परीक्षा दिन जान लागेकी मन्थली माविकी उस्मा फुँयाललाई खोलाले बगाएर बेपत्ता बनाएको छ । ६ जना विद्यार्थीको भने उद्धार गरिएको छ । बेपत्ता फुँयालको नेपाली, सेना, प्रहरी र स्थानीयले खोजी गरिरहेका छन् । वर्षाले बस्ती डुबानमा परेको छ भने सडक अवरुद्ध हुँदा सवारी आवागमन प्रभावित भएको छ । गए राति १२ बजदेखि सुरु भएको वर्षाले मन्थलीको बसपार्क, मन्थली बजारको खाँदबारीलगायतका क्षेत्र डुबेका छन् । पहिरोले केही घर र पसलमा समेत क्षति पु¥याएको छ ।
उता, वर्षाका कारण सिद्धार्थ राजमार्गअन्तर्गतको बुटवल–दोभान सडकखण्ड अवरुद्ध भएको छ । सडक अवरुद्ध हुँदा यातायात आवागमन रोकिएपछि यात्रु मर्कामा परेका छन् । तिनाउ गाउँपालिका–३, हेडबक्स भन्ने ठाउँमा सडकमा पहिरो खसेपछि सोमबार बिहानैदेखि यातायात सेवा अवरुद्ध भएको हो । अहिले पहिरो पन्छाइँदै छ ।
कैलालीमा गए राति आएको हावाहुरीले घरको छानो उडाउँदा घरमा लगाएको बलो खसेर एक जनाको मृत्यु भएको छ । गौरीगंगा नगरपालिका–१, माघी होमस्टेमा रहेको घरको छाना उडाएर खसेको सालको बलोले लागेर ५६ वर्षीय चारुमणि बुढाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक विनोद घिमिरले जानकारी दिए । टेलिफोन सेवा र प्रहरीको सञ्चार सेटसमेत अवरुद्ध हुँदा जिल्लाबाट डाटा संकलन गर्न समस्या भएको उनले बताए । हावाहुरीका कारण जिल्लाका केही ठाउँमा पशुचौपायासमेतको मृत्यु भएको छ भने सडक किनारका रुख र बिजुलीका पोल ढल्दा केहीबेर सडकसमेत अवरुद्ध भयो । अत्तरिया–धनगढी सडकखण्डमा खसेको रुख पन्छाएर बाटो खुलाइएको छ । हावाहुरीका कारण केहीबेर विद्युत् र टेलिफोन सेवा पनि अवरुद्ध भयो ।
उता, पर्वतको बिहादी गाउँपालिका–१, वाच्छामा भने वर्षासँगै परेको चट्याङ लागेर आठवटा घरमा क्षति पुगेको छ । चट्याङमै परेर ६ महिने बालक घाइते भएका छन् । चट्याङले साविकको बाच्छा–२, उकाला भन्ने ठाउँका घरहरुमा क्षति पु¥याएको हो । बालकको स्थानीय स्वास्थ्यचौकीमा उपचार भइरहेको छ । चट्याङ लागेर स्थानीय डम्बर विकको गोठ भत्किनुका साथै एउटा भैंसी मरेको बाच्छा प्रहरी चौकीका प्रमुख वैजनाथ हरिजनले जानकारी दिए ।
प्रकाशित समय १४:५८ बजे
















