गृहपृष्ठ राप्रपाले थाल्याे एकताकाे प्रयास
राप्रपाले थाल्याे एकताकाे प्रयास
– रघुनाथ बजगाँई
काठमाडौं– तिनवटा राप्रपाले एकीकरणको प्रयास थालेका छन् । विगतमा विभिन्न कारण टुटफूटको सिकार बनेको राप्रपालाई एकढिक्का बनाउने प्रयास सुरु भएको नेताहरुले बताउन थालेका छन् ।
विगतमा बिभिन्न कारणले टुटफुट भएको भएपनि अहिलेको राजनीतिक ध्रव्रिकरणले आफुहरुलाई छुट्टै बस्न नदिएको राप्रपाका बरिष्ठ उपाध्यक्ष दिपक बोहोराले बताए । बाेहाेराका अनुसार धुव्रिकृत राजनीतिमा अर्को राष्ट्रवादी शक्तिको अपरिहार्यता भएकाले तिन वटा राप्रपा मिल्नुको विकल्प रहेन ।
राप्रपाले बरिष्ठ उपाध्यक्ष दीपक बोहोराको संयोजकत्वमा समान विचार बोक्ने पार्टी र समुहबीच एकता गर्न चार सदस्यीय पार्टी एकता विस्तार एवम् सहजिकरण सम्पर्क कार्यदल गठन गरेको छ ।
बोहोराको अध्यक्षतामा गठित कार्यदलमा पार्टीका अर्का उपाध्यक्ष विक्रम पाण्डे, महामन्त्री सुनील थापा र उच्च उस्तरीय कार्यसम्पादन समितिका सदस्य ठाकुरप्रसाद शर्मा सदस्य रहेका छन् ।
‘राष्ट्रिय प्रजातन्त्र पार्टी तिन भागमा विभाजित भएर अगाडि बढेको विदितै छ’ एकता विस्तार एवम् सहजिकरण सम्पर्क कार्यदलका संयोजक बोहोराले भने, ‘धेरै कुराहरु आपसमा मिलेनन् वा कसको गल्ति के भयो भन्नु भन्दा पनि जनताले त्यसलाई स्वीकारेनन् । यसलाई हृदयाङ्गम गरेर एकीकरणका लागि पहल गर्ने निर्णय गरेका छौं ।’
एकताको प्रयास अघि बढाएको भनिएको राप्रपाको इतिहास भने टुटफुटले भरिपूर्ण छ । व्यक्तित्वको टकराव लगायतका कारणले फुटीरहने राप्रपा अहिले भने एक हुनै पर्ने दबावमा छ । कम्युनिस्ट पार्टी एक भई शसक्त रुपमा अगाडि बढेको छ भने, नेपाली कांग्रेस आफ्नो छुट्टै प्रजातान्त्रिक धारलाई बलियो बनाउने प्रयत्नमा छ ।
यस्तो धुव्रिकृत राजनीतिमा आफूलाई ‘राष्ट्रवादी शक्ति’का रुपमा चिनाउन रुचाउने राप्रपाले एकतामार्फत समर्थकहरको मन जित्नु अपरिहार्य भएकाले मिल्नुको विकल्प नरहेको बुझाइमा नेताहरु पुगेका छन् ।
यस्तो छ राप्रपाको इतिहास
२०४७ जेठ १५ गते एकै दिन राप्रपा चन्द र राप्रपा थापा नामका दुइ वटा पार्टी खुले । एकै पार्टी खोल्ने भनेर भएको तयारीले पूर्णता पाउन नसकेपछि एकै दिन तर दुईवटा पार्टी खुल्न पुगे र नाम राखिएको थियो राप्रपा ।
तर, निर्वाचन आयोगमा पहिले सूर्यबहादुर थापाको अध्यक्षतामा गठित राप्रपा थापा दर्ता भयो । त्यसैदिन लोकेन्द्रबहादुर चन्द अध्यक्ष रहेको राप्रपा चन्द पनि दर्ता भयो । राप्रपा नाम भएका दुइटा निवेदन आएपछि आयोगले नै राप्रपा पछाडि थापा र चन्द थपिदिएको थियो ।
राप्रपाको विभाजनका कारण २०४८ सालको संसदीय चुनावमा दुबै राप्रपाले सोचेजस्तो प्रदर्शन गर्न सकेनन् । त्यतिबेला राष्ट्रिय दलको मान्यता पाउन ३ प्रतिशत भोट आवश्यक थियो । त्यो दुबैले र्पुयाए । २ सय ५ क्षेत्रको प्रतिनिधिसभामा राप्रपा चन्दबाट पशुपतिसम्सेर राणा सिन्धुपाल्चोक, प्रकाशचन्द्र लोहनी नुवाकोट र रामकृष्ण आचार्य रसुवाबाट विजयी भए । उता राप्रपा थापाबाट भने अक्करबहादुर सिंहले दार्चुलाबाट विजय हासिल गरे । चुनाव हारेपछि दुबै पार्टीलाई मिल्नुपर्ने चेतना र दबाब पर्यो ।
अन्ततः २०४९ सालमा दुबै पार्टी एक भएर राप्रपा बन्यो । २०४९ मा भएको एकताको प्रतिफलस्वरुप राप्रपा २०५१ सालको मध्यावधि निर्वाचनमा प्रत्यक्षतर्फ २० सिटमा विजयी भयो भने देशभरबाट समेत राम्रै मत पायो । जसका कारण राप्रपा त्यतिबेलाको त्रिशंकु संसदमा सत्ताको साँचो बन्यो ।
तर यो एकता राप्रपाले धेरै दिन टिकाउन भने सकेन । एकताले ल्याएको खुसी अंहकारमा परिणत भयो । उदार र कठोर पञ्चहरुबीच ध्रुवीकरण देखा पर्न थाल्यो । त्यसपछि मनमोहन अधिकारीले नेतृत्व गरेको एमालेको अल्पमतको सरकार गिराएर कांग्रेस नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउँदै राप्रपा सत्तामा पुग्यो ।
त्यसपछि सुरु भयो सत्ता परिवर्तनको खेल । एमालेको सहयोग लिएर देउवा सरकार ढालेर राप्रपाका चन्द प्रधानमन्त्री बने भने चन्दलाई विस्थापित गर्न कांग्रेसको सहयोग लिएर आए राप्रपाकै अर्का नेता सूर्यबहादुर थापा । राप्रपाकै दुई नेताबीचमा सत्ताका लागि घम्साघम्सी पर्याे ।
विवादका बीच २०५४ साल फागुनमा फेरि राप्रपा फुट्यो, संसदीय दलमा ४० प्रतिशत र्पुयाएर । सुरुमा नयाँ राप्रपा नाम दिइएकोमा पछि राप्रपा चन्द नामाकरण गरियो । २०५६ सालको निर्वाचनमा राप्रपा चन्दले जित्न नसके पनि राष्ट्रिय दलको हैसियत भने जोगायो ।
राप्रपाबाट ११ जनाले जिते पनि देशभरबाट मत घट्यो । जसका कारण २०५१ देखि शासनसत्तामा प्रभाव जमाएको राप्रपाका नेताहरुको महत्व घट्न थाल्यो । सदैव शासन सत्ता वरिपरि रहेकाहरुलाई सत्ताइतर बस्न स्वभाविक रुपमा कठिन हुन्छ । सत्ताको साँचो गुमेपछि दुबैले एकताको आवश्यकता देखे । कार्यकर्ताको दबाब महसुस गरे ।
अन्ततः फेरी २०५७ सालमा दुबै पार्टी एक भए । राप्रपाको फुटमा दरबार पनि कारक बन्यो । जब राजा ज्ञानेन्द्रले सक्रिय शासनको सुरुवात गरे त्यसपछि राप्रपामा पुनः विवाद बढ्दै गयो ।
२०५९ असोज १८ गते लोकेन्द्रबहादुर चन्दलाई राजाले प्रधानमन्त्री बनाए । त्यतिबेला राप्रपाका अध्यक्ष थिए सूर्यबहादुर थापा । राजाको उक्त कदमलाई थापा निवास मालिगाउँमै बसेको बैठकले परिस्थितजन्य बाध्यताको संज्ञा दियो । तर भित्री रुपमा थापा त्यो कदम स्वीकार गर्नसक्ने पक्षमा थिएनन् । त्यस कमदप्रति दलहरु एवं भारत समेतको समर्थन प्राप्त नभएपछि चन्द हटाइए र थापा फेरि प्रधानमन्त्री बने ।
दरबारले राप्रपाका नेताहरुलाई पालैपालो प्रधानमन्त्री बनाए पनि दुवैलाई बलियो हुन भने दिएन । चन्द र थापाबीच विवाद चुलिदै गयो । २०६१ माघ १९ मा राजाले शासनसत्ता हातमा लिए । यो कदमलाई राप्रपाबाट स्वागत गराउने प्रयास गरियो । तर अध्यक्ष पशुपतिसमशेर राणा र पूर्वअध्यक्ष सूर्यबहादुर थापा दुवै यसको विपक्षमा उभिए ।
दरबारले अब राप्रपा कब्जा गर्ने वा फुटाउने रणनीति सुरु गर्यो । फलस्वरुप २०६२ पुष २६ र २७ गते काठमाडौंमा विशेष भेला बोलाएर राप्रपाको अध्यक्ष कमल थापा भएको घोषणा गरियो ।
तर, निर्वाचन आयोगले त्यसलाई मान्यता दिएन । त्यसपछि त्यो समुह राप्रपा नेपाल नामाकरण गर्दै निर्वाचन आयोगमा दर्ता भयो । राप्रपा नेपाल गठन हुनुअगावै राजाकै सक्रीय शासनको समयमा राप्रपाबाट संस्थापक अध्यक्ष सूर्यबहादुर थापा अलग भई राष्ट्रिय जनशक्ति पार्टी गठन गरे ।
पहिलो संविधानसभा चुनावमा ३ सिट हात पारेको जनशक्त्ति पार्टी र राणा अध्यक्ष रहेको राप्रपाबीच २०७० असारमा एकता भयो ।
अवसर पाउन साथ विवाद गर्ने र फुट्ने राप्रपा नेताहरु अलि अप्ठेरो पर्नासाथ एकताको हात फैलाउन तयार भइहाल्ने गरेका छन् । यसपटक पनि विगतकै जस्तो नियती दोहोर्याउने हुन् वा त्यसबाट पाठ सिकेर अगाडि बढ्छन् हेर्न बाँकी छ ।
प्रकाशित समय १७:०९ बजे
















