गृहपृष्ठ बाढीकाे वितण्डा : जनता त्रासमा, के हुँदैछ सिंहदरबारमा ?
बाढीकाे वितण्डा : जनता त्रासमा, के हुँदैछ सिंहदरबारमा ?

उपत्यकामा समेत यसबर्ष वर्षाले वितण्डा नै मच्चायो । भक्तपुरमा मात्र वर्षाका कारण तीन जनाको मृत्यु भयो । देशभरका अधिकांश राजमार्ग अबरुद्ध भए । तराईका मुख्य मुख्य क्षेत्र डुबानमा परेका छन् ।
बाढी र डुबानका कारण खोला किनारमा मापदण्ड विपरीत अनियन्त्रित घर बनाउने मात्र मारमा परेका छैनन्, भक्तपुरबासी नै घर छोड्न बाध्य भए । गृह मन्त्रालय जनधनको क्षतीबारे तथ्याङ्क संकलन र राहत तथा उद्धारमा खटिएको छ । मानवीय संवेदनाकै विषय भएकाले नागरिकहरु स्वतःस्फुर्त रुपमा उद्धारमा खटिएका छन् । रेडक्रस लगायतका संस्थाहरु पनि पिडितको उद्धारमा लागेका छन् ।
देशभर बाढीले जनजीवन अस्तव्यस्त बनाएपछि सदनमा स्वाभाविक रुपमा कुरा उठ्छ र उठ्नुपर्छ । विहिबार संघीय संसदमा सांसदहरुले सरकारको ध्यानाकर्षण गरे । उनीहरुले सरकारलाई यी र यस्ताखाले विपत्तिबाट जीउ धनको रक्षा तथा उद्धारको योजना खै ? भन्दै प्रश्न गरे ।
फरक यत्ति हो, अघिल्लो बर्ष सरकारले केहि योजना नबनाउँदा जनताले दुख पाएको भनेर रोइलो गर्ने दल अहिले सरकारमा छ । तिनलाई अघिल्लो वर्ष सरकारमै रहेका दलका सांसदहरुले अहिले उही प्रश्न गरिरहेका छन् खै योजना ?
केही वर्षदेखि मध्य र उच्च पहाडमा मुसलधारे वर्षा बढी हुन थालेकाले ठूलो बाढी आउने र पहिरो जाने सम्भावना निक्कै बढेको विज्ञहरु बताउँछन । भक्तपुरमा बाढी आएपछि पीडितहरुलाई ‘क्रेन’को सहायताले उद्धार गर्नु परेको छ, डुङ्गाबाट उद्धार गरिएका छन् । यतिबेला घरमा बस्नसमेत नसक्ने गरी डुवानको मारमा भक्तपुर परेको छ ।
गएको बर्ष साउन १५ गते सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका कोठा कर्मचारी बस्न समेत नसक्ने गरी डुबानमा परेको ताजै छ । जलस्रोतविद् अजय दीक्षित भन्छन्, ‘अतिवृष्टि रोक्न त सकिन्न तर पूर्वतयारी गर्न सकियो भने मानवीय क्षेती निक्कै कम गर्न सकिन्छ ।’
के भन्छ, मौसम पूर्वानुमान महाशाखा ?
नेपालमा तीन दिन सम्मको मौसमको पूर्वानुमान गर्न सकिने यन्त्र छ । यही यन्त्रको सहायताले मौसम पूर्वानुमान महाशाखाले देशको मध्य र पश्चिम क्षेत्रमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ । भारी बर्षा भनेको ५० देखि १०० मिलिमिटर वर्षा हो । तुलनात्मक रुपमा पूर्वी क्षेत्रमा कम वर्षा हुने अनुमान छ ।
जल तथा मौसम विज्ञान विभाग र मौसम पूर्वानुमान महाशाखाले देशका २ सय ८२ ठाउँमा राखेको वर्षा मापन स्टेशनबाट आएका तथ्याङ्क विश्लेषण गर्ने गर्दछ । मौसमविद् सुवास रिमाल, देशको मध्य र पश्चिम भेगमा भारी वर्षा हुने सम्भावना रहेको बताउँछन् ।
रिमालका अनुसार प्रतिघण्टा १०० मिलिमिटर भन्दा बढी पानी पर्नुलाई क्लाउड बर्सट भनिन्छ । केही मिनेटमा २० मिलिमिटर भन्दा बढी पानी पर्ने क्लाउड बर्सट धेरै पानी सहितको बादलमा तातो हावाको झोक्का वा केहीले अबरोध पुर्याउँदा हुने गर्छ ।
मानवीय त्रुटी
जल उत्पन्न प्रकोप नियन्त्रण विभागका अनुसार बाढी पहिरो प्राकृतिक कारणले आउने भए पनि क्षतिमा मानवीय क्रियाकलाप बढी जिम्मेवार हुन्छ । ‘बम ब्लास्ट’ गरेर बनाइने सडक, ठूला भवन तथा नहर÷कुलो निर्माण, वन जंगल विनाश, अवैज्ञानिक खेतीप्रणालीका कारण पहिरोको जोखीम उच्च रहने जानकारहरु बताउँछन् ।
मानव बस्ती जोखिममा पर्नुको कारण अव्यवस्थित विकास र बसोबास नै हो । त्यसमाथि, बाढी र पहिरो आउने ठाउँ ख्यालै नगरी बसोबास बनाउँदा प्राकृतिक प्रकोपले मानवीय क्षति बढी भएको उनीहरुको तर्क छ ।
पृथ्वीको तापक्रम बढेकाले समुद्री क्षेत्रबाट उच्च वेगमा बादल आउन थालेको र हिमाली क्षेत्रको न्यून वहावको हावासँग ठोक्किएपछि बढी वर्षा हुन थालेको मौसमविद् सुवास रिमालको विश्लेषण छ ।
यस्तो छ, विपद् पूर्वकार्य योजना
सरकारले सबै प्रदेश, जिल्ला र स्थानीय तहमा अत्याधुनिक सुविधासहितको एक–एक वटा खोज तथा उद्धार समूह सहितको आपतकालीन संचालन केन्द्र स्थापना गर्ने पूर्व योजना बनाएको छ । अघिल्लो बर्ष बनेको योजना अन्तर्गत खोज तथा उद्धार सम्बन्धी कुनै प्रकारका गतिविधि भएका छैनन् ।
विपद् व्यवस्थापन कार्यका लागि २ वटा प्रदेशमा भण्डारण गृह स्थापना गर्ने, सात वटै भण्डारण गृहहरुमा अत्यावश्यक विपद् सामग्रीहरुको व्यवस्था गर्ने योजना पनि छ । यस विषयमासमेत खास काम अघि बढेको छैन ।
हलुका र मध्यम तहको खोज तथा उद्धारका लागि आवश्यक उपकरण सहित तुरुन्तै परिचालन हुने स्वयंसेवक सहितको विशेष टोलीको व्यवस्था गर्ने, विपदबाट हुने मानवीय र भौतिक सम्पत्तिको जोखिम हस्तान्तरण गर्न बीमा कम्पनीहरुसँग सहकार्य गर्ने, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण स्थापना गर्ने लगायतका योजना बनाइएको छ । योजना अन्र्तगत केहि काम गर्न खोजीए पनि प्रभावकारी नभएको धेरैको बुझाई रहेको पाईन्छ ।
देशमा बाढीबाट हरेक बर्ष नागरिकको अकालमा मृत्यु हुन्छ । करोडौं भौत्तिक सम्पतीको क्षती हुँदै आएको छ । यो नोक्सान सबै प्रकृतिका कारणले मात्र भएको या सरकारको व्यवस्थापनको असक्षमताले ? यो प्रश्न गम्भीर बनेर आएको छ ।
बाढीको सन्दर्भमा निस्कने नेपालीको मुख्य गुनासो वा प्रश्न नेपाल–भारत सीमामा बनाइने बांँध पनि हुन् । अन्तर्राष्ट्रिय कानुन अनुसार पनि सीमानामै बाँध बनाउन पाइँदैन । तर नेपाल–भारत सीमानाको एक दर्जनभन्दा बढी ठाउँमा बाँध बनाइएको छ । ती तटबन्धको ढोका खोल्ने र बन्द गर्नेमा नेपालको कुनै हात छैन । त्यसकारण वर्षाको समयमा तटबन्ध बन्द हुँदा नेपालको तराई–मधेसका जनताले दुख पाउँछन् । तराई क्षेत्र जलमग्न हुन्छ । आश्चर्य के छ भने यसबारे मधेसको हितका लागि भनिएका मधेस केन्द्रित दलहरू पनि केहि बोल्दैनन । केन्द्र सरकारको कछुवा गतिको कार्यसम्पादन त छँदैछ ।
सुझाव
योजना बनाउने तर कार्यान्वयनमा तदारुकता नदेखाउने नेतृत्वको प्रवृत्तिमा तत्काल सुधार आउनुपर्छ । विपद् शंख बजाएर नआउने भएकाले आएपछि आत्तिएर केहि नहुने र पुर्व तयारी गर्नुपर्छ भन्ने बोध हुन आवश्यक छ ।
विपद्को समयमा प्रतिपक्षी दलले पनि सरकारलाई राजनीतिक आग्रह–पूर्वाग्रहभन्दा माथि उठेर सरकारलाई सहयोग गर्नु आवश्यक छ । विचारै नगरी नेपाली पक्षलाई हेपेर भारतले एकतर्फी रूपमा बनाएका सीमानाका बाँधबारे कुटनीतिक रुपमा वार्ता गरि दुबै देशको हितहुनेगरि पुनर्संरचना गर्नुपर्ने देखिन्छ ।
प्रकाशित समय १६:४९ बजे