गृहपृष्ठ गुठी प्राधिकरणले स्वर्गद्वारी आश्रमलाई कहाँ पु-याउला ?

गुठी प्राधिकरणले स्वर्गद्वारी आश्रमलाई कहाँ पु-याउला ?

swargadwari-newskarobar

प्युठान जिल्लामा पर्ने स्वर्गद्वारी तपोभूमिले समुद्र सतहदेखि ७ हजार फिटको उचाइमा २ हजार ६ सय रोपनी क्षेत्रफल शोभित छ । जिल्ला सदरमुकाम खलंगाबाट करिब २६ किलोमिटर पश्चिममा अवस्थित यो धार्मिकस्थल आध्यात्मिकहरुको प्रमुख गन्तव्य स्थलका रुपमा विकसित हुँदै छ । पौराणिक कालमा पाण्डवहरू यही बाटो भएर स्वर्ग गएको किंम्बदन्ती छ । स्वर्गद्वारी नामकरण यसैका आधारमा भएको मानिन्छ । भगवान ब्रह्मा स्वयं र ऋषिमुनिहरुले यहाँ तपस्या गरेको किंम्बदन्ती छ । स्वर्गद्वारीमा रहेका ऐतिहासिक अग्निकुण्ड, गुफालगायतले यो प्राचीन पुण्यभूमि रहेको सहजै अनुमान गर्न सकिन्छ । यहाँका गाई एवं महाप्रभुको दर्शन गर्नाले मनोकांक्षा पूरा हुने विश्वास छ । गोवर्धन पूजा, वैशाख पूर्णिमामा यहाँ लाग्ने विशेष मेलाले मानिसलाई अझ आकर्षित गर्छ ।

स्वर्गद्वारीलाई प्रसिद्ध बनाउने महाप्रभु वि.सं. १९१६ मा रोल्पाको रुम्टी गाउँमा जन्मेका हुन् । जन्मेपछि छैंटीको दिन आमाले मासु खाएको थाहा पाई तीन दिनसम्म दूध नचुसी भोकै बसे रे ! दसौं दिनबाट कपिला गाईको दूध खान थालेका उनी ५ वर्षको उमेरदेखि शिवभक्त भएछन् । त्यसैबेला उनी अदृश्य भई गाउँमाथिको एउटा ओढारमा बसेछन् । तीन वर्षपछि उनी विद्वानका रुपमा प्रकट भएछन् । १९४२ सालमा गुरु सच्चिदानन्द गिरीबाट सन्यासको दीक्षा प्राप्त गरेपछि उनको नाम हंसानन्द गिरी रहन गयो ।

त्यसपछि उनी आफ्नो गाउँ छाडेर चेलाहरुसहित धर्म रक्षाका लागि हिँडे । स्वर्गद्वारी पर्वतमा पुगेपछि त्यहाँ प्राचीन यज्ञशाला रहेको समतल भूमिमा बाँझको वृक्षमुनि आश्रम राखी बस्ने इच्छा प्रकट गरे । प्राचीन कालमा यज्ञ गरेको अवशेषहरु फेला परेपछि त्यस ठाउँमा मन्दिर पनि स्थापना गरे ।

हिमशिखरहरुसहित रमणीय दृश्यावलोकन गर्न सकिने स्वर्गद्वारीको उच्च टाकुरामा एउटा गुफा छ । महाप्रभु उक्त गुफाको बाटो भएर २ हजार ३ सय मिटर तल लुंग्री र माडीको दोभानमा झरी स्नान गर्थे रे ! हाल पनि उक्त गुफालाई स्वर्गको द्वार भन्ने गरिन्छ । शिष्यहरु स्वर्गद्वारी महाप्रभुलाई शिवकोे अवतार मान्छन् । हिन्दू विधि र संस्कारअनुसार सम्पूर्ण देवीदेवताको नित्य पूजा, हवन गर्ने विश्वको एकमात्र स्थान स्वर्गद्वारी रहेको शंकराचार्य जयन्द्र सरस्वतीले स्वर्गद्वारीको भ्रमणका गरेपछि यसको महिमा अझ बढेको पाइन्छ ।

यहाँको हवनकुण्डमा महाप्रभुले वेदध्वनिबाट प्रज्ज्वलन गरेको अग्नि निरन्तर जलिरहेको छ । यहाँ आश्रमभित्रको हवनकुण्डमा दैनिक दुई किलोग्राम घिउ हवन गरिन्छ । वैदिक विधिपूर्वक स्थापित हवनकुण्डको विभूति प्रसादका रुपमा ग्रहण गरिन्छ । उक्त विभूतिमा औषधीय गुण रहेको विश्वास गरिन्छ ।

१९९७ सालमा महाप्रभु ब्रह्मलीन हुनुपूर्व आश्रमको गौशालामा करिब एक हजार गाई थिए । हाल गाईभैंसी गरी दुई सयजति छन् । गाईभैंसी स्याहार्न ३० जना गोठाला छन् । आश्रममा उत्पादित दुग्धजन्य पदार्थबाट आश्रमको नित्य पूजा, आश्रममा आश्रितको भरणपोषण र अतिथि सत्कार व्यवस्थापन गर्ने प्रचलन छ ।

त्यहाँ एक सय रोपनीजति जग्गामा रायोखेती गरिन्छ । गाईभैंसीको प्रशस्त मल हालिएको जग्गामा उत्पादित साग सुकाएर वर्षभरि आउने आगन्तुकलाई तरकारी व्यवस्थापन गरिन्छ । यहाँ आउने भक्तजनलाई निःशुल्क भोजन र आवासको व्यवस्था छ । तिहारको औंसीका र दसैंको फूलपातीका दिन आश्रमका निर्माता महाप्रभुको सम्झनामा उनको रथयात्रा गर्ने गरिन्छ ।

आश्रममा वेद पाठशाला छ । यो पाठशाला नित्य चालू छ । यहाँ २० जना बटुक अध्ययनरत रहन्छन् । त्यहाँबाट दीक्षित जनशक्ति नै आश्रमका मेरुदण्ड हुन् । पाठशालामा वेदलगायत संस्कृत पढाइन्छ ।

आश्रमको व्यवस्थापनका लागि महाप्रभुले प्युठानमा २ हजार ६ रोपनी र दाङ जिल्लाका विभिन्न ठाउँमा १ हजार ८ सय बिघा जमिनको व्यवस्थापन गरेका थिए । त्यहाँ उत्पादित खाद्यान्नबाट स्वर्गद्वारी आश्रम निरन्तर चलेको छ । आश्रममा आउने भक्तजन र त्यहाँ रहने सम्पूर्णलाई निःशुल्क भोजन र आवासको व्यवस्थापन यही जग्गाको आम्दानीबाट गरिन्छ । आश्रम व्यवस्थापनको मुख्य कार्यालय त्रिभुवन नगरपालिका ११ झिगौरामा छ । प्युठानको स्वर्गद्वारी र दाङ जिल्लाकै देउखुरी चौलाही पहाडमा आश्रमका व्यवस्थापन कार्यालय छन् ।

महाप्रभुले स्थापना गरेको स्वर्गद्वारी आश्रम शिष्य परम्परामा चलेको छ । सन्यास ग्रहण गरी आश्रमको सेवा गरेको ज्येष्ठ व्यक्तिमात्र स्वर्गद्वारी आश्रमको प्रमुख बन्ने परम्परा छ । यसै नियमभित्र रहेर आश्रमको उत्तराधिकारी छान्ने गरिन्छ । आश्रम प्रमुखको नेतृत्वमा गठित आश्रम व्यवस्थापन समितिमा प्युठान, दाङ र रोल्पाका प्रमुख जिल्ला अधिकारी र स्थानीय सरकारका प्रमुखलगायत रहने व्यवस्था छ । यसरी आश्रम सञ्चालनमा भएको सरकारको सहभागिताले यहाँको पारदर्शिता कसैले प्रश्न उठाएको पाइँदैन ।

नेपालको सनातन परम्परालाई वर्तमान सरकारका सरोकारवालाले पालना नगरेको अवस्थामा सरकारले गठन गरेको गुठी प्राधिकरणले यसलाई अनुसरण गर्छ भन्ने देखिँदैन । यस्ता विषय समावेश गरिएको गुठीसम्बन्धी कानुन एकीकरण र संशोधन गर्न बनेको विधेयक पारित भएमा स्वर्गद्वारी आश्रम सञ्चालन गर्न प्राधिकरणका खरिदार-सुब्बा पुग्ने निश्चित छ । उनीहरुले एउटा सन्यासीले जस्तै आश्रम संरक्षण गर्ने कल्पना गर्न सकिँदैन । देशको संस्कृति र शिक्षाको उन्नयनमा स्वर्गद्वारी आश्रमको योगदान अतुलनीय छ । यो सरकारले यस्ता संस्कार र संस्कृतिको उन्नयन गर्ने आश्रम खोल्नुको सट्टा भएका माथि गिद्देदृष्टि राखेको छ ।

आफ्नो तलब बढ्दा मन्दिरको पूजा खर्च, पुजारीको पारिश्रमिक बढ्नुपर्छ भन्ने भावना गुठी संस्थानका पदाधिकारीको नभएको अवस्थामा अझ गुठीलाई प्राधिकरण बनाउँदा यस्ता आफैं चलेका आश्रमको अस्तित्व नरहने सहजै अनुमान गर्न सकिन्छ । त्यसैले गुठी प्राधिकरण यस्ता आश्रम सञ्चालनका लागि बाधक देखिन्छ ।

प्रकाशित समय ०६:५५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु