गृहपृष्ठ रजस्वला, धर्म र ऋषिपञ्चमी

रजस्वला, धर्म र ऋषिपञ्चमी

रजस्वला महिलामा हुने मासिक प्राकृतिक चक्र हो । यसलाई हाम्रो समाजमा महिनावारी हुनु, नछुने हुनु, पर सर्नु भनेर पनि चिनिन्छ । रजस्वला चक्रको सुरुवातसँगै महिला शारीरिक रुपमा परिपक्व भएको मानिन्छ । सम्पूर्ण मानवीय चक्रको सुरुवात नै महिलाको मासिक रजस्वलाबाट प्रारम्भ हुन्छ । रजस्वलाबाट नै महिलामा सन्तान उत्पादन गर्ने क्षमता विकास भएको हो । विश्वमा प्रत्येक दिन करिब ८० करोड १५ देखि ४९ उमेर समूहका महिला रजस्वला हुन्छन् । रजस्वलासम्बन्धी विभिन्न धर्मको आफ्नै मान्यता, विश्वास र कुरीति रहेको पाइन्छ ।

हिन्दू धर्ममा रजस्वलालाई अपवित्रताको रुपमा लिने गरिन्छ । श्रीमभागवत गीता एवं गरुड पुराणलगायतका विभिनन शास्त्रहरूमा लेखिएअनुसार देवराज इन्द्रलाई ब्रह्म हत्याबाट लागेको पाप मुक्त गर्नका लागि चार भाग लगाई एक भाग नारीहरुको मासिक रक्तमा प्रवेश गराएकाले उनीहरु रजस्वला भएको चौथो दिनसम्म अशुद्ध रहन्छन् भन्ने कुरा उल्लेख छ । हिन्दू धर्मप्रति आस्था राख्ने महिलाहरू महिनावारी (रजस्वला) बार्छन् । पूर्वीय मुलुकका करिब ८० प्रतिशत महिला महिनावारीका बखत पितृ वा देव कार्यमा सहभागी नहुने, भान्सामा नछिर्ने, आफूभन्दा ठूला वा पुरुष (हजुरबुवा, बुवा र दाजुभाइ) लाई नछुने, बाहिरै बसेर खाने गर्छन् । रजस्वलाको समयमा वर्जित कार्य गरेमा पाप हुने र त्यो पाप मोचनका लागि प्रत्येक भाद्र शुक्ल पञ्चमीको दिन व्रत बस्नुपर्छ भन्ने मान्यता रहिआएको छ ।

बौद्ध धर्ममा रजस्वलालाई सामान्य प्राकृतिक प्रक्रियाको रुपमा लिएको पाइन्छ । यद्यपि, नेपालमा हिन्दू परम्परा र अभ्यासको प्रभावले गर्दा व्यवहारमा रजस्वला भएका बेला पूजाआजा नगर्ने, बोटविरुवा छुन नहुने प्रचलन छ (डा. दयाराम श्रेष्ठ लुभु) । ताइवान, जापन र चीनमा समेत रजस्वलासम्बन्धी विभिन्न कुरीति रहेको पाइन्छ । क्रिश्चियन सम्प्रादायमा रजस्वलासम्बन्धी खास नियम त पालना गर्दैनन् । तर, प्राचीन समयमा रजस्वला भएकी महिला खतरनाक हुने भनी चर्चका क्रियाकलापमा प्रतिबन्ध लगाइन्थ्यो । सन् १८७८ मा ब्रिटिस मेडिकल जर्नलले रजस्वला भएकी महिला सुंगुरको मासु गन्हाउने कारण हुनसक्ने दाबा गरेको थियो । (सन् १९७५, ह्विलान)

मुस्लिम धर्ममा रजस्वलाको समयमा उपवास बस्नु हुँदैन र रमजानको उपबास बाँकी अन्य दिनहरूमा पूरा गर्नुपर्छ । रजस्वला भएका महिलालाई मस्जिदको प्रार्थना गर्ने ठाउँमा प्रवेश गर्ने अनुमति छ तर प्रार्थनाबाट बहिष्कार गरिन्छ र मुस्लिम सभा र चाडपर्वहरूमा उपस्थित हुन प्रोत्साहित गरिन्छ । यहुदी धर्ममा रजस्वलाको समयमा आइमाईलाई ‘निदा’ भनिन्छ र केही कार्यहरुबाट प्रतिबन्ध लगाउने गरिन्छ । यो समयमा एक विवाहित जोडी यौन संभोग र शारीरिक घनिष्ठताबाट अलग रहनुपर्छ । अर्थोडक्स यहुदी धर्मले महिला र पुरुषलाई यो अवधिमा एक अर्कोमा चिज छुने वा पास गर्नबाट पनि निषेध गर्छ ।

धर्मलाई दैवी शक्ति, परम्परा वा अदृश्य शक्तिमा विश्वास गरी त्यस्ता शक्तिसँग सम्बन्धित नैतिक आचरण, व्यवहार, मूल्य मान्यता जोडिएका हुन्छन् ।

प्रायः सबै धर्ममा रजस्वलासम्बन्धी केही न केही कुरीति र मान्यता रहेको पाइन्छ । धर्मलाई दैवी शक्ति, परम्परा वा अदृश्य शक्तिमा विश्वास गरी त्यस्ता शक्तिसँग सम्बन्धित नैतिक आचरण, व्यवहार, मूल्य मान्यता जोडिएका हुन्छन् । त्यसैले प्रत्येक धर्म त्यस धार्मिक समुदायको एक शक्ति हो । यसलाई सजिलै परिवर्तन गर्न सकिन्न । प्रसिद्ध दार्शनिक कार्ल माक्सले धर्मलाई अफिमको रुपमा परिभाषित गरेको कुराले पनि यसलाई पुष्टि गर्छ । नेपालमा करिब ८१.३ प्रतिशत हिन्दू धर्मालम्बी छन । त्यसमध्ये करिब ३७ प्रतिशत खस आर्यहरु छन् ।

तुलनात्मक रुपमा महिनावारी प्रथालाई खस आर्य समुदायमा परम्परागत संस्कारका दृष्टिले हेरिन्छ । हिन्दू धर्मलाई विश्वकै सनातन धर्म मानिन्छ । यसका लिखित अलिखित मान्यताअनुसार समाजमा रीतिरिवाजहरु प्रचलनमा रहे । धर्मलाई नै समाज सञ्चालनको कडीका रुपमा विकसित हुँदै आएको हाम्रो समाज परिवर्तन जटिल बन्दै गएको छ । शिक्षाले मात्रै मानिसलाई परिवर्तको साहस दिँदैन भन्ने उदाहरणका रुपमा शिक्षिकाहरु नै छाउगोठमा बसेका घटनालाई लिन सकिन्छ । त्यसैगरी समाजमा कानुनी डरभन्दा धार्मिक मान्यताले बढी जरो गाडेको हुन्छ भन्ने उदाहरणमा छाउ गोठ भत्काउँदाका विरोध, कथित दलित र गैरदलितबीच विवाहका अवरोध, दाइजोका नाममा जिउँदै जल्न विवश छोरीहरुलाई हेरे पुग्छ । यसर्थ, धर्म र धार्मिक शिक्षालाई समयानुकूल व्याख्या र विश्लेषण गर्न नसक्दा कानुन कार्यान्वयन कमजोर हुँदै गएको छ । यसले समाजलाई सभ्य, सुरक्षित र सहिष्णुतायुक्त बनाई समाजमा अमनचैन कायम राख्न अवरोध गरेको छ भन्दा अनुपयुक्त नहोला ।

रजस्वलाको सन्दर्भमा, यसलाई पाप र दोषको रुपमा हेरिँदा भारतलगायत हिन्दू धर्मको बाहुल्य भएको मुलुकका महिला महिनावारीका बखत आफ्नै घरभित्र अछूतसरहको व्यवहार झेल्न बाध्य छन् । नयाँ पुस्तामा यसमा केही परिवर्तन आएको छ तैपनि अघिल्लो पुस्ताको डर र धकमा उनीहरू पूर्णत: स्वतन्त्र हुन सकिरहेका छैनन् । त्यसैगरी, महिला आफूलाई रजस्वलाको समयमा धार्मिक कार्यमा अयोग्य मान्ने गर्छन् । उनीहरु कुनै पितृ वा देव कार्यमा सामेल हुनु छ भने रजस्वलालाई अघि वा पछि सार्न औषधिको सहारा लिन्छन् । यस्तो कार्य दोहोरिइरहेमा प्राकृतिक चक्र गडबड भई गम्भीर प्रकारको पाठेघर समस्यामा पुग्छन् । त्यसैगरी रजस्वलालाई पाप र दोषको रुपमा लिने भएकै कारण हामीले छाउपडी कुप्रथाको अन्त्य गर्न सकेका छैनौं । यस कुप्रथालाई फौजदारी अपराध करार गरिएको भए पनि बर्सनि धेरै महिला छाउगोठमा अकालमै ज्यान गुमाउन बाध्य छन् ।

रजस्वलाबिना मानव सृष्टि असम्भव हुन्छ । त्यसैले यसलाई कुनै दोषभन्दा पनि एउटा विशेष क्षमता र सृष्टिको कारकका रुपमा सामान्य हिसाबले लिनुपर्छ । यसलाई छुवाछुतका रुपमा नहेरी सरसफाइ गर्नुपर्ने, पौष्टिक आहार खानुपर्ने र विशेष आराम लिनपर्ने समयको रुपमा लिनुपर्छ । अन्धविश्वास र अशिक्षाले गुज्रिएको हाम्रो समाजमा परिवर्तन सहज नभता पनि असम्भव भने छैन । परिवर्तनको सुरुवात आफैँबाट गरौं । हामीलाई समाजले के भन्ला भन्ने भन्दा पनि हामीले समाजलाई के भन्ने र के सिकाउने भनेर सोच्ने बेला आएको छ ।

हामीले पढेका कुरा कुनै परीक्षामा लेख्नका लागि मात्रै प्रयोग नहुन् ताकि हामीले त्यसलाई व्यवहारमा उतार्ने साहस पनि गर्नुपर्छ । राज्यको शासन सनातनदेखिको पितृसत्ता समाजको जडमा गाँजिएको हुँदा धर्मको व्याख्या पनि सोही सत्तालाई जोगाउने हिसाबले भएको हुनसक्छ । धर्मशास्त्रले पनि महिला र महिलाको यस प्राकृतिक शक्तिलाई महत्व दिई ऋषिपञ्चमी व्रतको सुरुवात गरेको हुनसक्छ । तर, कालान्तरमा यसको अपव्याख्या हुँदा पाप वा दोषको रुपमा विकसित भएको होला । त्यसैले धर्म र धार्मिक मान्यतालाई समयानुकूल परिवर्तन गरी जीवन्त बनाउनुपर्छ । हामीले धार्मिक मान्यतालाई पुनः परिभाषित गरी त्यसको अनुशरण गर्न आवश्यक छ । आजको ऋषिपञ्चमी व्रत पनि रजस्वलाको समयको पाप मोचनका लागि होइन, सृष्टि क्षमताको वखानका रुपमा रुपान्तरण गरेर मनाउनु श्रेयस्कर हुन्छ ।

प्रकाशित समय १२:५० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु