गृहपृष्ठ शासकहरुको अचम्मको नाटक देख्छु : खड्गबहादुर विश्वकर्मा

शासकहरुको अचम्मको नाटक देख्छु : खड्गबहादुर विश्वकर्मा

khagda-newskarobar

 

अहिले प्रचण्ड र ओलीजीको सरकार छ । उहाँको सरकारमा जनताले राजनीति गर्न नपाइने भयो अरे । हामीले राजनीति गरेका कारण मलार्इ गिरफ्तारी गरियो, हिजो राति साढे ७ देखि ८ बजे । रातभर नजरबन्दमा राखियो । रातभर मानसिक यातना दिइयो । प्रतिक्रान्तिको उदाहरण योभन्दा अन्त खोज्नु पर्दैन ।

हाम्रो कुरा प्रस्ट छ, सबैलाई थाह छ । अहिलेको प्रक्रिया, अहिलेको संविधान, अहिलेको जुन राजनीतिक अभ्यास भइरहेको छ, यो नेपाल राष्ट्र र नेपाली जनताको हितमा छैन भन्ने हाम्रो मान्यता हो । त्यसका आधारमा हामीले राजनीतिक असहमति राखिरहेका छौं, आइडोलोजिकल्ली असहमति राखिरहेका छौं । हामी संघर्षमा छौं । आमजनतालाई अपिल पनि गरिरहेका छौं ।

अहिले नेपालमा राष्ट्र र जनताको प्रतिनिधित्व गर्ने एजेन्डा यो पार्टी (विप्लव नेतृत्वको नेकपा) सँग मात्रै छ भन्ने आमजनताको धारणा छ । जनता त्यसमा ‘कम्भिन्स्ड’ छन् । यो कुरा उहाँहरुले बुझ्नुभएको छ । तर, विडम्बना के भने यो देशमा नेपाली जनताको आफ्नै राजनीतिक अधिकारका निम्ति र त्यो प्रणालीको निम्ति हामीले १० वर्ष जनयुद्ध लड्याैं । नेपाली जनता सात सालदेखि संघर्ष गर्दै आइरहेको छ । २०६२/६३ मा त्यत्रो आन्दोलन गरियो । अहिले उहाँहरुको सरकार छ, हामीलाई हत्कडी लगाउनुभएको छ ।

चार्ज त कम्युनिस्ट पार्टी भयो, कम्युनिस्ट पार्टी बनाए, आन्दोलन, संघर्ष गरिरहेको छ, कम्युनिस्ट विचारमा हिँड्न थाले, राष्ट्रिय स्वाधीनताको मुद्दामा संघर्ष गर्न थाले । नेपाली जनताको राजनीतिक अधिकारको पक्षमा संघर्ष गर्न थाले । भ्रष्टाचारका विरुद्ध संघर्ष गर्न थाले, दलालीका विरुद्ध संघर्ष गर्न थाले, गुण्डागर्दीका विरुद्ध संघर्ष गर्न थाले, तस्करीका विरुद्ध संघर्ष गर्न थाले । र, त्यो सबै हामीले राज्यमार्फत जे गरिरहनुभएको छ, त्यसविरुद्ध जान थाले भनेर उहाँहरुले हत्कडी लगाउनुभएको हो । यसमा नेपाली जनताले फैसला गर्ला ।

उहाँहरुले मंगलबार राति साढे ७ बजेदेखि ८ बजेको बीचमा टौदहबाट पक्राउ गर्नुभयो । म त आइरहेको थिएँ । म कार्यक्रमका लागि हेटौंडा गएको थिएँ । हेटौंडाको कार्यक्रम सिध्याएर म यता आउँदै थिएँ । आउने क्रममा म त्यहाँ पुगेपछि उहाँहरुको झण्डै-झण्डै ३५–४० जनाको फौज थियो । उहाँहरुले क्रिमिनललाई गरेझैँ अट्याक गर्नुभयो । समात्नुभयो, २० मिनेट जति त्यहाँ राख्नुभयो । राति झण्डै डेढ देखि पौने २ घण्टा आँखामा पट्टी बाँधेर घुमाउनुभयो । रातभर राख्नुभयो । खाना खाने बेलासम्म पट्टी नखोल्ने रहेछ उहाँहरुको । यति धेरै टर्चर दिनुभयो । तर, मेरो निम्ति त त्यो केही पनि होइन ।

बिहान पट्टी बाँधेर कपन मेरो घरमा लगिएछ । चौकीमा लगियो । पट्टी खोलेपछि मैले थाह पाएँ । शासकहरुको नाटक म अचम्मको देख्छु । घरमा गएपछि उहाँहरुले के भन्नुभयो भने तपाईं भित्र जानुपर्याे, अपरेसन गर्नुपर्यो भन्नुभयो । घर होइन कोठा, भाडामा बसेका छौं हामी । दुर्इजना बच्चा त्यहाँ थिए । अनि मैले भने- तपाईंले यही गर्न ल्याउनुभएको ? अपरेसन गर्ने भए तपाईंहरु जानुस् म जान्न, मलाई नभन्नु होला । हेरेर आउनुभयो ।

त्यसो भएको हुँदा ओली जी र प्रचण्डजीको प्रतिक्रान्तिको योभन्दा सपाट उदाहरण अरु केही हुन सक्दैन । हामी देश र जनताको निम्ति लड्छाैं । आवश्यक पर्याे भने हत्कडीमात्र होइन बलिदानी पनि  दिउँला, हामी अगाडि बढ्छौं, यहाँहरुको साथ चाहियो ।

 

(प्रहरीले पक्राउ गरी बुधबार अदालतमा उपस्थित गराइएका नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका प्रवक्ता तथा पूर्वमन्त्री खड्गबहादुर विश्वकर्माले पत्रकारहरुसँग दिएको प्रतिक्रिया ।)

प्रकाशित समय १६:१७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु