गृहपृष्ठ संघीय सरकारको बजेटले एउटा भवन पनि बन्दैन : बागदल मल्ल

संघीय सरकारको बजेटले एउटा भवन पनि बन्दैन : बागदल मल्ल

जहाँ पानीको सम्भावना छैन त्यहाँ सिंचाइको योजनामा बजेट छुट्याएको हुन्छ

bagdal-newskarobar

बागदल मल्ल हुम्लास्थित ताजाकोट गाउँपालिका अध्यक्ष हुन् । सडक सञ्जालमा नजोडिएको हुम्लाको विकट गाउँपालिका ताजाकोटमा न सडक, न पानी न बत्तीको सुविधा छ । विकट जिल्लाको विकट गाउँपालिका अध्यक्ष मल्ल त्यहाँको विकास र मुलुकले संकल्प गरेको ‘सम्वृद्धि’लाई कसरी अघि बढाउँदै छन् ? निर्वाचित भएपश्चात विकासका लागि उनले अगाडि सारेका योजना, भावी कार्यक्रम र चुनौतिका विषयमा केन्द्रित रही अध्यक्ष मल्लसँग सीता वलीले गरेको कुराकानी :

 

स्थानीय तहको निर्वाचन भएको डेढवर्ष बित्यो । के–के गर्नुभयो ?
हुम्ला कर्णालीप्रदेशको सबैभन्दा विकट जिल्ला हो त्यसमा पनि ताजकोट गाउँपालिका अझै विकट छ । सडक सञ्जाल जोडिएको छैन । शिक्षा, स्वास्थ्य तथा संञ्चारमा पनि पछाडि छ । ठूलो संघर्ष गरेर खानेपानी पुर्याएको छु । विषयगत शिक्षक नभएकोमा प्रत्येक विद्यालयमा विषयगत शिक्षकको भर्ना गरेको छु । मेरो तलब शिक्षा क्षेत्रमा लगानी गर्ने घोषणा गरको छु । सडक सञ्जालले हुम्लालाई नै छोएको छैन तापनि जनतालाई अप्ठ्यारो परेको बेला हेलिकप्टरको माध्यमबाट स्वास्थ्य सेवा छिटो दिने प्रयास गरेको छु । स्वास्थ्य इकाई, क्लिनिक सञ्चालन गरी जनतालाई पायक पर्ने स्थानमा स्वास्थ्य सेवा दिएको छु । विभिन्न जनचेतनामुलक कार्यक्रमहरु सञ्चालन गरको छु ।

 

गाउँपालिकाको विकासका मुख्य अप्ठ्याराहरू के के हुन् ?
सबैभन्दा पहिले त संघीय सरकारले बजेटमा सौतेनी व्यवहार गरेको छ । सुगम र हुम्लाजस्तो विकट जिल्लाका लागि समान बजेट दिएको छ । त्यसैले हाम्रो क्षेत्रमा विकासको काम गर्न सम्भव छैन । गतवर्ष संघीय सरकारले हामीलाई करिब १३ करोड बजेट दिएको थियो । यो वर्ष घटाएर ११ करोड दिएको छ । यो बजेटले एउटा भवन निर्माण गर्न पनि पुग्दैन अनी जनतालाई कसरी सम्वृद्धि दिने ? चट्टान फोरेर पानी निकाल्नु पर्छ । ठूला पहाड फोरेर बाटो निर्माण गर्नुपर्छ । तर संघ र प्रदेशले हामीलाई दिने बजेटले सम्भव छैन ।

गाउँपालिकामा अप्ठ्यारा के छन् भनेर सोध्नुभन्दा सजिला के छन् भन्नु सजिलो छ । सबै अप्ठ्यारा मात्रै छन् । जनचेतनाको कमी छ, गरिबी, पछौटेपन, अशिक्षा, रोग, भोग, शोक, अभाव, सबै छ । यहाँ १७ वटा विद्यालय छन् । मावि, निमावि तथा प्रावि गरेर १७ वटा विद्यालयमा ३४ जना पनी शिक्षक राज्यले दिएको छैन । हामी भौगोलिक विकटताका बीचमा पनि संघर्ष गरिरहेको छौं । तराईको सुगम क्षेत्र बराबर होइन हामीलाई विशेष प्राथमिकतामा राखेर विकासका कार्यक्रम तथा नीति निर्माण नगरेसम्म विकट र दूरदराजको विकास हुन कयौं वर्ष लाग्छ । सुत्केरी हुँदा छटपटाएर, समयमा औषधि नपाएर मर्नुपर्ने अवस्था छ । सुख्खा पहिरोका कारण कतीले ज्यान गुमाउनु परेको छ । मानव अधिकार र महिला अधिकारका कुरा त परका भए यहाँका जनताले आधारभूत आवश्यकता पनि पूरा गर्न पाएका छैनन् । यसमा संघीय तथा प्रदेश सरकारको विशेष ध्यान जानुपर्दछ ।

 

निर्वाचित भएको डेढ वर्षमा के–के गर्नुभयो ?
हामी संक्रमणकालीन अवस्थाबाट गुज्रीरहेका छौं । जिल्लालाई बाटोले छोएको छैन । त्यसमा पनि मेरो गाउँपालिका झनै विकट हो । एकातिर भौगोलिक विकटताका कारण पिडित छौं भने अर्कोतिर संघीय र प्रदेश सरकारले सौतेनी व्यवहार गरेको छ । न्युन बजेट दिन्छ त्यो पनि जहाँ पानीको कुनै सम्भावना नै छैन त्यस्तो ठाँउको लागि सिंचाई योजना भनेको हुन्छ । त्यस्तो अवस्थामा जती काम गरे पनि जनतालाई महशुस हुने कुरै भएन तर मैले शिक्षाका क्षेत्रमा, खानेपानी र स्वास्थ्यका क्षेत्रमा काम गरेको छु । शिक्षालाई विशेष प्राथमिकतामा राखेको छु । राज्यले देशभर २६ वटा आवासीय विद्यालय दिएको थियो मैले विशेष पहल गरेर गाउँपालिकामा एउटा आवासीय विद्यालय स्वीकृत गराएँ । स्वास्थ्य क्षेत्रमा ल्याबको व्यवस्था थिएन, ल्याबको व्यवथा गरेको छु । आपत विपतमा जनतालाई सहयोग गरेको छु । हेलिकप्टरका माध्यमबाट कती महिलाहरुको ज्यान जोगाएको छु । प्राकृतिक प्रकोप जस्ता कुराहरुमा समेत सहयोग गरेको छु । मुख्यमन्त्री महेन्द्रबहादुर शाही र सामाजिक विकासमन्त्री दल रावलसँग भेटेर बाटोको माग गरेको छु । उहाँहरु पनि त्यो कुरामा सकारात्मक हुनुभएको छ । मन्त्री रावल यही गाउँपालिकाको हुनुहुन्छ । उहाँहरुको विकास र सम्वृद्धि दिने कुरामा सकारात्क धाारणा छ ।

 

गाउँपालिकाको सम्बृद्धिका लागि राज्यले के गर्नुपर्छ ?
संघ र प्रदेश सरकार विकट जिल्ला हुम्लाको लागि विशेष निती बनाएर अघि बढ्नु पर्छ । के आवश्यकता छ ?, स्रोत साधनको पर्याप्तता कस्तो छ ?, भौगोलिक विकटता कस्तो छ ? लगायतका कुराहरु हेरेर विशेष योजना बनाउनु पर्छ । जनतालाई आधारभूत आवश्यकताबाट बञ्चित गराइनु हुँदैन । छिटोभन्दा छिटो राज्यको ध्यान दूरदराजका गाउँमा जानुपर्दछ । बजेट प्रत्यक्ष रुपमा हाम्रो हातमा पर्नुपर्छ । विकासको समस्या पहिचान गरी त्यसलाई सदुपयोग गर्ने कुरामा अगाडि बढ्न सकिन्छ ।

 

जनताका गुनासा कस्ता छन् ?
सबैभन्दा बढी गुनासो बजेटकै बारेमा छ । जनताले बजेट कम भयो भन्छन् । हाम्रो छुट्टै आयस्रोत केही छैन । मेरो गाउँपालिकामा ५ वटा वडाहरु छन् । जम्मा जनसंख्या ७५ सय जती छ । जनताहरु विकास माग्न आइपुग्छन् । राज्यले त्यसतर्फ ध्यान दिनुपर्छ । विद्युत्, पानी, सडक, शिक्षा, स्वाथ्य तथा पुलपुलेसाको माग गर्न जनताहरु आउँछन् । कसरी जनताको अपेक्षा पूरा गर्ने ? अप्ठ्यारो परेको छ ।

गाउँपालिकामा सडक र विद्युतको ठूलो आवश्यकता छ । सडक र विद्युत् पुगेको खण्डमा थप विकास गर्न सजिलो हुने थियो । जनतालाई दिएको आश्वासान र जनताले मप्रति गरेको विश्वास मर्न दिने छैन । तलब पनि जनताका लागि खर्चिने योजनामा छु । जहाँ दलित र गरिबका छोराछोरीले शिक्षा आर्जनका लागि छात्रवृद्धि प्राप्त गर्न सजिलो हुनेछ । परिवर्तन विस्तारै हुन्छ त्यसको लागि धैर्यता आवश्यक छ ।

प्रकाशित समय १८:२२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु