गृहपृष्ठ एचआईभी स्वास्थ्य मन्त्रालयको मुख्य प्राथमिकता : राज्यमन्त्री यादव

एचआईभी स्वास्थ्य मन्त्रालयको मुख्य प्राथमिकता : राज्यमन्त्री यादव

dr. surendra kumar-newskarobar

नेपालमा एचआईभी संक्रमण सन् १९८८ मा पहिलोपटक देखापरेको हो । असुरक्षित यौनजन्य क्रियाकलाप तथा रगतबाट एचआईभी चाँडो एक-अर्कामा सर्छ । नेपाली समाज यौनका विषयमा अलि संकुचित रहेकाले एचआईभी संक्रमित धेरै समयसम्म लुकेर बस्थे । उनीहरु उपचारमा जाँदैनथे । समाजमा थाहा भएपछि धेरै जना एचआईभी संक्रमितले दर्दनाक र पशुवत् अवहेलनाको सामना गरेका कैयन उदाहरण छन् । विश्व एड्स दिवसले यौन स्वास्थ्य अनि प्रजजन अधिकार एवं प्रजजन स्वास्थ्यका कुराहरु खुलेर गर्न आह्वान गर्छ । केही वर्षयता रातो रिबन राखिएका ब्यानर, चिह्नहरु अनि प्रवर्धनात्मक सामग्रीसहितका र्याली, भेला, गोष्ठी आयोजना गर्दै एचआईभी एड्सबारे जनचेतना फैलाउने गरिएको छ । यद्यपि, नेपालमा एचअार्इभी संक्रमितको यकिन तथ्यांक थाहा हुन सकेको छैन ।  एचआईभी एड्स, नेपालमा यसको असर र सरकारी कदमका विषयमा स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. सुरेन्द्रकुमार यादवसँग सञ्जय श्रेष्ठले गरेको कुराकानी :

 

नेपालमा अहिले एचआईभी एड्सको अवस्था कस्तो छ ?
नेपालमा एचआईभीको अवस्था पहिलेभन्दा अहिले सुधारात्मक छ । रोग लाग्नेहरुको संख्या प्रत्येक साल थपिन्थ्यो तर अहिले त्यस्तो छैन । पहिले प्रतिवर्ष ११ सयदेखि १३ सयसम्म संक्रमितको संख्या थपिन्थ्यो भने अहिले ८ सयको हाराहारीमा मात्र छन् । बिरामीमा पनि भाइरसको लोड कम भएको छ । अहिले उपचार गराउने बानी परेका कारण यो अवस्थासम्मको सुधार भएको मान्न सकिन्छ ।

 

एचआईभी संक्रमितको संख्याका सम्बन्धमा सरकारी तथ्यांक कस्तो छ ?
अहिलेसम्म हाम्रो देशमा एचआईभी संक्रमित ३२ हजारजति रहेको अनुमान छ । झण्डै ९० प्रतिशत हामीले डाटाअनुसार थाहा पाउनुपर्ने हो । त्यसो हुँदा हामीले २७ हजारको डाटा थाहा पाउनुपर्ने हो । तर, अहिलेसम्म हामीले २१ हजारजतिको डाटामात्र भेट्टाएका छौं । करिब ६ हजार एचआईभी संक्रमित सम्पर्कमा नआएको अनुमान छ ।

 

प्रादेशिक रुपमा हेर्दा कुन प्रदेशमा बढी संक्रमित छन् ?
प्रदेशिक रुपमा हेर्दा सबैभन्दा बढी प्रदेश २ र ३ मा छन् । अहिले १६ हजारले औषधि सेवन गरिरहेका छन् । बाँकी पाँच हजार औषधि खाने वा नखाने भन्ने विषयमा केही खुलेका छैनन् ।

health minister newskarobar (5)

एड्स नियन्त्रणका लागि भन्दै सरकारले एनजीओ, आईएनजीओबाट करोडौं रकम लिएर खर्च गर्छ । तर, नियन्त्रणको त कुरै छाडौं तपाईंहरुलाई संक्रमितको संख्या नै थाह छैन । यस्तोमा एचआईभी नियन्त्रण गर्नुहुन्छ भनेर कसरी पत्याउने ?
हामीले संख्या भनेका छौं । हाम्रो अनुमानित संख्या ३२ हजार हो । तर, हामीले २१ हजार त फिक्स डाटा निकालेका छौं । कस्तो हुन्छ भने जहाँ पनि कुनै कुराको अनुमानित आंकलन गरिन्छ । अहिले हामीले एनजीओ, आईएनजीओलाई प्रोमोसन दिएका छैनौं । पहिले त्यो हुन्थ्यो अब हुन्न । स्वास्थ्य मन्त्रालय माताहतको छुट्टै केन्द्र छ, त्यहीँबाट काम गर्छौं । जुन कुरा हामीले सक्दैनौं त्यस्ता कुरामात्र हामी एनजीओ, आईएनजीओलाई दिने निर्णय गरेका छौं । त्यसमा पनि त्यो एनजीओ, आईएनजीओको सम्पूर्ण विवरण माग्छौं । एनजीओ, आईएनजीओको आर्थिक अवस्था र संस्थागत अवस्था सबैको रेकर्ड लिएरमात्र दिन्छौं । कुनै पनि रोगको रिसर्च अब हामी हाम्रो रिसर्च सेन्टरबाट मात्र गर्छौं ।

 

सरकारले एचआईभी एड्स नियन्त्रणका लागि सरकारी फन्डमात्र प्रयोग गर्छ ?
होइन । हामीले ग्लोबल फन्ड, काबी, युनिसेफ यिनीहरुबाट पैसा नलिकन गर्ने भनेको होइन । मैले भनेको के हो भने तिनीहरुलाई गर्न नदिने भनेको हो । किनकि, हामीसँग सरकारी स्ट्रक्चर छ । सबै काम त्यसबाट गर्ने भनेको हो । जुन कुराका लागि हामीसँग स्ट्रक्चर र म्यानपावर छैन, ती कुरामात्र एनजीओ, आईएनजीओलाई दिने हो ।

 

एनजीओ, आईएनजीओलाई एचआईभी नियन्त्रण जिम्मा दिँदा र सरकार आफैंले गर्दाको फरक के हुन्छ ?
हाम्रो रिर्सज सेन्टर छ । हामीले विभिन्न संघ–संस्थाबाट पैसा लिएर खर्च गर्छौं । त्यसको रियल डाटा आउनुपर्यो । हाम्रो प्रवृत्ति कस्तो छ भने हामी कुनै पनि कुराको उत्पादन गर्छौं तर बाहिरको कुरा सस्तो भएको बाहानामा बाहिरकै प्रयोग गरिरहेका छौं । तपाईं औषधीकै कुरा गर्नुहुन्छ भने पनि त्यही छ अवस्था । तर, अब देशको विकास गर्ने हो भने हामीले हाम्रो उत्पादनलाई प्रमुखताका साथ अगाडि बढाउन आवश्यक छ । हाम्रो छुटै रिसर्च सेन्टर छ । फेरि किन टेन्डर गरेर अरुलाई रिसर्चको लागि दिने । हाम्रो रिसर्च सेन्टरलाई हामी जति एक्टिभ बनाउँछौं, त्यति नै हामीले स्वास्थ्य क्षेत्रमा नयाँ–नयाँ उपलब्धि गर्न सक्छौं ।

health minister newskarobar (5)

एड्स रोकथाम गर्ने सरकारी कदम प्रभावकारी देखिँदैन, प्रभावकारिता वृद्धिका के–कस्ता योजना छन् ?
यो वर्ष हामीले ‘एचआईभी जचाऔं, आफ्नो अवस्था थाहा पाऔं’ भन्ने नाराका साथ हामीले बिश्व एड्स दिवस मनायौं । यो अभियानअनुसार हामीले ९० प्रतिशत बिरामीको अवस्था पहिचान गर्ने र तिनीहरुको भाइरस लोड चेक गर्ने र भाइरसको लोड कम गर्न औषधी उपचार गराउँछौं । ९०, ९०, ९० पोलीसीअनुसार हामी उपचारमा अगाडि बढ्छौं । अहिले हामीसँग वीर अस्पताल, टेकु, पोखरा, धरान, धादिङमा चेक गर्न सक्ने गरी केन्द्र स्थापना छन् । यसलाई अब सातवटा प्रदेशमै विस्तार गर्ने योजना छ ।

अहिलेको भन्दा त २००१ देखि २०१२ सम्म एचआईभी नियन्त्रणमा सरकारले चालेका कदम प्रभावकारी थिए भन्छन्, अहिले सरकार किन सुस्तायो ?
तपाईंले हाम्रो एसेसमेन्ट गर्न अलि हतार गर्नुभयो जस्तो लाग्यो । किनभने हामीले नेतृत्व लिएको केही समयमात्र भएको छ । हामीले भर्खर पहिलो चौमासिक खर्च गरेका छौं । मैले अगाडि पनि भने कि अब हामी कुनै पनि विकृति हुन दिँदैनौं । आजको जुनखाले विकृति भएको छ । त्यो सबै २००२ देखियता भएको छ । त्यो विकृतिलाई पनि अन्त्य गर्नुपर्नेछ । हामी नयाँ स्वास्थ्य नीति ल्याउँदै छौं । त्यसैले अहिले नै हामीलाई एसेसमेन्ट गर्न मिल्दैन । हामीले पहिलो वर्षको बजेट पनि खर्च गरिसकेका छैनौं ।

 

एड्स रोकथामका लागि सरकारी लक्ष्य के छन् ?
हाम्रो पहिलो लक्ष्य भनेको एचआईभी लागेकाहरुलाई समुचित व्यवस्थापन गर्ने हो । हामीले ३२ हजार अनुमानित गर्दै गर्दा २१ हजारमात्र पहिचान गर्न सकेका छौं । कम्तीमा ९० प्रतिशतको पहिचान गर्दा पनि २७ हजारको गर्नुपर्ने हुन्छ । त्यसका लागि पनि हामी लागिरहेका छौं । एआरटी सेन्टर अहिले पाँच ठाउँमा मात्र छन् । त्यसलाई सुविधा सम्पन्न र थप अन्य ठाउँमा पनि बढाउन आवश्यक छ । संक्रमितहरुमा रहेको भाइरस लोड एकदमै कम गर्नुपर्छ, त्यसका लागि पनि सरकार लागिरहेको छ । हामीले अहिले औषधीको सुलभता र एआरटी सेन्टर वृद्धि गर्छौं । यसपाली हामी १०१ वटा एआरटी सेन्टर थप गर्दै छौं ।

 

नेपालमा वार्षिक ५ करोड कन्डम बिक्री हुने तथ्यांकले देखाएको छ । यसले एचआईभी नियन्त्रणमा कतिको भूमिका निर्वाह गरेको छ ?
पक्कै पनि यो सेक्सुअल ट्रन्समिटेट डिजिज हो । यसले एचआईभीमात्र होइन, यौनसम्बन्धी सम्पूर्ण रोगलाई नियन्त्रणका लागि सहयोग गरेको छ । हामीले यो पहिलो चौमासिकसम्म त मन्त्रालयबाट नै व्यवस्थापन गर्यौं । किनकि, हामीसँग स्टोरेट कन्डमहरु थिए । अब सबै अधिकार स्थानीय तहलाई गएको छ । त्यहाँ पनि ती इक्युम्पमेन्टहरुलाई सहज व्यवस्थापनका लागि हामीले जतिसक्दो तयारी गरिरहेका छौं ।

 

एचआईभी संक्रमितहरु खुल्न सक्ने र नियमित औषधिको सेवन गर्ने वातावरण कसरी मिलाउनुहुन्छ ?
एचआईभी संक्रमितका लागि भनेर सरकारले विशेष प्याकेज ल्याएको छ । संक्रमितहरु अहिलेको अवस्थामा खुलेकै छन् । पहिले के हुन्थ्यो भने एचआईभी लाग्नेबित्तिकै मानिसहरु यो सरुवा रोग हो भनेर संक्रमितबाट टाढा रहने गर्थे । अहिले त्यस्तो अवस्था पनि छैन । अहिले एचआईभीको एकदमै इफेक्टिभ औषधी एआरटी आएको छ । यसको प्रयोगले भाइरसको लोड एकदमै कम हुन्छ । यो रोगबाट मानिस समयमै उपचार पाएको अवस्थामा लामो समयसम्म बाँच्न सक्छ तर लुकायो भने छन् खतरा हुन्छ । खुलेर आउँदा यसलाई कन्ट्रोल गर्न सकिन्छ ।

health minister newskarobar (5)

संक्रमितले समाजमा म संक्रमित हुँ भनेर खुलेर हिँड्ने वातावरण सरकारले कसरी निर्माण गर्छ ?
पहिले कस्तोसम्म अवस्था थियो भने एउटा व्यक्ति संक्रमित भएको थाहा हुनेवित्तिकै गाउँबाट निकालिन्थ्यो । अस्पतालमा पनि कस्तो थियो भने संक्रमित आएको अवस्थामा यसलाई छुन हुन्न भन्ने अवस्था स्वास्थ्यकर्मीमा पनि थियो । अहिले धेरै परिवर्तन आएको छ । समाजमा यसलाई तुरुन्तै एसेप्ट गर्न गाह्रो हुन्छ । यो सामाजिक परिवर्तनसँगै चेतना पनि परिर्वतन हुने कुरा रहेछ । हामीले संक्रमितलाई पनि काउन्सेलिङ गर्न आवश्यक छ । संक्रमित व्यक्तिलाई औषधी सेवनलगायतको कुरामा चेतना दिन जरुरी छ । मुख्य कुरा जनचेतना नै हो । शिक्षा र चेतनामा वृद्धि गर्न आवश्यक छ । हामीले शिक्षामा करिकुलमकै रुपमा अगाडि बढाउन आवश्यक छ ।

 

एचआईभी एड्स संक्रमितलाई तपाईंको के सन्देश छ ?
एचआईभी एउटा रोग हो तर यसलाई हामीले समयमा नै औषधी सेवन गर्ने र निरन्तर डाक्टरको निगरानीमा रहेको खण्डमा लामो समयसम्म बाँच्न सक्छौं । सरकारले एचआईभी लागेकाहरुका लागि निःशुल्क औषधीको व्यवस्था गरेको छ । समयमै औषधी सेवन गर्न आग्रह गर्छु । सरकारले अहिले पाँचवटा परीक्षण केन्द्रबाट सेवा दिँदै आएको छ । नजिकको स्वास्थ्य केन्द्रमा गएर सेवा लिन आग्रह गर्छु । नियमित स्वास्थ्य केन्द्रमा गएर परीक्षण गर्दा भाइरसको लोड थाहा पाउछौं र आफूलाई लागेको रोग कुन स्तरमा छ भन्ने थाहा हुन्छ । सरकारले एचआईभी संक्रमितलाई मुख्य प्राथमिकतामा राखेको छ । सबैलाई निरन्तर औषधी सेवन र नियमित स्वास्थ्य केन्द्रमा गएर जाँच गराउन आग्रह गर्छु ।

(तस्बिर ः सुनिल प्रधान)

प्रकाशित समय ०७:२५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु