गृहपृष्ठ ७० करोड राजस्व नतिरी भागे ‘क्यासिनो किङ’ बाधवा
७० करोड राजस्व नतिरी भागे ‘क्यासिनो किङ’ बाधवा
यी हुन सरकारको बक्यौता नतिर्ने ११८ जना
सरकारी राजस्व, पेश्कीसहितका अन्य बक्यौता नतिर्ने ११८ जनाको तीनपुस्ते नाम सरकारले सार्वजनिक गरेको छ । सरकारको बक्यौता नतिर्नेहरूमा बन्द भइसकेको हिमाल सिमेन्टदेखि क्यासिनो सञ्चालकहरू, ठेगदारहरूदेखि सेना र प्रहरीका हाकिमलगायत विदेशी कम्पनीसमेत छन् ।
सरकारको सर्वाधिक बक्यौता नतिर्नेहरूमा नेपालको प्रमुख क्यासिनो चलाउने राकेश बाधवा र आरडी टट्टल छन् । यी दुई जनाले मात्र सरकारलाई ७० करोड २ लाख रुपैयाँ राजस्व बक्यौता तिर्न बाँकी छ । आरडी टट्टलले चलाउँदै आएको नेपाल रिक्रियसन सेन्टर नाममा दर्ता गरिएका क्यासिनोहरू भारतीय नागरिक रोकश बाधवाले कब्जा गरेर सञ्चालन गर्दै आएका थिए । नेपालमा क्यासिनो विवाद चर्किएसँगै बाधवा भागेर अहिले भारतकै गोवामा क्यासिनो चलाएर बसेका छन् ।
बाधवा एक्लैले सरकारलाई ६८ करोड १८ लाख ३८ हजार रुपैयाँ राजस्व बुझाउन बाँकी छ ।
त्यसपछि सर्वाधिक धेरै सरकारी बक्यौता हुनेहरूमा दरबारमार्गस्थित अन्नपूर्ण इन्टरनेसनल र त्यसका महाप्रबन्धक तप्तबहादुर विष्ट छन्, जसले सरकारलाई तिर्न बाँकी १४ करोड ८९ लाख ९५ हजार रुपैयाँ छ । यस्तै, खुम्बु कन्ट्रक्सन (सञ्चालकहरुरू पासाङ ग्याल्जेन्स लामा र कर्मा लामा)ले सरकारको ४ करोड ३० लाख रुपैयाँ सरकारलाई तिर्न बाँकी छ भने सरकारको बक्यौता नतिर्नेहरूको सूचीमा लामा कन्ट्रक्सन, पुष्पाञ्जली निर्माण सेवा, लोकप्रिय निर्माण सेवासहित एक दर्जन ठेकेदारहरू परेका छन् ।
सरकारी बक्यौता बाँकी हुनेहरूमा पञ्चायतका राष्ट्रिय पञ्चायत सदस्य (रापंस) यादवसिंह रायामाझी, कृष्णप्रसाद उप्रेती, प्रकासबहादुर सिंह, जयप्रकास मलाह, विश्वनाथप्रसाद जयसवालदेखि चिकित्सक डा. तारा मानन्धर, डा. वसन्तकुमार श्रेष्ठलगायतका छन् ।
सरकारको बक्यौता नतिर्नेमा अमेरिकाको टेक्साना रिर्सोस कम्पनी र बीबीबी च्याम्पियन्स आयल कम्पनी तथा यूएइएको इमिरेट्स एसोसियट्स बिजनेस ग्रुप (इएबीजी) रहेका छन् । यीमध्ये अमेरिकी कम्पनीहरू नेपालमा पेट्रोलियम उत्खननका लागि अनुमति लिएर केही समय काम पनि गरेका थिए ।
राजस्व बक्यौता हुनेहरूको सूची


प्रकाशित समय १३:०१ बजे

















