गृहपृष्ठ किन सुस्तायो एमाले-माओवादी एकता ?

किन सुस्तायो एमाले-माओवादी एकता ?

काठमाडाैं– नेकपा एमाले र माओवादी केन्द्रबीचको एकता प्रक्रिया सुस्ताइरहेका बेला दुवै दलका पहिलो र दोस्रो तहका नेताहरूले भेटघाट र छलफललार्इ तीव्रता दिएका छन् । पार्टी एकता प्रक्रिया लम्बिँदै जाँदा दुवै दलका नेताहरूबाट अविश्वास बढाउनेखालका अभिव्यक्ति बाहिरिन थालेसँगै नेताहरूले छलफल बढाएका हुन् ।

मंगलबार माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ भने दोस्रो तहका अन्य नेताहरूले पनि छलफल सघन बनाएका छन् ।

 

मंगलबार बिहान च्यासलस्थित तुलसीलाल अमात्य स्मृति प्रतिष्ठानमा भएको भेवार्तामा एमाले नेता नेपालले पार्टी एकता प्रक्रियालार्इ छिटो टुंगोमा पुर्याउन प्रचण्डलार्इ आग्रह गरेका छन् । भेटमा नेता नेपालले अनावश्यक आशंका पालेर बस्नभन्दा सबै कुरा संयोजन समितिमा राख्न सुझाएको बताइएको छ ।

मुख्यतः भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणमा सत्तारूढ एमाले र प्रधानमन्त्री केपी शर्मा लीबाट भएका कतिपय गतिविधिले शंका बढाएको भन्दै मावादीबाट सरकारमा सहभागी मन्त्री र नेताहरूबाट असन्तुष्टि सार्वजनिक हुने क्रम बढेको छ । असन्तुष्टि बढ्दै जाँदा जेठ पहिलो साता गर्ने भनिएको पार्टी एकता घोषणा लगभग टरेको नेताहरूले बताएका छन् ।

एमाले नेताहरूले मावादीसँग केही अविश्वास बढेको भए पनि त्यसले एकता प्रक्रियामा कुनै असर नपार्ने बताइरहेका छन् । दुर्इ ठूला पार्टीबीचको एकता प्रक्रिया अघि बढ्दा स्वाभाविक रूपमा केही अन्योल र शंका देखिन सक्छन्, एक एमाले नेताले भने, तर, त्यसले एकता प्रक्रियामा खासै असर गर्दैन । यद्यपि, जेठ पहिलो साता निर्वाचन योगमा नयाँ पार्टी दर्ता गर्ने अवस्था भने करिब–करिब टरेको उनको भनाइ छ ।

एमालेको गतिविधिसँग मावादी सशंकित हुने र मावादी नेताहरूका अभिव्यक्तिसँग एमाले नेताहरू सशंकित हुँदै जाँदा मकार्यकर्ता र सर्वसाधारणमा अन्योल बढेको छ ।

प्रकाशित समय १५:२५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु