गृहपृष्ठ नेकपाले जिल्ला र स्थानीय तहमा पार्टी एकता एकै चरणमा सक्ने

नेकपाले जिल्ला र स्थानीय तहमा पार्टी एकता एकै चरणमा सक्ने

प्रदेश कमिटी गठन भएको ६ महिनासम्म शपथ भएन

nekapa-building_newskarobar

सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले जिल्ला र स्थानीय तहमा पार्टी एकता एकै चरणमा सक्ने योजना बनाएको छ । केन्द्रले नै जिल्ला कमिटीको अध्यक्ष र सचिवको टुंगो लगाउने भएपनि सँगै स्थानीय तहको एकता प्रक्रिया समेत अघि बढाउने तयारी गरिएको हो ।

पार्टी एकता भएको दश महिना बितिसक्दा पनि तल्लो तहको एकता प्रक्रिया टुंग्याउन नसक्दा कार्यकर्ता असन्तुष्ट भएपछि छिटो एकता प्रक्रिया सक्न नेकपाले यस्तो प्रक्रिया सुरु गर्न लागेको हो ।

केन्द्रले जिल्ला अध्यक्ष र सचिव टुग्याएसँगै सम्बन्धित जिल्ला कार्यदलले सँगै स्थानीय कमिटि टुग्याउने गरी प्रक्रिया अगाडि बढाएको नेताहरुले बताएका छन् । पर्टीका आठ लाख बढी नेताकार्यकर्ता जिम्मेवारीविहीन रहेको अवस्थालाई मध्यनगर गर्दै फाष्ट ट्याकबाट एकता प्रक्रिया सक्ने लक्ष्य लिएको स्थायी कमिटी सदस्य सुवास नेम्बाङले बताए ।

उनले न्युज कारोबारसंग भने, ‘केन्द्रले जिल्ला कमिटिको अध्यक्ष र सचिवको टुंगो लगाउने जिम्मेवारी छ, सँगै स्थानीय तहको एकता पनि सम्बन्धित जिल्ला कार्यदल र प्रदेश कमिटीले टुंग्याउने गरी प्रक्रिया अगाडि बढाएका छौँ । अब ढिलो नगरी एकताले गति लिन्छ ।’

प्रधानमन्त्री केपी शर्मा ओलीले पनि चुनावी गठबन्धन, पार्टी एकता घोषणाजस्ता नेकपाका धेरै गतिविधि तल्लो तहको एकता पनि आकस्मिकरुपमा टुंगिने दावी गरेका छन् । भैरहवा विमानस्थलमा शुक्रबार कुरा गर्दै प्रधानमन्त्री ओलीले भने, स्थानीय तहका एकता पनि आकिस्मकरुपमा नै टुंगिनेछ ।

स्थानीय तहमा एकताको काम सक्न दु्रत गतिमा काम भइरहेको नेता नेम्बाङको दावी छ । नेकपाको एकता ३ जेठमा भएको थियो । त्यसयता नेकपाले केन्द्र र प्रदेश कमिटी मात्र गठन गरेको छ । जिल्ला र स्थानीय तहसम्म एकता टुंग्याउन सकेको छैन ।

अहिलेसम्म तीन दर्जनभन्दा बढी जिल्लाका स्थानीय तहका वडा कमिटीसम्मै एकता प्रक्रिया टुंगिसकेको छ । बाँकी जिल्लाका स्थानीय तहमा पनि चैत मसान्तसम्म एकता टुंग्याउने गरी सम्बन्धित जिल्ला कमिटीले आन्तरिक सर्कुलर जारी गरिएको छ ।

अधिकांश जिल्लामा जिल्ला अध्यक्ष र सचिव चयनमा प्रक्रिया अड्किएकोले ति पदका व्यक्तिहरुको टुंगो लगाउँदासम्म स्थानीय तहको एकता टुंगोमा पुयाइने नेकपाका नेताहरुको दावी छ । अध्यक्ष पुष्पकमल दाहाल दाहाल प्रचण्ड अमेरिकाबाट फर्केलगत्तै सबैजसो जिल्ला अध्यक्ष र सचिवाको विषय टुगिंने बताइएको छ ।

स्थानीय तहमा एकता प्रक्रिया टुंग्याउन सम्बन्धित प्रदेश कमिटीले जिल्ला तहमा कार्यदल गठन गरी प्रक्रिया अगाडि बढाएको छ । जिल्ला कार्यदलले वडा तहसम्मकै एकता टुंगो लगाउने प्रयास जारी राखेको छ ।

नेकपाका नेताहरु भन्छन् ‘एकता प्रक्रिया तल्लो तहसम्म स्पष्ट रुपमा मिलाउनुपर्ने आवश्यकता नमिलेका ठाउँमा मिलाउने प्रयास भइरहेको र तलबाट मिलेर आएकोमा भने सहज एकता जारी छ, बैशाख भित्र सबै तहका एकता सक्ने प्रयासमा छौँ ।’

प्रदेश कमिटी गठनको ६ महिना पुग्दापनि शपथ भएन
प्रदेश कमिटी गठन भएको ६ महिना पुग्दा समेत प्रदेश ३ का पदाधिकारीको सपथ भने भएको छैन । गत आशोजमा प्रदेश कमिटिका संयोजक चयन गरिएको थियो । संयोजक चयनमा विवाद भएपछि कमिटिले पुर्णता भने २ महिनापछि पाएको थियो ।

प्रदेश कमिटि स्थायी समितिबाट अनुमोदन नभईसकेकोले कमिटीका पदाधिकारी तथा सदस्यहरुको शपथ ग्रहण गराउने काम नभएको प्रदेश ३ का सहइन्चार्ज हितबहादुर तामाङले बताए ।

प्रदेश ३ को कमिटिको शपथ नभएपनि बैठक भने बसिरहेको र नियमित काम भने भईरहेको छ । सात प्रदेशमध्ये ६ प्रदेश कमिटीका सदस्यहरूले पार्टी अध्यक्षकै उपस्थितिमा शपथ ग्रहण गरिसकेका छन् । प्रदेश ३ मा मात्र प्रदेश पदाधिकारी तथा सदस्यको शपथ ग्रहण बाँकी छ । तीन नम्बर प्रदेशले चैत १४ गते शपथ ग्रहण कार्यक्रम राखिएको छ ।

प्रकाशित समय १६:२५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु