गृहपृष्ठ लगानी सम्मेलन लक्षित गरी उपत्यकामा सुरक्षा व्यवस्था कडा
लगानी सम्मेलन लक्षित गरी उपत्यकामा सुरक्षा व्यवस्था कडा
उपत्यकाभित्र 'सर्च एन्ड सिज' अभियान
नेत्रविक्रम चन्द (विप्लव)ले नेतृत्व गरेको पार्टीलाइ प्रतिबन्ध लगाएसँगै सरकार झन कडा रूपमा प्रस्तुत भएको छ । गृहमन्त्रालयले एक सूचना गरेर विप्लवका पार्टीलाई सहयोग गर्ने, चन्दा दिनेलाई समेत कारबाही गर्ने चेतावनी दिएको छ । मन्त्रालयले विप्लव समूहको धाकधम्की र प्रलोभनमा नपर्न आग्रह गरेको हो ।
यसैबीच विप्लवले सरकारविरुद्ध आन्दोलनका घोषणा गर्दै लगानी सम्मेलन प्रभावित हुने गरी बन्द आह्वान गरिएपछि उपत्यकाभित्र सुरक्षा सतर्कता बढाइएको छ । उपत्यकाका सम्भावित विप्लव कार्यकर्ता बस्ने क्षेत्रहरू, कपन, कीर्तिपुर, गोंगबु, नयाँ बजार, सातदोबाटोलगायतका क्षेत्रमा व्यापक रूपमा सुरक्षाकर्मी परिचालित गरी ‘सर्च एन्ड सिज’ अभियान चलाइएको सुरक्षा स्रोतले बतायो ।
यसअन्तर्गत शंकास्पद गतिविधि देखाउने जोकोहीलाई पनि सुरक्षाकर्मीले पक्राउ गर्ने अधिकार दिइएको छ । प्रहरीले अहिले देशभर विप्लवका नेता–कार्यकर्ता रहने सम्भावित स्थानमा छापासमेत मार्ने गरेको छ । विप्लवको गतिविधि निस्तेज गर्न प्रहरीले आवश्यकताअनुसार नियन्त्रित अनुसन्धान प्रविधि (कन्ट्रोल डेलीभरी) र गुप्त कार्बाही (अन्डर कभर अपरेसन) पद्धतिबाट अपरेसन चलाइरहेको छ । सुरक्षाकर्मीहरूलाइ घुँडामुनि गोली हान्ने अधिकारसमेत दिइसकिएको छ । उपत्यका बाहिर पनि विप्लवका आधार इलाका मानिएका पहाडी जिल्लाहरूमा सरकारको निर्देशनमा मुलुकका चारवटै सुरक्षा निकायले निगरानी बढाएका छन् ।
अहिलेसम्म करिब ३०० जना विप्लव समूहका उच्चस्तरका नेता तथा कार्यकर्ता पक्राउ परिसकेका छन् । प्रहरीले पक्राउ गरेपछि विप्लव समूहका अधिकांश नेतामात्रै नभएर भात्रृ संगठनका नेतासमेत भूमिगत भइसकेका छन्। प्रहरीले अत्याधुनिक प्रविधिबाट फेसबुकबाट लोकेसन ट्रयाक गर्न थालेपछि विप्लवसँग सम्बद्ध नेताहरूले फेसबुकसमेत डिएक्टिभेट गर्न थालेका छन् । प्रहरीका अनुसार विप्लव समूहका सबैजसो नेताहरूको मोबाइल अफ छ, मोबाइलबाट समेत प्रहरीले स्थान पहिचान गरेर पक्राउ गर्ने क्रम बढेपछि उनीहरूले नयाँ नम्बर प्रयोग गर्न थालेका छन् ।
प्रकाशित समय १२:०८ बजे
















