गृहपृष्ठ लागूऔषधको कारोबार डरलाग्दो ढंगले बढ्दो

लागूऔषधको कारोबार डरलाग्दो ढंगले बढ्दो

एक वर्षमै ४८९६ कारोबारी पक्राउ

Drugs Traffiking_NewsKarobar

विगत केही वर्षदेखि नेपालमा लागूऔषधको कारोबार डरलाग्दो ढंगले बढ्दै गएको पाइएको छ । नेपाललाई ट्रान्जिट बनाएर लागूऔषध कारोबारीहरूले भारतसहित विभिन्न मुलुकमा लागूऔषधको अवैध धन्धा बढाएपछि प्रहरीले पनि सक्रियता बढाएको छ ।
नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोले दिएको जानकारीअनुसार सन् २०१८मा मात्र ४ हजार ८९६ जना लागूऔषध कारोबारीहरू समातिएका छन्, जसमध्ये ४ हजार ६३६ जना पुरुष र १५५ जना महिला छन् । अघिल्लो वर्ष सन् २०१८ मा यसरी पक्राउ पर्ने लागूऔषध कारोबारीहरूको संख्या ३ हजार ८४४ जनामात्र थियो भने सन् २०१६ मा यो संख्या ३ हजार ६९६ जना थियो । सन् २०१८ का जनवरीमा मात्र ५५७ जना लागूऔषध कारोबारी समातिएको ब्यूरोका प्रवक्ता प्रहरी नायव उपरीक्षक चक्रराज जोशीले जानकारी दिए । लागूऔषधसहित पक्राउ पर्नेहरूमा भारतीय, फिलिपिनीसहितका विदेशी नागरिकहरू पनि छन्, जसमा ५ महिलासहित २० जना भारतीय र १ महिलासहित ११ अन्य देशका नागरिक छन् ।
भारतीयहरू मूलतः नेपालबाट भारततर्फ गाँजा र चरेस लाने क्रममा पक्राउ परेका हुन् भने अन्य देशका लागूऔषध कारोबारीहरू चरेस, हिरोइन, कोकिन, अफिमसहितका लागूऔषधसहित पक्राउ परेका हुन् ।
गृह मन्त्रालयको अर्को तथ्यांकअनुसार सन् २०१३ देखि २०१६ सम्म १० हजार १५७ जना लागू औषध कारोबारीहरू पक्राउ परेका थिए ।
सन् २०११ देखि २०१६ सम्म ४० हजार २१६ किलो गाँजा, ७ हजार ४२.५ किलो चरेश, ३३.५ किलो हिरोइन, १५.५ किलो कोकिन र ५३.५ किलो अफिम बरामद भएकोमा सन् २०१६ देखि २०१८ मा १२ हजार २२८ किलो गाँजा, ४ हजार ९१९ किलो चरेश, १९ किलो हिरोइन, १९ किलो कोकिन र १४० किलो अफिम बरामद गरेको छ । सन् २०१८ मा मात्र प्रहरीले ४ हजार १८१ किलो गाँजा, १ हजार ५४६ किलो चरेश, ८ किलो हिरोइन, २ किलो कोकिन र ६ किलो अफिम बरामद गरेको छ । यसले नेपालमा गाँजा र चरेशपछि अफिमको कारोबार अत्याधिक बढेको देखाउँछ ।

प्रहरीका अनुसार गाँजा, चरेश नेपालमै उत्पादन गरेर यहाँबाट तस्करी गर्ने क्रममा बरामद भए पनि अफिम, कोकिन, हिरोइनहरू अन्य देशबाट नेपाल भित्र्याइ यहाँबाट अवैध ढंगले तस्करी गर्ने क्रममा बरामद भएको हो । प्रहरीका अनुसार २ नम्बर प्रदेशबाट सबैभन्दा धेरै लागूऔषध गाँजा २ हजार ८३ केजी बरामद भएको छ भने ३ नम्बर प्रदेशबाट सबैभन्दा धेरै ४ सय ६ केजी चरेश बरामद भएको छ ।
यी लागूऔषधबाहेक अवैध मनोद्विपक औषधिको कारोबार अझ डरलाग्दो ढंगले बढेको प्रवक्ता जोशी बताउँछन् । ब्यूरोको तथ्यांकअनुसार आर्थिक वर्ष २०७४/०७५ मा साइकोट्रोपिक्स लागूऔषधतर्फ १ लाख ९४ हजार ६ सय ४२ ट्याब्लेट, १ लाख ९७ हजार २६ एम्पुल, ४ हजार २ सय ३० कोरेक्स, १ सय १२ सिरिन्ज, १ फेन्सिडिल, ३ सय ८३ ग्राम पोल्याण्ड, ५० कोडिन, मनोद्विपक लागूऔषध ८ केजी, २० मेथाएफेटामाईन, ३ केजी ७ सय ८१ ग्राम लागूऔषध खात र ४० ग्राम यावा  बरामद भएको छ ।
‘नेपालभित्रै प्रतिबन्धित मनोद्विपक प्रयोग गर्ने लागूऔषध दुब्र्यसनीहरूको संख्या चिन्ताजनक ढंगले बढेको छ, यसलाई नियन्त्रण गर्न प्रहरीले आफ्नो निगरानी त बढाएको छ, तर यतिले मात्र दुव्र्यसनीहरूको संख्या नियन्त्रण गर्न सकिँदैन’, लागूऔषध नियन्त्रण ब्यूरोका प्रवक्ता, प्रहरी नायव उपरीक्षक जोशी भन्छन्, ‘यसका लागि समुदायस्तरबाटै सचेतना बढाउनु पर्छ ।”
भारतसँग सीमा जोडिएका क्षेत्रहरूबाट यस्ता मनोद्विपक औषधिहरूको तस्करी बढेको प्रहरीको अनुसन्धानले देखाएको छ ।

प्रकाशित समय १६:०४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु