गृहपृष्ठ लगानी सम्मेलन : प्रदेश नं. ५ का १० परियोजना प्राथमिकतामा

लगानी सम्मेलन : प्रदेश नं. ५ का १० परियोजना प्राथमिकतामा

सरकारले चैत १५ र १६ गते काठमाडौंमा अन्तर्राष्ट्रिय लगानी सम्मेलनको आयोजना गरेको छ । सम्मेलनका लागि छानिएका कुल ५३ वटा योजनामध्ये १० योजना प्रदेश नं. ५ मा परेका छन् । यो प्रदेशको अस्थायी मुकाम रुपन्देहीमा मात्रै पाँच वटा योजना सरकारको प्रथमिकताको सूचीमा रहेका छन् ।

निजी क्षेत्रले लगानी प्रस्ताव गर्ने १८ मध्ये ११ वटा आयोजना ऊर्जासँग सम्बन्धित छन् । चार वटा पर्यटन पूर्वाधार र तीन वटा उद्योगका परियोजनामा निजी क्षेत्रले लगानी प्रस्ताव गर्ने गरी योजना बनाइएको छ ।

नीजी क्षेत्रका १८ परियोजनामध्ये प्रदेश नं. ५ को प्यूठान जिल्लामा रहेको प्रसिद्ध स्वागद्वारी मन्दिरमा केवलकार निर्माण गर्ने पनि एक हो । यो परियोजना १८ मध्ये १० औं नम्बरमा परेको छ ।
लगानी बोर्डको वेभसाईटमा उल्लेख भएअनुसार अन्य परियोजना त्रिशुली–गल्छी जलविद्युत परियोजना, मध्य कालिगण्डकी जलविद्युत परियोजना, ईन्गवा खोला जलविद्युत परियोजना, माथिल्लो चमेलिया जलविद्युत परियोजना, म्याग्दी खोला जलविद्युत परियोजना, गरुड सिमेन्ट, आइएमई सिमेन्ट, जालपादेवी केवल कार तथा पर्यटन परियोजना, अन्नपुर्ण सिक्लेस केवल कार तथा पर्यटन परियोजना, रिसोर्स हिमालय बुटिक रिसोर्ट, तल्लो बरुणखोला जलविद्युत परियोजना, कालिगण्डकी गोर्ज जलविद्युत परियोजना, माथिल्लो बलेफी जलविद्युत परियोजना, माथिल्लो बलेफी ए जलविद्युत परियोजना, नाम्लान खोला जलविद्युत परियोजना, तारप खोला जलविद्युत परियोजना र विशाल सिमेन्ट परियोजना छन् ।

सरकारले प्रस्ताव गर्ने ५३ परियोजनामध्ये यातायात पूर्वाधारका ११ र पर्यटन पूर्वाधारका १० वटा छन् । ऊर्जा र कृषि क्षेत्रमा ८/८ वटा र शहरी पूर्वाधारसँग सम्बन्धित ७ वटा परियोजनामा सरकारले लगानी प्रस्ताव गर्नेछ ।

औद्योगिक पूर्वाधार, शिक्षा तथा स्वास्थ्य र हवाई पूर्वाधारसँग सम्बन्धित ३/३ वटा परियोजना प्रस्ताव गर्ने लगानी बोर्डले आफ्नो वेभसाईटमा उल्लेख गरेको छ ।

सरकारको योजनाहरुमा प्रदेश नम्बर ५ को रुपन्देहीको बुटवलमा फोहरमैला व्यवस्थापन परियोजना– बुटवल क्षेत्र पनि परेको छ ।

यस्तै कपिलवस्तु जिल्लाको रामग्राम तिलौराकोट बस रापिड ट्रान्जिट परियोजना छनौटमा परको छ । यस्तै रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका क्षेत्रमा रहेको गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा लुम्बिनी इन्टरनेशनल म्याट्रनिटी केन्द्र परियोजना पनि लगानीको लागि प्रस्ताव आह्वान गरिने भएको छ ।

यस्तै बुटवलको मोतीपुर औद्योगिक क्षेत्र परियोजना, बाँकेको नौबस्ता औद्योगिक क्षेत्र परियोजना पनि लागनी सम्मेलनको प्रथामिकतामा परेका छन् । काठमाडौं–पोखरा–लुम्बिनी विद्युतीय रेल परियोजना, एकीकृत कृषि पूर्वाधार परियोजना–तिलोत्तमा, मणिग्रामलाई पनि सरकारको लगानी पूर्वाधारको योजनाभित्र पारिएको छ ।

यस्तै, प्रदेश नम्बर ५ मै द्रुत सर्वसाधारण यातायात (रामग्राम–तिलौराकोट) परियोजना पनि छनौटमा परेको छ भने काठमाडौं–पोखरा–लुम्बिनी रेल परियोजना पनि छनौटमा परेको छ ।

प्रदेश नं. ५ को अर्थतन्त्र र विकासका जानकार प्रा. बैकुण्ठ पाण्डेले लगानी सम्मेलनबाट प्रदेश नं. ५ का १० वटा परियोजना प्रस्तावित गर्नु आफैंमा गौरवको विषय भएको बताए । ‘लगानी सम्मेलनबाट देशमा लगानी भित्र्याउन खोज्नु आफैंमा सकारात्मक कुरा हो,’ प्रा. पौडेलले भने, ‘ जसले मुलुकको अर्थतन्त्रमा विशेष खालको सकारात्मक प्रभाव छाड्न सक्छ ।’

प्रदेश ५ मा १० वटा परियोजनामध्ये केही परियोजना अहिले सुरुवाती चरणमा छन् ।

प्रकाशित समय ११:३६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु