गृहपृष्ठ बसन्त ऋतु सुरु भएसँगै बढे हिमाल आरोही, चार महिनामा साढे ९ कराेड राेयल्टी संकलन
बसन्त ऋतु सुरु भएसँगै बढे हिमाल आरोही, चार महिनामा साढे ९ कराेड राेयल्टी संकलन
सोमबारसम्म २३ आरोहण समूहले पाए अनुमति
वसन्त ऋतु सुरु भएसँगै सर्वोच्च शिखर सगरमाथासहित विभिन्न हिमाल आरोहण गर्न यतिखेर धमाधम आरोही गन्तव्यतर्फ जान थालेका छन् । सगरमाथा, मकालु, अन्नपूर्ण, कञ्चनजङ्घा, ल्होत्से अमादब्लम, पुमरीलगायत हिमाल आरोहणका लागि नेपालसहित विभिन्न मुलुकका ठूलो संख्यामा आरोही हिमालतिर लागेका हुन् । पर्यटन विभागका अनुसार, हिमाल आरोहणका लागि सोमबारसम्म ४८ आरोहण समूहले निवेदन दिएकामा २३ समूहले आरोहण अनुमति प्राप्त गरेका छन् । यीमध्ये आठ सगरमाथा आरोहण समूह छन् । जम्मा १ सय ७७ आरोही सदस्य छन् ।
सन् २०१८ को यही मौसम (वसन्त ऋतु) मा सगरमाथासहितका हिमाल आरोहणका लागि १ सय ७ आरोही समूह गएका थिए । तीमध्ये सगरमाथा आरोहणका लागि ३४ समूह गएका थिए । सन् २०१७ को सोही याममा सगरमाथासहितका हिमाल आरोहणका लागि १ सय ८ आरोही दल गएका थिए । सरकारले आरोहणका लागि ४ सय १५ हिमाल खुला गरेको छ । अझै आरोहणयोग्य एक हजार तीन सय बढी हिमाल रहेको बताइन्छ ।
विभागकै पर्वतारोहण शाखाका रामेश्वर निरौलाका अनुसार सोमबारसम्म हिमाल आरोहणबाट नौ करोड ३४ लाख २६ हजार ८ सय २७ रुपैयाँ रोयल्टी सङ्कलन भएको छ । सन् २०१८ को वसन्त ऋतुमा ४१ करोड २८ लाख ८४ हजार ६ सय ३८ रुपैयाँ रोयल्टी जम्मा भएको थियो । अघिल्लो वर्ष सबैभन्दा धेरै सगरमाथाबाट मात्रै रु ३५ करोड १४ लाख ९८ हजार ३ सय १२ रोयल्टी उठेको थियो ।
आरोहण अनुमति लिनेको अहिलेसम्मको अवस्थालाई हेर्दा यो वर्ष पनि आरोहीको उत्साहजनक सहभागिता हुने अनुमान गरिएको छ । गत वर्षको यही यामको चैत २० गतेसम्म ३४ आरोहण दलले निवेदन दिएकामध्ये १५ समूहले सगरमाथा आरोहण अनुमति लिएका थिए । वैशाखसम्म नै आरोही आउने भएकाले पनि आरोही बढ्नसक्ने बताइएको छ ।
विभागका महानिर्देशक डण्डुराज घिमिरेले अनुकूल मौसमले यो याममा धेरै आरोही धमाधम गन्तव्यतर्फ जान थालेको बताए । अघिल्लो वर्षको तुलनामा आरोहीको संख्या बढ्ने उनले बताए ।
यो यामको आरोहणका लागि बाटो खुलाउन शेर्पा आरोही डोरी टाँग्ने (रोप फिक्सि)का लागि सगरमाथाको चुचुरोतर्फ खटिएको विभागले जनाएको छ । आरोही हिमालतिर लागे पनि वैशाखको तेस्रो सातादेखि मात्र आरोहण सुरु हुने जनाइएको छ ।
सगरमाथासहितका हिमाल आरोहणमा देखिएका विकृतिलाई नियन्त्रण गर्न नियामक निकाय पर्यटन विभागले पर्वतारोहणलाई थप व्यवस्थित गर्ने भएको छ । आरोहणका क्रममा सम्पर्क अधिकृत खटाएका स्थानमा नजाने तथा आरोहणमा संलग्न कम्पनीले फर्जी कागजात पेश गरेर आरोहणको प्रमाणपत्र लिनेजस्ता विकृति बढेको भन्दै विभागले आरोहणलाई मर्यादित बनाउन लागेको हो ।
विभागका निर्देशक मीरा आचार्यका अनुसार विगतमा आरोहणमा भएका विकृतिजन्य गतिविधिलाई नियन्त्रण गरी आरोहणलाई विश्वसनीय र प्रभावकारी बनाउन खटिने सम्पर्क अधिकृतलाई विशेष जिम्मेवारीका साथ पठाइनेछ । आरोहणमा अनुशासन कायम गर्न आरोहणको यो यामदेखि सुरक्षाकर्मीलाई पनि सम्पर्क अधिकृतका रूपमा खटाइने विभागले जनाएको छ । छ हजार पाँच सय मिटरमाथिका हिमाल आरोहणमा सरकारले सम्पर्क अधिकृत खटाउने गरेको छ । आरोहण दलको संख्याअनुसार सम्पर्क अधिकृत खटिन्छन् ।
सगरमाथा आरोहणमा जानेबाट सरकारले प्रतिव्यक्ति विदेशीसँग ११ लाख रुपैयाँ दस्तुर लिन्छ । नेपालीले ७५ रुपैयाँ हजार तिर्नुपर्छ । विदेशीले एक पटक सगरमाथा आरोहण गर्दा कम्तीमा ३० लाख रुपैयाँदेखि एक करोड रुपैयाँसम्म खर्च गर्छन् । मुलुकको पर्यटनको महत्वपूर्ण आधार मानिने पर्वतारोहण राजश्व आम्दानीका हिसाबले पनि सबैभन्दा धेरै हिमालबाटै रोयल्टी उठ्छ । नेपाल पर्वतारोहण संघका पूर्वअध्यक्ष आङछिरिङ शेर्पाकाअनुसार हालसम्म आठ हजारभन्दा बढीले सगरमाथा आरोहण गरिसकेका छन् । व्यक्तिगतरूपमा मात्रै पाँच हजारको हाराहारीले आरोहण गरेका छन् ।
प्रकाशित समय १२:४६ बजे

















