गृहपृष्ठ साउदी अरबको विमानस्थलमा नेपालीलाई कडाई

साउदी अरबको विमानस्थलमा नेपालीलाई कडाई

Saudi Letter_NewsKarobar

साउदी अरबमा कामका लागि जाने र त्यहाँको विमानस्थल हुँदै अन्य देश जाने नेपालीहरूले भन्सारको प्रचलित नियम उल्लंघन गर्न थालेपछि त्यहाँको सरकारले विमानस्थलमा कडाई गरेको छ ।
हालैमात्रै नेपालस्थित साउदी राजदूतावासले नेपालको परराष्ट्र मन्त्रालयलाई पत्र लेखेर साउदी अरबका विमानस्थलहरूमा आगमन र प्रस्थानका क्रममा भन्सार घोषणा प्रणालीको उल्लंघन गरेको थुप्रै घटना भएको जानकारी गराएको छ ।
भन्सार जाँचपाँस प्रक्रियाअन्तर्गत आफूले लगेका वा त्यहाँबाट ल्याएका वस्तुहरूको स्वःघोषणा गर्नुपर्ने हुन्छ भने तोकिएको सीमाभन्दा बढी भएमा भन्सार र अन्य कर तिर्नुपर्ने हुन्छ ।
साउदी भन्सारले साउदी अरब जाँदा र त्यहाँबाट फर्किंदा आगन्तुकहरूले ६० हजार रियाल (१८ लाख रुपैयाँबराबर) वा त्यसभन्दा माथिको वित्तीय साधनहरू, सुन तथा सुनको गहना, हिरा अथवा रत्न पत्थर वा अन्य विदेशी मुद्राको अनिवार्य घोषणा गर्नुपर्ने नियम लागू गरेको छ । साउदी भन्सारले ६० हजार साउदी रियालभन्दा बढीका स्थानीय वा अन्य मुद्रा, सुन वा सुनका गहनासहित ट्राभलर्स चेकसहितका वित्तीय साधन फेला परे प्रतिबन्धित गरिने जनाएको छ ।
साउदी अरब नेपालीहरूको मुख्य श्रम गन्तव्यमध्येको प्रमुख दोस्रो गन्तव्यमा पर्छ भने त्यहाँ नेपालका सहित विश्वभरिका मुश्लिमहरू हज गर्न जाने गर्छन् ।
साउदी अरबमा बढीजसो नेपालका अद्र्ध–शिक्षित श्रमिकहरू रोजगारीका लागि जाने भएकाले उनीहरूले भन्सार प्रक्रियादेखि त्यहाँका अन्य ऐन–कानुनहरूबारे थाह पाउँदैनन् । साउदी अरब मुश्लिम देश हो, त्यहाँ यतिबेला एक महिने रमजान पर्व चलिरहेको छ । रमजानका अवधिभरि दिउँसो खाना त के पानीसमेत पिउनु हुँदैन भन्ने मुश्लिम प्रथा छ । यस्ता कुरा थाह नपाउँदा नेपालीहरूले विभिन्न खालका कानुनी दण्डदेखि जेल सजायसमेत भोग्दै आएका छन् ।

प्रकाशित समय १३:३५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु