गृहपृष्ठ बेइजिङ एक्स्पो २०१९ को नेपाल मण्डपमा एक लाख दर्शक

बेइजिङ एक्स्पो २०१९ को नेपाल मण्डपमा एक लाख दर्शक

china-expo-newskarobar

चीनको राजधानी बेइजिङमा जारी एक्स्पो २०१९ मा प्रदर्शित नेपाली मण्डप दर्शकमाझ लोकप्रिय भएको छ । चीन भ्रमणको क्रममा राष्ट्रपति विद्यादेवी भण्डारीबाट वैशाख १५ गते लोठ सल्लाको बिरुवा रोपेर उद्घाटित नेपाली मण्डप हालसम्म एक लाख दर्शकले अवलोकन गरिसकेको आयोजक इम्प्लिमेन्टिङ एक्स्पर्ट ग्रुपका राष्ट्रिय संयोजक विनायक शाहले जानकारी गराएका छन् ।

‘हरित जीवन : उत्तम जीवन’ मूल विषयवस्तुमा केन्द्रित रहेर आयोजित सो विश्व प्रदर्शनीमा ‘लुम्बिनी शान्ति बगैंचा’ निर्माण गरी बुद्ध जन्मिएको देश नेपालमा प्रकृति र जीवनबीच रहेको अन्योन्याश्रित सम्बन्धलाई उजागर गरिएको आयोजक संस्थाका अध्यक्ष तथा डेपुटी कमिस्नर जनरल (टेक्निकल) अमृत शाक्यले बताए । १५ फिट अग्लो ध्यानमग्न बुद्धको विशाल मूर्ति बीचमा राखेर नेपालको अथाह कृषि, वन वनस्पति सम्पत्तिको शोधखोज एवं आर्थिक तथा व्यापारिक विकासका ठूला योजना भित्र्याउन चिनियाँ तथा अन्तर्राष्ट्रिय प्रविधि र लगानी आकर्षण गर्न प्रयास भएको राष्ट्रिय संयोजक शाह बताउँछन् ।

चिनियाँहरुको नेपाल भ्रमणप्रतिको बढ्दो मोहलाई लक्षित गरी नेपाल भ्रमण वर्ष २०२० को प्रचारप्रसारमा पनि यथेष्ट ध्यान दिइएको छ । असोज २ गते उक्त एक्स्पोमा आयोजना हुने नेपाल दिवसमा उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डल र समकक्षी चिनियाँ टोलीबीच औपचारिक कार्यक्रम आयोजना हुने र सोही अवसरमा नेपाली कला कौशल संस्कृति झल्कने नाचगान, संगीतका कार्यक्रम नेपाली रैथाने परिकार पस्कने खाद्य महोत्सवको आयोजना हुने पनि बताइएको छ ।

china-expo-newskarobar

११० राष्ट्र तथा २४ अन्तर्राष्ट्रिय संस्था सहभागी सो विश्व प्रदर्शनी पाँच सय हेक्टर क्षेत्रफलमाझ फैलिएको छ । आउँदो कात्तिकसम्म चल्ने सो एक्स्पो १६ करोडले प्रत्यक्ष तथा विश्वव्यापी रुपमा एक अर्बभन्दा बढीले विभिन्न सञ्चार तथा प्रविधिका माध्यमबाट अप्रन्यक्ष रुपमा अवलोकन गर्ने बताइएको छ ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, व्यापार तथा निकासी प्रवर्धन केन्द्रको संयोजनमा आधिकारिक आयोजक नियुक्त भएको इम्प्लिमेन्टिङ एक्स्पर्ट ग्रुपबाट सो विश्व प्रदर्शनीमा नेपालको सहभागिता एवं व्यवस्थापन भएको हो ।

प्रकाशित समय १५:०२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु