गृहपृष्ठ सरकारको नीति तथा कार्यक्रममाथि ६ संशोधन दर्ता
सरकारको नीति तथा कार्यक्रममाथि ६ संशोधन दर्ता
फाइल तस्बिर
कांग्रेसका १७, संघीय फोरमका चार र राजपाका दुई सांसदको १६ भन्दा बढी संशोधन
काठमाडौं– सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभाका २३ सांसदले संशोधन प्रस्ताव दर्ता गरेका छन् । ६ वटा संशोधन प्रस्तावमा उनीहरुले समूह र एक्ला–एक्लै संशोधन प्रस्ताव दर्ता गराएका हुन् ।
नेपाली कांग्रेसका सांसद मीनेन्द्र रिजालसहित १७ सांसदले संयुक्त रुपमा संशोधन प्रस्ताव दर्ता गराएका हुन् । आजदेखि संसदमा नीति तथा कार्यक्रममाथि छलफल हुने कार्यसूची छ । प्रमुख प्रतिपक्षी दल कांग्रेसले नीति तथा कार्यक्रमका विभिन्न बुँदामा आफ्नो संशोधन दर्ता गराएको हो । कांग्रेसले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा राष्ट्रपति विद्योदेवी भण्डारीले अनादर गरेको विषयलाई मुख्य विषय बनाएको छ ।
कांग्रेसले राष्ट्रपतिको सम्बोधनको क्रममा विभिन्न ठाउँमा प्रतिनिधिसभाका सभामुख र राष्ट्रियसभाका अध्यक्षलाई सम्बोधन गर्दा अपमानजनक पदावली प्रयोग गरिएको भन्दै विरोध गरेको छ । त्यसलाई संशोधन गरी नेपालको संविधानको व्यवस्था, मर्म र भावना तथा प्रचलित परम्पराअनुरुप सम्मानजनक पदावली प्रयोग गर्नुपर्ने माग कांग्रेसको छ ।
नीति तथा कार्यक्रममाथि संघीय समाजवादी फोरमका सांसद प्रदिप यादवले चार विषयमा संशोधन राखेका छन् । उनले राष्ट्रिय सहमतिको आधारमा संविधान संशोधन गरिनेछ भन्ने कुरा बुँदा ७ मा थप गर्न संशोधन दर्ता गराएका हुन् । यस्तै उनले समानुपातिक समावेशी सिद्धान्तका आधारमा राज्यका हरेक संरचनामा प्रतिनिधित्व गराइने विषय बुँदा ८ मा थप्न संशोधन दर्ता गराएका छन् ।
सांसद यादवले जन्मसिद्ध नागरिकता लिएका सन्तानलाई नागरिकताको हकबाट वञ्चित गराइने छैन भन्ने विषय बुँदा ११ मा थप्न संशोधन दर्ता गराएका छन् । उनले बुँदा १९ मा जनसंख्या र मानव विकास सूचकांकको आधारमा प्रदेशलाई अनुदानको रकम उपलब्ध गराइनेछ भन्ने विषय समेट्न पनि संशोधन प्रस्ताव दर्ता गराएका छन् ।
यस्तै संघीय फोरमका रामसहायप्रसाद यादवले चारवटा बुँदामा संशोधन दर्ता गराएका छन् । फोरमकै सुरेन्द्रकुमार यादवले पनि चारवटा बुँदामा आफ्नो संशोधन दर्ता गराएका छन् । यसैगरी फोरमकै रेनुका गुरुङले महिलाविरुद्धको हरेक प्रकारको हिंसा निर्मुल गर्नका लागि महिलासँग विभेद हुने सबै विभेदकारी कानुनी व्यवस्थाको अन्त्य गरिनेछ भन्ने विषय ८२ नम्बर बुँदामा थप गर्नुपर्ने संशोधन प्रस्ताव दर्ता गराएकी छन् ।
त्यसैगरी राष्ट्रिय जनता पार्टी नेपालको अनिलकुमार झा र लक्ष्मणलाल कर्णले दुई बुँदामा संशोधन दर्ता गराएका छन् । उनीहरुले लोकतन्त्र प्राप्तिपछि र विभेदविरुद्ध समानताको अधिकार प्राप्तिको संघर्षका क्रममा घाइते भई अशक्त भएकाहरुको जीविकोपार्जनको व्यवस्था गरिनेछ भन्ने विषय २ नम्बर बुँदामा थप गर्न संशोधन प्रस्ताव दर्ता गराएका छन् ।
प्रकाशित समय १२:०० बजे
















