गृहपृष्ठ अब प्रदेशको बिदामा सबैलाई सार्वजनिक बिदा

अब प्रदेशको बिदामा सबैलाई सार्वजनिक बिदा

Sarbajinik Bida_NewsKarobar

अबदेखि प्रदेश सरकारहरूले घोषणा गरेका बिदामा केन्द्र सरकारमातहतका सरकारी कार्यालयमा समेत सार्वजनिक बिदा दिइने भएको छ । प्रदेशका बिदाका सन्दर्भमा बारम्बार विवाद उठेपछि नेपाल सरकारका तर्फबाट मन्त्रिपरिषद्ले नै निर्णय गरेर प्रदेश सरकारले घोषणा गरेका बिदाका समयमा केन्द्र सरकारमातहतका कार्यालयमा पनि विदा दिने घोषणा गरिएको हो ।
‘नेपाल सरकारले निर्णय गरी तोकेका सार्वजनिक बिदाका अतिरिक्त प्रदेश सरकारहरूले आआफ्नो प्रदेशमा प्रचलित धर्म, संस्कृति र रितिस्थितिलाई समेत दृष्टिगत गरी दृष्टिगत गरी वर्षको बढीमा ६ दिनसम्मको सार्वजनिक विदामा सम्बन्धित प्रदेशमा रहेका नेपाल सरकारका कार्यालयहरूमा समेत सार्वजनिक बिदा दिइनेछ’– गृह मन्त्रालयद्वारा राजपत्रमा प्रकासित सूचनामा भनिएको छ ।
यदि प्रदेश सरकारहरूले वर्षमा ६ दिनभन्दा बढी सार्वजनिक बिदा घोषणा गरेको हकमा भने गृह मन्त्रालयले थप निर्णय गरेअनुसार लागू हुने र काठमाडौं उपत्यकाका सरकारी कार्यालयहरूका हकमा भने गृहमन्त्रालयका निर्णयअनुसार नै लागू हुने सूचनामा उल्लेख छ । यो निर्णयअनुसार प्रदेश नं ३ सरकारले कुनै सार्वजनिक बिदा दिएको खण्डमा काठमाडौं उपत्यकाका तीन जिल्लाबाहेक अरु जिल्लामा स्वतः सार्वजनिक बिदा हुनेछ भने उपत्यकाभित्र गृहमन्त्रालयका निर्णयअनुसार बिदा दिने वा नदिने व्यवस्था हुनेछ ।
गत वर्ष प्रदेश नं २ ले दिएको सार्वजनिक बिदामा समेत केन्द्र सरकारमातहतका कार्यालय खोलेको भन्दै उक्त प्रदेशका मन्त्रीहरूले नै केन्द्र सरकारमातहतका केही कार्यालयमा तालाबन्दी नै गरेका थिए ।
गृहमन्त्रालयले प्रदेश सरकारहरूलाई वर्षको सुरुवातमा नै प्रदेशमा दिइने बिदा राजपत्रमा प्रकासित गर्न निर्देशनसमेत दिएको छ ।

प्रकाशित समय १२:५५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु