गृहपृष्ठ बाढीले क्षति पु-याउँदा खानेपानी अभाव

बाढीले क्षति पु-याउँदा खानेपानी अभाव

शनिबार आएको असिना पानीका कारण चारवटा खानेपानी आयोजनामा क्षति पुग्दा रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका– १ मा खानेपानीको अभाव भएको छ । भारी वर्षाका कारण आएको बाढीले चारवटा खानेपानीका मुहानमा क्षति पुग्दा वडाका २५८ घरपरिवार र ६ सय विद्यार्थी खानेपानीको समस्यामा परेका छन् ।

बाढीले ५० लाख रुपैयाँमा निर्माण भएको सामाढुंगा खानेपानी आयोजना, ५० लाख रुपैयाँमै निर्माण भएको दिव्यचक्षु माविको भट्टछरे खानेपानी आयोजना, ३० लाखमा निर्माण भएको बल्ले खानेपानी आयोजना र ११ लाखमा निर्माण भएको खर्क खानेपानी आयोजनामा क्षति पु-याएको वडा सदस्य लक्ष्मण ओलीले जानकारी दिए ।

खानेपानीका मुहानमा रहेका ट्यांकी र पाइप बाढीले बगाएको उनले बताए । खानेपानीको मुहानमै बाढी पसेपछि शनिबारदेखि गाउँमा खानेपानीको आपूर्ति बन्द भएको उनको भनाइ थियो । त्रिवेणी–१ का तीन गाउँ र एउटा विद्यालयमा खानेपानीको हाहाकार भएको छ । खानेपानीको आपूर्ति बन्द हुँदा वडा नं १ को बल्लेका ८८, दहभागे–लग्रेका ७०, माथिगाउँका १ सय घरधुरी र दिव्यचक्षु माविका ६ सय विद्यार्थी खानेपानीको अभावमा परेका छन् ।

स्थानीय खानेपानीको जोहो कसरी गर्ने भन्ने चिन्तामा परेका छन् । गाउँमा खानेपानीका ससाना मुहान भए पनि ती पर्याप्त नभएको स्थानीयको भनाइ छ । बल्ले खोलाको बाढीले लग्रेका हरिबहादुर केसी र बल्लेका मेवालाल ओलीको घट्ट पनि बगायो । बाढीका कारण वडाध्यक्ष मोहनकिशोर ओलीको घरसमेत जोखिममा परेको छ । (रासस)

प्रकाशित समय १२:२५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु