गृहपृष्ठ शिथिल बन्दै कांग्रेसको जागरण अभियान, ठूला नेता नै निरुत्साहित

शिथिल बन्दै कांग्रेसको जागरण अभियान, ठूला नेता नै निरुत्साहित

congress-jagaran-abhiyan-newskarobar

सरकारविरुद्ध खबरदारी र पार्टी सुदृढीकरणका लागि भन्दै प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सुरु गरेको एक वर्षे राष्ट्रिय जागरण अभियान शिथिल बन्दै गएको छ । वैशाख २५ गते काठमाडौंबाट तामझामका साथ सभापति शेरबहादुर देउवाले उद्घाटन गरेको पहिलो चरणअन्तर्गतको एक महिने अभियान नसकिँदै नेताहरु निरुत्साहित देखिएका हुन् ।

कांग्रेसले अभियानका लागि नेताहरुलाई ७७ वटै जिल्लामा खटाएको छ । तर, जागरण अभियानका लागि जिल्ला दौडाहामा निस्किएका नेताहरुमा आफ्नै अभियानप्रति भरोसा छैन । पार्टीभित्रकै गुट–उपगुट, भद्रगोल युवा तथा विद्यार्थी संगठन, व्यक्तिगत स्वार्थलगायतका कारण नेताहरूले अभियानबाट अपेक्षित परिणाम हासिल नहुने चिन्ता व्यक्त गरेका छन् ।

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीले सञ्चालन गरेको राष्ट्रिय जागरण अभियान प्रभावकारी हुन नसकेको बताए । सोमबार बिहान ठमेलस्थित आफ्नै निवासमा कांग्रेसका जिल्ला समन्वय समितिका सभापति एवं पदाधिकारीसँगको भेटमा नेता सिंहले भने, ‘कांग्रेसका संगठनलाई नै संविधानअनुरुपको संरचनामा लैजान नसकेका कारण हाल सञ्चालित जागरण अभियान प्रभावकारी हुन सकिरहेको छैन ।’

संविधानअनुसार पार्टीको संरचना नबनाउँदा जिम्मेवारी दिन नसकिएको र नेता-कार्यकर्तामा निराशा छाएको उनको भनाइ छ । आफैंले जारी गरेको संविधान प्रभावकारी रुपमा लागू गराउनुपर्ने अवस्थामा कांग्रेस आफैंभित्र अलमलिएको अवस्थामा रहनुले आम लोकतन्त्रवादीमा समेत निराशा छाएको नेता सिंहले बताए ।

नेता सिंहले पार्टी संस्थागत रुपमा चल्न नसकेकाले लथालिंग अवस्थामा पुगेको भन्दै यस्तो अवस्थामा जागरण अभियानबाट सोचेअनुसार परिणाम ननस्किने उनले स्पष्ट पारे । ‘कांग्रेसलाई विचार र सिद्धान्तभन्दा व्यक्तिगत स्वार्थमा चलाउन खोजिएकाले निराशाजनक अवस्था आएको हो,’ उनी भन्छन्, ‘यसलाई गम्भीरतापूर्वक लिइएन भने अवस्था झन् बिग्रँदै जान सक्छ ।’

मलुक जटिलतातर्फ अघि बढिरहेकाले कांग्रेसको भूमिका समन्वयकारी हुनुपर्नेमा कांग्रेस आफैंभित्र अलमलिनु बिडम्बनापूर्ण भएको भन्दै उनले चिन्ता व्यक्त गरे । ‘पार्टीलाई सुधार्नुपर्छ भनेर कुरा उठाउँदा नेतृत्वको विरोध गरेको आरोप लाग्ने गरेको छ,’ नेता सिंहले दुखेसो गरे, ‘पार्टी कमजोर भयो, कार्यकर्तामा निराशा छायो, पार्टी बलियो र प्रभावकारी बनाउनुप–यो, यही ढर्राले पार्टी चल्न सक्दैन, जनआकर्षण बढाउन सकिँदैन भनेर कुरा उठाउँदा नेतृत्वको विरोध गरेको भनेर आरोप लगाउनेहरू छन् ।’ भेटघाटमा राजधानीमा उपलब्ध जिल्ला सम्पर्क समितिका सभापति, पदाधिकारीलगायतको सहभागिता थियो ।

जागरण अभियानप्रति युवा नेताहरूलाई पनि भर छैन । अभियान सुरु भएको केही दिन बित्दै गर्दा जेठ ९ गते नेपाल तरुण दलका महासचिव भुपेन्द्रजंग शाहीले पनि मातृ पार्टी नेपाली कांग्रेसले सञ्चालन गरेको राष्ट्रिय जागरण अभियान सफल नहुने ठोकुवा गरेका थिए । ‘अभियान सकारात्मक छ तर तरुण दल र नेविसंघको खुट्टा बाँधेर सुरु गरिएको अभियान सफल हुँदैन,’ प्रेस युनियन रुपन्देहीले बुटवलमा गरेको पत्रकार भेटघाटमा उनले भनेका थिए ।

सरकारले गरेका गलत काम–कारबाहीलाई जनतामाझ लैजान र पार्टी संगठनलाई थप सुदृढ बनाउन भन्दै सुरू गरिएको अभियानलाई ‘हिमाल, पहाड, तराई–मधेसी नेपाली कांग्रेस राष्ट्रिय जागरण अभियान’ नाम दिइएको छ । अभियान तीन चरण गरेर एक वर्षभरि देशभर चल्ने कांग्रेसले जनाएको प्रवक्ता विश्वप्रकाश शर्माले जनाएका छन् । पहिलो चरणअन्तर्गत ७७ जिल्लामा अभियान सञ्चालन हुनेछ । दोस्रोमा ३३० प्रदेश निर्वाचन क्षेत्र र तेस्रोमा चरणमा ७५३ स्थानीय तहमा अभियान सञ्चालन गर्ने कांग्रेसको योजना छ ।

कांग्रेसले जिल्ला–जिल्लामा समी या वर–पीपलमध्ये कुनै एउटा बिरुवा रोपेर अभियान उद्घाटन गराएको थियो । जागरण अभियानमा बजाउन नेवारी, मैथिली, राई, भोजपुरीलगायतका १२ भाषामा गीत तयार पारिएको छ ।

प्रकाशित समय १२:३४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु