गृहपृष्ठ प्रसूति गराउने चिकित्सक टोली पुरस्कृत
प्रसूति गराउने चिकित्सक टोली पुरस्कृत
उदयपुरको कटारी नगपालिकाको कटारी बजारस्थित कटारी अस्पतालमा सफल रूपमा प्रसूति गराउने टोलीलाई पुरस्कृत प्रदान गरिएको छ । उदयपुरको कटारी नगपालिकाको कटारी बजारस्थित कटारी अस्पतालमा शल्यक्रियासहित प्रसूति सेवा सञ्चालनमा आएको छ । अस्पतालले आफ्नै व्यवस्थापनमा उक्त सेवा सञ्चालन गरेको हो ।
सोमबार साँझ कटारी नगरपालिका–५ बरमझियाकी २४ वर्षीया फुलकुमारी दनुवारको शल्यक्रिया गरी प्रसूति गराइएको अस्पतालका प्रमुख डा. पवनकुमार साहले बताए । सुत्केरी व्यथा लागेर दुई दिनदेखि कटारी अस्पतालमा भर्ना भएकी दनुवारको डा. साह, नर्स छवित्रा राई र कमल उप्रेतीको टोलीले शल्यक्रिया गरेको हो । यसअघि २५ शय्याको कटारी अस्पतालमा प्रसूति सेवा नहुँदा यहाँका सुत्केरी जिल्ला अस्पताल गाईघाट, सिरहाको लहान र विराटनगर जाने गरेका थिए ।
कटारी नगरपालिकाका नगरप्रमुख ज्ञानेन्द्रकुमार श्रेष्ठले लामो समयको प्रयासपछि शल्यक्रियासहित प्रसूति सेवा उपलब्ध गराउन सफल भएको बताए । ‘अब कटारी क्षेत्र, ओखलढुंगाको पूर्वी दक्षिणी क्षेत्र र सिन्धुलीको पूर्वी क्षेत्रका सुत्केरीलाई सहज भएको छ,’ उनले भने । दुई वर्षअघि कटारी अस्पतालले शल्यक्रियासहितको प्रसूति सेवा सञ्चालन गर्न ल्याब, प्रसूति कक्षसहित विभिन्न उपकरणको व्यवस्था गरेको थियो । चिकित्सक र तालिम प्राप्त नर्सको अभावमा सेवा उपलब्ध गराउन सकिएको थिएन । नगरप्रमुख श्रेष्ठले सफल रूपमा प्रसूति गराउने टोलीलाई ५० हजार रुपैयाँ पुरस्कारसमेत प्रदान गरेका छन् । जिल्ला अस्पताल गाईघाटले भने २०६७ देखि नै प्रसूति सेवा सुरु गरेको हो । (रासस)
प्रकाशित समय १०:४४ बजे
















