गृहपृष्ठ दलगत स्वार्थ हावी हुँदा विकास प्रभावित

दलगत स्वार्थ हावी हुँदा विकास प्रभावित

दाङ– घोराही उपमहानगरपालिका १० र ११ नारायणपुरमा निर्माण हुने भनिएको अन्तर्राष्ट्रिय विमानस्थलको काम सात वर्षदेखि अलपत्र छ । विमानस्थलको सम्भाव्यता अध्ययन गरी सर्वेको कामसमेत पूरा भए पनि राजनीतिक दलको स्वार्थका कारण निर्माण कार्यले गति लिन नसकेको हो । तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री लोकेन्द्र विष्टले २०६८ माघ १० गते नारायणपुरमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि पहिलो पटक सम्भाव्यता अध्ययन गराएका थिए ।

पूर्वमन्त्री विष्टसहित नागरिक उड्ययन प्राधिकरणका नारायणप्रसाद गिरीले घोराही–तुलसीपुर सडक खण्डको पूर्वमा गुर्जे खोलादेखि पश्चिम हापुर खोला, उत्तरमा मावि निघुवारदेखि दक्षिण हाइवेसम्मको स्थलगत अनुगमन गरेका थिए । टोलीले ६ किलोमिटर लम्बाइ र साढे ३ किलोमिटर चौडाइ रहेको उक्त जमिन विमानस्थल निर्माणका दृष्टिले उपयुक्त रहेको प्रतिवेदन सरकारलाई बुझाएको थियो । २०६८ माघ २२ गते आन्तरिक विमानस्थल निर्माण विभागका निर्देशक सन्तोषकुमार पौड्याल र उपनिर्देशक धवेन्द्र पाण्डेले विमानस्थलको पूर्व–पश्चिम उत्तर, दक्षिणमा वन जंगलको अवस्था कस्तो छ ? कुन–कुन क्षेत्रमा पहाड छ छैन र चराचुरुंगीको अवस्था, र सुरक्षा अवस्थाबारे पुनः अध्ययन गरी पर्यटन मन्त्रालयमा प्रतिवेदन बुझाएका थिए ।

त्यसैवर्ष चैत १० गते बीपीआर कन्सल्टेन्सी काठमाडौंले नारायणपुरमा आएर दोस्रोपटक गुर्जेखोलादेखि पश्चिम हापुरखोला, उत्तर मावि निघुवारदेखि दक्षिण घोराही तुलसीपुर सडकखण्डको सर्वेक्षण ग¥यो । विमानस्थल निर्माणका लागि गठन भएको क्षेत्रीय विमानस्थल निर्माण समितिले विमानस्थलका लागि नारायणपुरमा ५ सय १६ बिघा, हापुरमा ४५ बिघा, गुठी र सरकारी गरी १२ सय १३ बिघा जमिनको व्यवस्था मिलाएको थियो ।

यतिखेर विमानस्थल निर्माण अलपत्र छ । लेभिगेसन, कम्युुनिकेसन र सर्भिलेन्स नभएको भन्दै मन्त्रालयले फाइल बन्द गरिदिएको स्रोत भनाइ छ । तर, स्थानीय बासिन्दा भने त्यसमा सहमत छैनन् । उनीहरू राजनीतिक पहँुच नपुगेका कारण विमानस्थल निर्माण अलपत्र परेको बताउँछन् । विमानस्थल निर्माणका लागि जग्गा फाइनल गरी नापी ल्याएर जग्गा सर्वे गर्ने कामसमेत समितिको तर्फबाट पूरा गरेको निर्माण समितिका संयोजक भक्तिराम शर्माले बताउँछन् ।

पूर्वमन्त्री लोकेन्द्र शर्मा पनि पछिल्ला सरकारले दाङमा विमानस्थल निर्माण गर्ने कार्यलाई बेवास्ता गरेको बताउँछन् । ‘सरकारले बजेट र केही प्राविधिक काम पूरा गरेर विमानस्थल तत्काल बनाउन थाल्नुपर्छ,’ उनले भने । क्षेत्रीय विमानस्थल निर्माण समितिका सदस्य दानबहादुर बुढाथोकी राजनीतिक खिचातानीका कारण विमानस्थल निर्माण प्रक्रिया अगाडि बढ्न नसकेको बताउँछन् ।

नागरिक उड्ययन प्राधिकरण कार्यालय दाङले विमानस्थल निर्माण योजनाको फाइल नै संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले बन्द गरिदिएको बताएको छ । मन्त्रालय दाङमा भन्दा भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा बढी केन्द्रित भएको बताइएको छ ।

प्रकाशित समय १२:०६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु