गृहपृष्ठ मकवानपुरका कृषकलाई युरिया मल अभाव
मकवानपुरका कृषकलाई युरिया मल अभाव
मकवानपुरमा मकैखेती र चैते धानका लागि युरिया मलको अभाव भएको छ । मल अभावका कारण कृषि उत्पादनमा ह्रास आउने डरले कृषक चिन्तित छन् । मल बिक्री गर्ने सहकारी संस्था र बीउबिजन केन्द्रहरुमा मल खरिद गर्न जाने किसान रित्तै फर्किने गरेका छन् ।
जिल्लामा युरिया मल बिक्री वितरण गर्ने जिम्मेवारी पाएका कृषि सामग्री संस्थान र साल्टट्रेडिङसँग युरिया मलको मौज्दात नरहेका कारण समस्या देखिएको स्थानीय प्रशासनले जनाएको छ ।
कृषि सामग्रीका प्रमुख शर्मिला घिमिरेले मलको समस्या एक हप्तामा समाधान हुने बताइन् । ‘मलका लागि बोलपत्र आह्वान भई आयात प्रक्रिया पनि पूरा भइसकेकाले हेटौँडामा एक हप्तासम्ममा आइपुग्छ,’ उनले भनिन् । मकवानपुरका प्रमुख जिल्ला अधिकारी आसमान तामाङले पनि मल अभावको गुनासो धेरै आएको बताए ।
चालू आर्थिक वर्षमा मकवानपुरमा एक हजार ६ सय टन मल खपत भइसकेको र थप दुई हजार ३ सय टन युरिया मल ल्याउने तयारी भइरहेको कृषि सामग्री संस्थानले जनाएको छ । त्यस्तै, जिल्लामा पोटास र डिएपी मल पनि अभाव छ । (रासस)
प्रकाशित समय १६:४८ बजे

















