गृहपृष्ठ सगरमाथाको शिखरमा ६५९ पुगे, १० को मृत्यु
सगरमाथाको शिखरमा ६५९ पुगे, १० को मृत्यु
यस वर्षको वसन्तकालीन याममा सगरमाथाको शिखरमा ६ सय ५९ जना पुगेका छन् । पर्यटन विभागले बुधबार सार्वजनिक गरेको तथ्यांकअनुसार यस वर्षको सगरमाथा आरोहण गर्नका लागि ४४ दललाई अनुमति दिएकोमा ती आरोहण दलमा ३ सय ८१ जना आरोही र ६ सय ४२ जना सहयोगी (सरदार, गाइड र शेर्पा) थिए ।
यीमध्ये ६ सय ५९ जनाले सगरमाथाको सफल आरोहण गरेको विवरण सम्बन्धित आरोहण दलका नेता र सम्पर्क अधिकृतले विवरण पेश गरेको विभागले जनाएको छ ।
आरोहणका क्रममा वसन्तकालीन मौसममा सगरमाथामा ८ जनाको मृत्यु भएको र १ जना हराइरहेको उल्लेख गर्दै विभागले बढी अरोही भएकै कारण आरोहीहरूको मृत्यु भएको भन्ने कुराको खण्डन गरेको छ । विभागले हिमालमा हराउनु र मृत्यु हुनुको कारण अधिक अनुमतिपत्र र ट्राफिक जाम नभएको दाबी गरेको छ ।
‘सगरमाथा आरोहणका लागि यस वर्ष अनुमतिप्राप्त आरोहीका संख्या सन् २०१८ भन्दा ३५ जना र सन् २०१७ भन्ज्दा १५ जनामात्र बढी छ, त्यसैले अधिक अनुमतिपत्र प्रदान गरेकै कारणले सगरमाथामा आरोही, सरदार र गाइडहरूको मृत्यु भएको भन्ने विषय वास्तविक होइन,’ विभागका महानिर्देशक डुन्डुराज घिमिरेद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
विभागका अनुसार सन् २०१८ मा अनुमतिप्राप्त आरोहीहरूको संख्या ३ सय ४६ र सन् २०१७ मा ३ सय ३६ रहेको थियो । पर्यटन विभागले सम्बन्धित एजेन्सी तथा सम्पर्क अधिकृतहरूलाई उद्धृत गर्दै सगरमाथामा मृत्युको कारण हाइ अल्टिच्युट, प्रतिकूल मौसम तथा मौसमको सीमित अनुकूलता, अचानक मुर्छा पर्ने र शारीरिक कमजोरीबाट भएको प्रष्ट पारेको छ ।
यसैबीच सगरमाथासहित विभिन्न हिमालमा हराउने तथा मृत्यु हुने क्रम बढेपछि पर्वतारोहण क्षेत्रमा नीतिगत, कानुनी, संरचनागत र कार्यविधिगत सुधारका लागि सरकारले संस्कृति, पर्यटन तथा नागरिक उड्डन मन्त्रालयका पर्यटन महाशाखा प्रमुखको संयोजकत्वमा पाँच सदस्यीय अध्ययन तथा सुझाव समिति गठन गरेको छ । प्रधानमन्त्रीस्तरको जेठ २४ गतेको निर्णयबाट गठन गरिएको उक्त समितिलाई पर्वतारोहणसँग सम्बन्धित सबै विषयमा गम्भीरतापूर्वक अध्ययन गर्ने अधिकार दिइएको छ ।
प्रकाशित समय १९:४२ बजे

















