गृहपृष्ठ कोरियामा नेपालीले कमाउँछन् १ खर्ब, वैधानिक तवरबाट भित्रिन्छ जम्मा १६ अर्ब

कोरियामा नेपालीले कमाउँछन् १ खर्ब, वैधानिक तवरबाट भित्रिन्छ जम्मा १६ अर्ब

korea-data-newskarobar

सन् २००७ मा नेपाल र दक्षिण कोरिया सरकारबीच श्रम सम्झौता भएयता ६१ हजार ७३६ नेपाली दक्षिण कोरिया पुगिसकेका छन् । तीमध्ये सन् २०१४ अघि कोरिया पुगेका २८ हजार ४५३ नेपालीको ४ वर्ष १० महिनाको करार अवधि व्यतित भइसकेको छ । वैदेशिक रोजगार विभाग ईपीएस कोरिया शाखाका अनुसार हाल वैधानिक ढंगले ३३ हजार २८३ नेपाली कोरियामा कार्यरत छन् । यो पहिलो कार्यकालको मात्र तथ्यांक हो ।

ईपीएस शाखासँग कोरियामा कति नेपाली कार्यरत छन् भन्ने यकिन तथ्यांक छैन । नेपालबाट श्रम स्वीकृति लिएर कोरिया जानेहरु दुईवटा कार्यकाल गरी ९ वर्ष ८ महिना बस्न मिल्छ । दोस्रो कार्यकालका लागि कम्पनी परिवर्तन नगरेको भए तीन महिना बिदा बसेर फर्किन मिल्छ । तर, कम्पनी परिवर्तन गरेको भए कम्प्युटर बेस्ड टेक्स्ट (सिबिटी) दिएर या पुनः भाषा परीक्षामा भाग लिएरमात्र कोरिया जान सकिन्छ । एकपटक कोरिया गएर पहिलो कार्यकाल बिताएर फर्किएकामध्ये कम्तीमा ५० प्रतिशत श्रमिक पुनः कोरिया जाने गरेको त्यहाँ कार्यरत नेपालीको अनुमान छ । यसरी हेर्दा ४८ हजार नेपाली कोरियामा कार्यरत छन् । यी नेपालीले न्यूनतम तलबका आधारमा मात्र बर्सेनि करिब १ खर्ब आम्दानी गर्छन् ।

कोरियामा कार्यरत नेपालीको मासिक आम्दानी कम्तीमा १ लाख ७० हजार रुपैयाँ (प्रतिघण्टा ८,५०० वन) छ । कोरियामा बस्ने नेपालीले मासिक २५ देखि ३० हजार रुपैयाँले खर्च चलाउँछन् । अर्थात्, एउटा नेपाली कामदारले मासिक एक लाख ४० हजार रुपैयाँ नेपाल पठाउन सक्छ । ईपीएस कोरिया शाखाको तथ्यांकअनुसार ३३ हजार र दोस्रो कार्यकालका लागि गएका करिब १५ हजार गरी ४८ हजार नेपालीले एक महिनामा करिब ६ अर्ब ७२ करोड र वर्षमा झन्डै ८० अर्ब ६४ करोड रुपैयाँ नेपाल पठाउन सक्छन् ।

तर, राष्ट्र बैंकको तथ्यांकअनुसार कोरियाबाट निकै कममात्र रेमिट्यान्स भित्रिने गरेको छ । आर्थिक वर्ष २०७४/७५ मा १६ अर्ब ८७ करोडमात्र रेमिट्यान्स भित्रिएको राष्ट्र बैंकले जनाएको छ । रेमिट्यान्सको करिब ८० प्रतिशत हिस्सा कसरी नेपाली भित्रिन्छ या भित्रिँदैन । यसबारे न राष्ट्र बैंकलाई चासो छ न त नेपाल सरकारलाई नै ।

कहाँ जान्छ अर्बौं रुपैयाँ ?
सरकारी तथ्यांकअनुसार कोरियाबाट २० प्रतिशत रेमिट्यान्समात्र वैधानिक तवरले भित्रिन्छ । बाँकी ८० प्रतिशत रकम कसरी भित्रिन्छ या भित्रिँदैन भन्नेबारे कुनै निकायले खोजी गरेको छैन । कोरियामा नेपालीहरु स्थापित भएर बस्ने चलन खासै छैन । त्यसकारण पनि उनीहरुले कमाएकोमध्ये खर्च गरेर बचाएको सबै पैसा नेपाल पठाउँछन् । तर, अधिकांश नेपालीले केही पैसा बचाउनका लागि अवैधानिक माध्यम प्रयोग गर्छन् ।

कोरियाबाट वैधानिक तवरले नेपाल पैसा पठाउन थुप्रै माध्यम छन् । हानपास, ई नाइन पे, जिमनी, एसबीआई कोस मनी रेमिट्यान्स, जिएमई, प्रभु मनी ट्रान्सफर, स्टार रेमिटलगायतका वैधानिक वित्तीय सेवा प्रदान गर्ने संस्थाबाट नेपाल पैसा पठाउन सकिन्छ । तर, यी सेवाभन्दा हुन्डी सस्तो भएकाले नेपालीहरुले आफूले दुःख गरेको पैसा पठाउन जोखिम मोल्ने गरेका छन् ।

कोरियामा ७ वर्षदेखि कार्यरत निकुञ्ज तिवारी वैधानिक वित्तीय माध्यम महँगो भएकाले नेपालीहरुले हुन्डी गरेर पैसा पठाउने गरेको बताउँछन् । ‘थुप्रै बैधानिक माध्यम छन् तर महँगो भएकाले केही पैसा बचाउन पनि उनीहरु हुन्डी या अरु कुनै माध्यम रोज्ने गर्छन्,’ उनले भने, ‘यसलाई व्यवस्थित गर्ने हो भने कारियाबाट ठूलो रकम वैधानिक तवरले भित्रिन्छ ।’

उनका अनुसार कोरिया पुगेका नेपालीमध्ये दोस्रो कार्यकालका लागि करिब ५० प्रतिशत पुनः फर्किन्छन् । ‘यसरी हेर्दा करिब ४८ हजार नेपाली कोरियामा कार्यरत छन्,’ तिवारी भन्छन्, ‘यसबाहेक ५-७ हजार अवैधानिक तवरले बसेको अनुमान छ ।’ विगतमा खाने बस्ने सुविधा दिइरहेका कम्पनीले अहिले कटौती गरेकाले पहिलाभन्दा अलि बढी खर्च हुने उनले बताए । ‘पहिला सामान्य ५-१० हजारले पुग्थ्यो,’ उनी भन्छन्, ‘अहिले २५-३० हजार खर्च हुन्छ ।’

कोरियामा दुई कार्यकाल बिताएर फर्किएका थिरप्रसाद निरौला नेपाल पैसा पठाउने वैधानिक माध्यमभन्दा हुन्डी सस्तो हुने बताउँछन् । ‘एक लाख पठाउँदा २-३ हजार नै सस्तो पर्छ,’ उनी भन्छन्, ‘सस्तो सेवा पाइन्छ भन्ने थाहा पाउँदा पाउँदै किन महँगो तिर्नु भन्ने हुन्छ ।’ वित्तीय सेवा शुल्क सस्तो हुने हो भने सबैले वैधानिक बाटोबाट पैसा पठाउने उनले बताए ।

कोरिया गएका नेपालीले कमाउने रकम अवैधानिक ढंगले भित्रिरहेकोबारे राष्ट्र बैंक पनि बेखर छैन । तर, वित्तीय सेवा शुल्क महँगो हुँदा नेपालीहरु वैधानिक बाटोबाट रकम पठाउन आकर्षित नभइरहेको राष्ट्र बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौला बताउँछन् । ‘यति ठूलो रकम अवैधानिक रुपमा भित्रिनु राज्यका लागि नोक्सानी नै हो,’ उनी भन्छन्, ‘सरकारले कोरियासँगको सम्झौतालाई कहीँ कतै रिभ्यु गर्न जरुरी छ ।’ वित्तीय सेवा शुल्कको विषयबारे श्रम सम्झौतामै खुलाउन सकिने आधार खोज्न र अवैधानिक माध्यमभन्दा सस्तो सेवा दिने विषयमा सरकारले सोच्ने हो भने कसैले पनि आफूले कमाएको पैसामाथि जोखिम मोल्न नचाहने प्रवक्ता निरौलाले बताए ।

कोरिया यसकारण आकर्षक
कोरिया उच्च शिक्षा हासिल गरेका नेपालीका लागि आकर्षक श्रम गन्तव्य मुलुक बनेको छ । मुलुकमा रोजगारीका अवसर फेला नपरिरहेका बेला एक लाखभन्दा कम खर्चमा सुरक्षित तरिकाले विदेश गएर मासिक पौने २ लाख न्यूनतम आम्दानी गर्नु ठूलो कुरा पनि हो । अरबको तातोमा मासिक ३०-३५ हजारका लागि बहुसंख्यक युवाले ज्यान जोखिममा पारिरहेका बेला कोरियाको रोजगारीले धेरैलाई तानेको छ ।

खोटाङ घर भई हाल भक्तपुर बस्दै आएका निरौला २० वर्षकै उमेरमा भाषा परीक्षा पास गरेर कोरिया पुगेका हुन् । सानै उमेरमा विदेशी मुलुकमा श्रम गर्न गए पनि नेपाल सरकारसँगको बलियो सम्झौताका कारण उनले कुनै समस्या भोग्नु परेन । दुई कार्यकाल गरी ९ वर्ष ८ महिना बसेर भर्खरै नेपाल फर्किएका निरौला अरु देशको तुलनामा कोरिया धेरै हिसाबले सहज भएको बताउँछन् । भन्छन्, ‘अरु त अरु हावापानीसमेत अनुकूल छ, मिल्दैन र मात्र, मिल्ने भए फेरि जाने थिएँ ।’

प्रकाशित समय १६:४८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु