गृहपृष्ठ काभ्रेको सिपाघाटमा टेलिकमको एक्सचेन्ज

काभ्रेको सिपाघाटमा टेलिकमको एक्सचेन्ज

telecome-exchange-newskarobar

नेपाल टेलिकमले काभ्रेको सिपाघाटमा नयाँ टेलिफोन एक्सचेन्जको उद्घाटन गरेको छ । नयाँ स्थापित एक्सचेन्जबाट सञ्चालित टेलिफोनमार्फत सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले शनिबार मण्डन देउपुर–६ का अध्यक्ष डिल्लीप्रसाद आचार्यलाई फोन गरेर एक्सचेन्जको उद्घाटन गरेका छन् ।

कार्यक्रममा मन्त्ती बाँस्कोटाले ‘जहाँ जनता त्यहाँ विकास’ भन्ने नारालाई साकार पार्ने क्रममा सिपाघाटमा सञ्चार सेवा पु–याइएको र यसबाट सस्तोमा भरपर्दो टेलिफोन तथा इन्टरनेट चलाउन पाइने बताए । उनले समृद्ध नेपालको महाअभियानमा नेपाल टेलिकम अत्याधुनिक सूचना र सञ्चार सेवाको पहुँच मुलुकभर पु–याएर महत्वपूर्ण सहयात्री बनिरहेको जनाए ।

कार्यक्रममा नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले देशका कुनाकाप्चाका वासिन्दालाई पनि सेवाको भावनाले सञ्चार प्रविधिका माध्यमबाट जोड्ने र समृद्धिको अभियानमा उनीहरुलाई पनि समेट्ने प्रयास नेपाल टेलिकमले गरिरहेको जानकारी गराए । सहरोन्मुख सिपाघाटमा गरिएको टेलिफोन र इन्टरनेट सेवाको विस्तार समृद्धिमा सूचना प्रविधिको माध्यमबाट सहयोग पु¥याउने प्रयासको नमुना भएको उनको भनाइ छ ।

कार्यक्रममा एक्सचेन्च रहेको ६ नम्बर वडाका अध्यक्ष आचार्यले आफूहरुको मागबमोजिम नेपाल टेलिकमले एक महिनामै १२८ लाइन टेलिफोन र उत्तिकै क्षमताको एडीएसएल इन्टरनेट सेवा उपलब्ध हुनेगरी योजना सञ्चालन गरिदिएको भन्दै कृतज्ञता व्यक्त गरे । काभ्रेको सदरमुकाम धुलिखेलबाट करिब २७ किलोमिटर उत्तरमा इन्द्रावती नदीको किनारमा रहेको बस्तीमा टेलिफोन र इन्टरनेट सेवाको पहुँच पुगेपछि विकासमा फड्को मारिएको महसुस भएको स्थानीय बिदुर बानियाँले बताए ।

वायरलाइन तथा ग्राहक सेवा निर्देशनालयका निर्देशक प्रमोदकुमार परमारले एक्सचेन्जको तत्कालको क्षमता १२८ लाइनको भए पनि आवश्यकताअनुसार क्षमता बढाउन सकिने जानकारी गराए ।

प्रकाशित समय ०५:५८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु