गृहपृष्ठ बजेट खर्च गर्न असफल भयो सरकार

बजेट खर्च गर्न असफल भयो सरकार

बजेट सक्न जतासुकै गोष्ठी र अध्ययन भ्रमण

Rojgar Karyakram_NewsKarobar

आर्थिक वर्ष सुरु हुनुभन्दा ४५ दिनअघि बजेट ल्याएको र कुनै पनि अवरोधहरू नभएको अवस्थामा पनि केपी ओली नेतृत्वको सरकारले बजेट खर्च गर्न सकेको छैन । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’अनुसार सरकारको कुल बजेट खर्च गत वर्षको तुलनामा ६ दशमलव ८५ प्रतिशत कम छ ।

गत वर्षको वैशाख मसान्तसम्म सरकारको नगदमा आधारित बजेट ७ खर्ब २७ अर्ब ५६ करोड रुपैयाँ खर्च भएकोमा यस वर्ष यही अवधिमा जम्मा ६ खर्ब ७७ अर्ब ६८ करोड रुपैयाँमात्रै खर्च भएको छ ।
सरकारले चालू र पुँजीगतमात्र होइन, स्वदेशी तथा विदेशी ऋणको सावाँ–ब्याज भुक्तानीमा समेत लक्ष्यअनुसार खर्च गर्न सकेको छैन । वैशाखसम्म चालू खर्च गत वर्षभन्दा ७ दशमलव २७ प्रतिशत कम छ भने पुँजीगत खर्च ४ दशमलव १८ प्रतिशत कम छ । यसैगरि वित्तीय व्यवस्थातर्फ गत वर्षको भन्दा झन्डै ९ प्रतिशत कम छ ।

चालू आर्थिक वर्षमा सरकारले १३ खर्ब १५ अर्ब रुपैयाँको बजेट ल्याएकोमा त्यसमध्ये ११ खर्ब ९९ अर्ब रुपैयाँमात्र खर्च हुने संशोधित अनुमान गरिएको थियो । गत आर्थिक वर्षमा जम्मा १० खर्ब ६६ अर्ब रुपैयाँ खर्च भएको र असार ४ गतेसम्म जम्मा ६ खर्ब ३५ अर्ब रुपैयाँमात्रै खर्च गर्न सकेको अवस्थामा यस वर्ष पनि सरकारको बजेट ११ खर्बभन्दा बढी ननाघ्ने देखिएको छ ।

पुँजीगत खर्चको बेहाल

सरकारले यस वर्ष ३ खर्ब १३ अर्ब ९९ करोड रुपैयाँ पुँजीगत खर्चमा विनियोजन गरेकोमा वैशाख मसान्तसम्म जम्मा १ खर्ब २३ अर्ब रुपैयाँमात्रै पुँजीगत खर्च गर्नसकेको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । असार ४ गतेसम्म यो खर्चमा केही वृद्धि भएजस्तो देखिए पनि जम्मा १ खर्ब ५४ अर्ब रुपैयाँमात्रै पुगेको छ ।

सरकारले यो वर्ष २ खर्ब ६५ अर्ब रुपैयाँ पुँजीगत खर्च गर्ने संशोधित लक्ष्य राखेको छ, त्यो हासिल गर्नका लागि दैनिक ४ अर्ब २५ करोड रुपैयाँ खर्च गर्नुपर्ने हुन्छ ।
विनियोजित बजेट खर्च नभए फ्रिज हुन्छ । अहिले पुँजीगत बजेट फ्रिज नहोस् भनेर साढे २ अर्बको प्रधानमन्क्री रोजगार कार्यत्रमले कतै झार उखेल्ने त कतै नाला सफा गर्ने ‘काम’ देखाएर बजेट सक्दैछ भने अन्य विकाससम्बद्ध निकायहरूले तालिम, गोष्ठी, अध्ययन, भ्रमण भनेर दैनिक लाखौंको बजेट उडाउँदै छन् ।

यतिबेला सरकारको बजेट सक्नका लागि नगरकोट, धुलिखेल, चितवन, पोखरा, इलामसहितका होटलहरू भरिभराऊ भएका छन् । पोखरा, इलाम, धनकुट्टासहित पर्यटकीय क्षेत्रहरूमा ‘अध्ययन–भ्रमण’ लेखिएका बसहरू सडक छेउमा यत्रतत्र टाँसेका देख्न सकिन्छ, त्यसमध्ये अधिकांश ‘अध्ययन भ्रमणे बसहरू देशका विभिन्न स्थानीय पालिकाका पदाधिकारीहरूको हो ।

प्रकाशित समय १५:०४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु