गृहपृष्ठ मेयर द्वारिकालालविरुद्ध सर्वत्र आक्रोश बढ्दै, नेकपा भने मौन
मेयर द्वारिकालालविरुद्ध सर्वत्र आक्रोश बढ्दै, नेकपा भने मौन
इटहरी उपमहानगरपालिका प्रमुख द्वारिकालाल चौधरीमाथिको आक्रोश व्यापक हुँदै गएको छ । केही समयअघि पत्रकारका विषयमा आपत्तिजनक अभिव्यक्ति दिएका चौधरीले दुई दिनअघि महिलामाथि लाञ्छना लाएपछि जनस्तरदेखि सांसदसम्म आक्रोशित भएका छन् ।
प्रदेश सांसदहरूले नगर प्रमुख चौधरीलाई पागलखाना भर्ती गर्न आग्रह गरेका छन् । प्रदेश सभा १ को शुक्रबार बसेको प्रदेश सभा बैठकको शून्य समयमा नेपाली कांग्रेसकी सांसद विन्दिया कार्कीले महिलालाई लाञ्छना लगाउने गरी मेयर चौधरीले दिएको अभिव्यक्तिले सिंगो महिला जगतको अपमान भएको भन्दै आक्रोश पोखिन् ।
चौधरीले महिलाले प्रयोग गर्ने लिपिस्टिक, गर्भ निरोधक औषधी पिल्स पनि यौनधन्दामा लागेका महिलाले खाने भनेर सार्वजनिक मञ्चबाट बोल्दा सरकार किन मौन छ ? भन्दै प्रश्न गरिन् । ‘के पार्टीले मेयर चौधरीलाई छाडा साँढेजस्तै गरी डामेर छाडेको हो ?’ उनले प्रश्न गरिन् ‘सक्नुहुन्छ भने सुधार गर्नु प-यो, नत्र पागलखानामा भर्ती गर्न सक्नुप-यो ?’ मेयर चौधरीका विषयमा यस्ता धेरै विषय बाहिर आउँदा पनि नेकपाले चासो नदिएको भन्दै उनले आपत्ति जनाइन् ।
नगर प्रमुख चौधरीले इटहरीको लविपुरमा आयोजित एक कार्यक्रममा महिलाको अस्मितामाथि प्रहार हुने गरी अश्लील शब्द बोलेका थिए । चौधरीको अभिव्यक्तिप्रति महिला सञ्जाललगायत स्थानीय बासिन्दाले पनि चर्को आलोचना गरिरहेका छन् ।
प्रकाशित समय १६:१८ बजे
















