गृहपृष्ठ नेकपाकाे तल्लाे कमटी एक अध्यक्षात्मक बन्दै

नेकपाकाे तल्लाे कमटी एक अध्यक्षात्मक बन्दै

काठमाडाैं- तीन महिनाभित्र एकीकरण गरिसक्ने लक्ष्य राखेको नेपाल कम्युनिस्ट पार्टीका तल्ला तहका कमिटी एक अध्यक्षात्मक रहने भएका छन् ।

माउ पार्टी दुई अध्यक्षात्मक भएकाले जनवर्गीय संगठनसहित प्रदेश, जिल्ला, स्थानीय तहका सबै कमिटी एक अध्यक्षात्मक राखिने तयारी गरिएको छ ।

एकीकरणका लागि केन्द्रीय कार्यदलले मापदण्ड तयार पार्न थालेको छ ।  कार्यदलले तल्लो तहको कमिटीका साथै भ्रातृ संगठनहरूलाई एकीकृत महाधिवेशन र अधिवेशन गराउनेछ । महासचिव विष्णु पौडेलले तल्लो तहका कमिटीहरूका साथै भ्रातृ संगठनहरूको एकीकरण तीन महिनाभित्रमा गरेर महाधिवेशन÷अधिवेशन गराउने बताए । तल्लो तहमा संयोजक, सहसंयोजक तोकेर अधिवेशनको जिम्मेवारी दिइने पौडेलले बताए । नेता देवप्रसाद गुरुङले केन्द्रजस्तै तल्लो कमिटी एवं भ्रातृ संगठनहरूमा दुई अध्यक्ष नराख्ने बताए ।

एकीकृत पार्टीका कम्तीमा ४० जनवर्गीय संगठनको एकीकृत अधिवेशन गर्नुपर्ने हुन्छ । नेता कर्णबहादुरले नेताहरूलाई जिम्मेवारी दिँदा योगदान, कार्यक्षमता, सक्रियता, अनुभवलगायतका मापदण्ड तोकिने बताए । नेताहरू केन्द्रीय कमिटीमा थपघट हुने नेताहरूको नाम टुंगो लगाउने विषयमा केन्द्रित छन् ।

केन्द्रीय र स्थायी कमिटीको एक साताभित्र टुंगो लगाएर तल्लो तहको कमिटीका साथै भ्रातृ संगठनहरूको एकीकरणको प्रक्रिया थालिने नेताहरूले बताए । पार्टी ९ सदस्यीय केन्द्रीय कार्यालय, ४५ सदस्यीय स्थायी कमिटी र ४४१ सदस्यीय केन्द्रीय कमिटीको बन्नेछ । अहिलेसम्म केन्द्रीय कार्यालय मात्रै पूर्ण छ । ४५ सदस्यीय स्थायी समितिमा २६ तत्कालीन एमालेबाट र १९ माओवादी केन्द्रबाट रहनेछन् । ४४१ केन्द्रीय सदस्यमा २४१ एमाले र २ सय माओवादी केन्द्रबाट रहनेछन् । तल्लो तहको पार्टी कमिटी र भ्रातृ संगठनहरूको संख्यात्मक स्वरूप कस्तो बन्ने भन्ने छलफल भएको छैन ।

प्रकाशित समय ०७:२० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु