गृहपृष्ठ प्रदेश १ का १३४ स्थानीय तहमा पुगे बैंक, सबैभन्दा बढी वित्तीय पहुँचमा झापा

प्रदेश १ का १३४ स्थानीय तहमा पुगे बैंक, सबैभन्दा बढी वित्तीय पहुँचमा झापा

देशका ७५४ वटै स्थानीय तहमा बैंकका शाखा स्थापना गर्ने सरकारी लक्ष्यअनुरुप प्रदेश १ का १३४ स्थानीय तहमा शाखा स्थापना भएका छन् । जेठसम्ममा प्रदेश १ का १३७ मध्ये १३४ स्थानीय तहमा बैंक पुगेका हुन् ।

राष्ट्र बैंकले सबै स्थानीय तहमा पुग्न दिएको निर्देशनअनुसार बैंकले शाखा विस्तारलाई तीव्रता दिएका छन् । कतिपय विकट र दुर्गम स्थानमा भने वित्तीय पूर्वाधार अभावमा बैंक पुग्न नसकेको राष्ट्र बैंक विराटनगरले जनाएको छ ।

ताप्लेजुङको मिक्वाखोला र मेरिङदेन तथा ओखलढुंगाको चिशंखुगढी गाउँपालिकामा बैंकका शाखा पुग्न नसकेका हुन् । नेपाल राष्ट्र बैंक विराटनगरका उपनिर्देशक ईश्वर कटुवालले बैंकका शाखा निरन्तर खुलिरहेको र अब चाँडै सबै स्थानीय तहमा पुग्ने बताए । उनले भने, ‘एक त बैंक तथा वित्तीय संस्था खोलिने क्रममा छन् । अझै पनि यो बढ्दै नै छ । केही समयभित्रै फुलफिल होला । तर अहिलेसम्म बैंकका शाखा पुग्न नसक्नुको कारण वित्तीय पूर्वाधारको कमी नै हो ।’

राष्ट्र बैंकले बैंकर्सहरुलाई सबै स्थानीय तहमा अनिवार्य पुग्न निर्देशन दिएको भए पनि सुरक्षा र पूर्वाधार अभाव तीन स्थानीय तहमा पुग्न गाह्रो भएको उनको भनाइ छ । ‘बैंकहरु उत्साहित छन् तर बैंक भनेको आर्थिक कारोबार हुने ठाउँ हो, त्यसका लागि पूर्वाधार, बिजुली, इन्टरनेट र पर्याप्त सुरक्षा व्यवस्था हुनुपर्छ, उनले भने ।

प्रदेश १ सरकारले पनि निकै प्रयास गर्दा पनि केही स्थानीय तहमा बैंक पुग्न नसकेको स्वीकार गरेको छ । प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र आङ्वोले भने, ‘अधिकांश तहमा बैंक पुगेका छन् तर विटकतका कारण केही स्थानीय तहमा बैंकका शाखा पुग्न सकेका छैनन् । यसका लागि प्रदेश सरकारले पूर्वाधार तयार गरेर बाँकी स्थानीय तहमा पनि अब चाँडै बैंकका शाखा पु–याउनेछ,’ उनले भने ।

जेठ मसान्तसम्म प्रदेश १ का १३७ स्थानीय तहमध्ये १३४ स्थानीय तहमा वाणिज्य बैंक शाखा खुलेका छन् । नौ स्थानीय तह रहेको ताप्लेजुङका दुई वटा र ८ स्थानीय तह रहेको ओखलढुंगाको एउटा स्थानीय तहमा शाखा खुल्न बाँकी छ । अन्य सबै स्थानीय तहमा बैंक पुगेका छन् । इलाम, पाँचथर, झापा, मोरङ, सुनसरी, धनकुटा, तेह्रथुम, संखुवसभा, सोलुखुम्बु, खोटाङ, उदयपुर र भोजपुरका सबै स्थानीय तहमा वाणिज्य बैंकको शाखा स्थापना भएको राष्ट्र बैंक विराटनगरका उपनिर्देशक कटुवालले जानकरी दिए ।

कुन जिल्लामा कति वित्तीय संस्था ?
नेपाल राष्ट्र बैंक विराटनगरको तथ्यांकअनुसार प्रदेश १ का १४ जिल्लामा आर्थिक वर्ष ०७५/७६ को जेठ मसान्तसम्ममा ५५४ वाणिज्य बैंक, १६६ विकास बैंक र ३९ वित्त कम्पनीका शाखा खुलेका छन् । २०६८ सालको जनगणनाअनुसार प्रदेशको कुल जनसंख्या ४८ लाख १० हजार ७०० रहेकोमा ती प्रत्येक शाखाले ६ हजार ३३८ जनालाई वित्तीय सेवा प्रवाह गरिरहेका छन् ।

ताप्लेजुङमा वाणिज्य बैंकका १६ शाखा छन् । त्यस्तै, पाँचथरमा २१, इलाममा ३०, झापामा १०७, संखुवासभामा २५, भोजपुरमा २३, तेह्रथुममा १५, धनकुटामा १९, मोरङमा १२४, सुनसरीमा ९४, सोलुखुम्बुमा १९, खोटाङमा १४, ओखलढुंगामा १६ र उदयपुरमा ३१ वटा वाणिज्य बैंकका शाखा छन् । यसरी हेर्दा प्रतिशाखा ४ हजार ८०९ जनाले सेवा पाउने झापा वित्तीय पहुँचका दृष्टिले सबैभन्दा अगाडि छ भने सबैभन्दा कम वित्तीय पहुँच खोटाङमा देखिएको छ ।

राष्ट्र बैंक नै छैन संघीय संरचनामा
सबै बैंक तथा वित्तीय संस्थालाई राज्य पुनःसंरचनापश्चात सबै स्थानीय तहमा शाखा विस्तार गर्न निर्देशन जारी गर्ने राष्ट्र बैंक नै संघीय संरचनाको ढाँचामा जान सकेको छैन । राज्य संघीय संरचना गएको तीन वर्ष बितिसक्दा पनि राष्ट्र बैंक पुरानै संरचनामा छ ।

तत्कालीन पूर्वाञ्चल विकास क्षेत्रका ९ जिल्ला हेर्ने विराटनगरस्थित राष्ट्र बैंक कार्यालयले प्रादेशिक संरचनामा पनि प्रदेश १ का ८ र २ नम्बर प्रदेशको १ जिल्लाको आर्थिक गतिविधि हेर्ने गरेको छ । कार्यालयले प्रदेश १ का ताप्लेजुङ, पाँचथर, इलाम, झापा, संखुवासभा, धनकुटा, मोरङ, सुनसरी र प्रदेश २ को सप्तरी जिल्लाको आर्थिक गतिविधि हेर्ने गरेको राष्ट्र बैंक विराटनगरका उपनिर्देशक कटुवालले जानकारी दिए ।

प्रकाशित समय १०:४१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु