गृहपृष्ठ पर्यटनको आय- ६३ अर्ब, नेपालीको खर्च साढे ७३ अर्ब
पर्यटनको आय- ६३ अर्ब, नेपालीको खर्च साढे ७३ अर्ब
नेपालले चालू आर्थिक वर्षको पहिलो १० महिनामा पर्यटन क्षेत्रबाट ६३ अर्ब २७ करोड रुपैयाँ आर्जन गर्दा नेपालीहरूले विदेशमा घुमेरै ७३ अर्ब ६५ करोड रुपैयाँ खर्च गरेका छन् ।
नेपाल राष्ट्र बैंकद्वारा जारी चालू आर्थिक वर्षको पहिलो १० महिनाको तथ्यांकअनुसार नेपालीहरूले घुमफिरमा ७३ अर्ब ६५ करोड २४ लाख रुपैयाँबराबर ६४ करोड ९८ लाख अमेरिकी डलर खर्च गरेका हुन् ।
गत आर्थिक वर्षभरिमा नेपालीहरूले घुमफिरमा ७९ अर्ब ५९ करोड रुपैयाँ खर्च गरेका थिए भने गत वर्ष पर्यटनबाट देशले भने जम्मा ६९ अर्ब ७५ करोड रुपैयाँमात्र कमाएको थियो । नेपालीहरूको आयमा भएको वृद्धिसँगै घुमफिरमा हुने खर्च पनि बढ्दै गएको हो ।
सन् २०१९ को जनवरीदेखि अप्रिलसम्म करिब ११ लाख नेपाली विदेशिएका छन्, तीमध्ये वैदेशिक रोजगारीमा गएका करिब २ लाख नेपालीको संख्या घटाउँदा झन्डै ९ लाख नेपाली विदेश यात्रामा निस्किएको अध्यागमन विभागको तथ्यांकले देखाउँछ ।
यो तथ्यांकमा घुमफिरका लागि भारतका दार्जिलिङ, सिक्किम, नैनितालदेखि धार्मिक पर्यटनका लागि चार धाम जाने नेपालीहरूको संख्या जोडिएको छैन । झन्डै ५ देखि ८ लाख नेपालीहरू भ्रमणका लागि भारत जाने गरेको पर्यटन व्यवसायीहरू बताउँछन् ।
पछिल्लो समयमा नेपालीहरू विदा मनाउनका लागि थाइल्यान्ड, भियतानमदेखि अन्य एसियाली गन्तव्यहरूमा जाने क्रम बढेको छ । विभिन्न ट्राभल एजेन्सी कम्पनीहरूले सस्ता भ्रमणका प्याकेजहरू ल्याउन थालेपछि नेपालीहरूको घुम्न संस्कार बढेको हो । केही कम्पनीहरूले समूहमा नै घुमाउन लाने गरेका छन् भने केहीले उपहारमा समेत घुमफिरका प्याकेज राख्ने गरेका छन्।
प्रकाशित समय १६:१७ बजे

















