गृहपृष्ठ भाते बानीले चामल आयात बढ्दो

भाते बानीले चामल आयात बढ्दो

bhatey-bani-newskarobar

केही वर्षयता देशभित्र खाद्यान्न उत्पादन बढेको देखिए पनि त्यही अनुपातमा आयात बढ्न थालेको देखिएपछि नेपालभित्र खाद्य आवश्यकता कति हो भन्ने प्रश्न उब्जन थालेको छ । सरकारी अधिकारीहरू भने नेपालीको ‘भाते बानी’ले गर्दा अन्नको आयात बढेको टिप्पणी गर्छन् ।

आर्थिक वर्ष २०७४/७५ मा ५२ लाख टन उत्पादन भएको धान ०७५/७६ मा ५६ लाख टनकोे हाराहारीमा पुगेको छ । अर्कातिर चालू आर्थक वर्षको १० महिनामै ४६ अर्ब रुपैयाँबराबरको अन्न आयात भएको छ । यसले देशभित्र सञ्चालित सबै कृषि आधुनिकीकरण र व्यवसायीकरणका कार्यक्रमको औचित्यमाथि नै प्रश्न उब्जिएको छ ।

सामान्यतः नेपालमै उत्पादन हुने अन्न- धान, मकै र गहुँले माग धान्ने भए पनि भात नै चाहिने नेपालीको प्रवृत्तिले चामलको आयात बढेको कृषि तथा पशुपन्छी मन्त्रालयका सहप्रवक्ता प्रदीपचन्द्र भट्टराई बताउँछन् । ‘वर्षमा प्रतिव्यक्ति १९१ किलो अन्न खपत हुन्छ, जसमध्ये चामल ९० किलो, मकै ४५ किलो, गहुँ ४५ किलो र अन्य खाद्यान्न १४ किलो खपत हुन पर्ने हो तर नेपालीको भाते प्रवृत्तिले वर्षमा प्रतिव्यक्ति १ सय ४० किलो चामल खपत हुँदै आएको छ,’ उनले भने, ‘तीनै प्रकारका अन्नको खपत सन्तुलित हुने हो भने बाहिरबाट आयात गर्नुपर्ने आवश्यकता नै पर्दैन ।’

नेपालीहरूको भान्साबाट मकैको च्याख्लाको भात वा कोदाको ढिँडो र रोटी विस्थापित भएको छ भने मसिनो र बास्नादार चामलको खपत बढ्दै गएको छ । नेपालमा मसिना र बास्नादार चामलको उत्पादन कम हुने भएकाले मागअनुसार स्वदेशी उत्पादन नपुग्दा विदेशबाट आयात दर बढ्दै गएको सहप्रवक्ता भट्टराई बताउँछन् ।

मनसुन ढिलो सुरु भएकाले यो वर्ष कति धान उत्पादन हुन्छ भन्ने विषयमा कृषि मन्त्रालय अन्योलमा छ । यद्यपि, संघीयताको कार्यान्वयनसँगै सिँचाइ, बीउबिजनलगायतका कुरा स्थानीय तहको पहुँचमा भएकाले आगामी वर्ष २०७६/७७ मा धानको उत्पादन ८ देखि १० प्रतिशतले बढ्ने सक्ने मन्त्रालयको अनुमान छ । २०७४/७५ मा करिब ५ लाख ८८ हजार टन चामल आयात भएको छ । २०७५/७६ को जेठसम्ममा आयात बढेर करिब ७ लाख टन हाराहारी पुगेको छ । सरकारी तथ्यांकअनुसार चामल आयातमा मात्रै हरेक वर्ष २५ अर्ब रुपैयाँभन्दा बढी बिदेसिने गरेको छ ।

नेपाली समुदायमा मकै, कोदो, फापर, जौ, उवाजस्ता अन्नको उपभोग घट्दै गएको छ । मसिनो तथा बास्नादार खालका चामलले आमनेपालीको ध्यान खिच्दा स्वदेशी चामलले बजारसमेत पाउन हम्मे-हम्मे पर्ने गरेको छ ।

गत वर्ष प्रधानमन्त्री केपी ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मेडिकल व्यवसायी प्रसाईंको घरमा मार्सी चामलको भात खाएको फोटो सामाजिक सञ्जालमा भाइरल भएपछि अहिले त्यो चामलको माग बढेको छ । यद्यपि, जुम्लामै मार्सी चामल कम उत्पादन हुने भएकाले बजारमा आपूर्ति पनि कम छ र मूल्य पनि बढेको छ ।

खाद्यान्नका रुपमा भातको वैकल्पिक उपाय नअपनाइएको र दुवै छाक भात अनिवार्य चाहिने प्रवृत्तिले चामलको माग दिनप्रतिदिन बढेको हो । नेपालमा मसिना र बास्नादार चामल फलाउन उपयुक्त मौसम नहुने तथा कृषिमा अझै आधुनिकीकरणको अपर्याप्तताका कारण विदेशबाट आयातीत चामल प्रयाग भइरहेको भट्टराई बताउँछन् । ‘कृषिलाई पूर्ण रुपमा आधुनिकीकरण गर्न अझै सकिएको छैन, खेतीयोग्य जमिनमा सिँचाइ सुविधा उपलब्ध भएपछि र समयमै हाइब्रिड बीउविजन तथा पर्याप्त मलखाद उपलब्ध भएपछि मात्रै आयात घटाउन सकिन्छ,’ उनी भन्छन् ।

केही दशकअगाडि फर्केर हेर्ने हो भने नेपाल धानमा आत्मनिर्भर भएर भारतलाई उल्टै निर्यात गरेको इतिहास छ । तर, कृषिमा पछिल्लो पुस्ताको आकर्षण घट्दै जानु, उर्वर भूमि प्लटिङ गरी बस्ती बसाइनु र नेपाली समुदायमा विदेशी चामलप्रतिको मोहजस्ता कारणले उल्टै आयात बढ्दै गएको छ ।

यो वर्ष करिब १५ लाख ५२ हजार ४६९ हेक्टरमा रोपाइँ गर्ने सरकारको लक्ष्य छ । जसमा करिब ७० लाख टन उत्पादन हुने अनुनमान छ । उत्पादित सबै चामलले बजार पाउन सके आगामी आर्थिक वर्षमै आयात दर घटाउन सकिने सहप्रवक्ता भट्टराई बताउँछन् । नेपालको खेती हुने क्षेत्रको ५०.२ प्रतिशत जग्गामा धान रोपिन्छ । यसमध्ये तराईमा ६९.१, पहाडमा २६.८ र उच्च पहाडमा ४.१ प्रतिशत जग्गामा धानखेती हुन्छ ।

समयमा वर्षात् नहुँदा गत वर्षको तुलनामा यो वर्ष धान रोपाइँ कम हुने हो कि भन्ने आशंका पनि बढेको छ । कृषि तथा पशुपन्छी मन्त्रालयका अनुसार गत वर्षको असार १२ गतेसम्ममा १५.९ प्रतिशत धान रोपाइँ भएकोमा यो वर्ष सोही अवधिमा ११.६४ प्रतिशत रोपाइँ भएकोे छ । मन्त्रालयका अनुसार अहिलेसम्म उच्च पहाडमा २६.३१ प्रतिशत, मध्यपहाडमा १५.१२ प्रतिशत र तराईमा ९.५९ प्रतिशत रोपाइँ भएको छ । मुलुकमा धानखेती १५ लाख ६२ हजार हेक्टर पुगेको छ । मनाङ र मुस्ताङबाहेक सबै जिल्लामा धानखेती हुन्छ । नेपालमा ६० मिटरदेखि तीन हजार ५० मिटरको उचाइमा धानखेती गरिन्छ । कुल खेती हुने क्षेत्रफलमध्ये ५०.२ प्रतिशत जग्गामा धानखेती हुन्छ ।

धान उत्पादन बढाउन कृषि अनुसन्धान परिषद् (नार्क)ले विभिन्न जातका धान लगाउन किसानलाई सिफारिस गर्दै आएको छ । तराईका किसानले पुरानो जात राधा (राष्ट्रिय धानबाली) १२, राधा १३, राधा १४ जातका धान लगाउँदै आएका छन् । पश्चिम क्षेत्रमा राधा ४ लोकप्रिय छ । भारतबाट मिठो, मसिनो चामल आयात भएकाले नार्कले मिठो-मसिनो चामल फल्ने धान सिफारिस गरे पनि व्यवहारमा भने लागू हुन सकेको छैन ।

प्रकाशित समय १५:२२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु