गृहपृष्ठ सिरहा र सप्तरीमा आँप उत्पादन घट्यो
सिरहा र सप्तरीमा आँप उत्पादन घट्यो
सिरहा र सप्तरीमा यस वर्ष आँपको उत्पादनमा कमी आएको छ । उत्पादनमा कमी आएसँगै आँपको मूल्य बढेको छ । रोगको प्रकोपले यस वर्ष आँप उत्पादन घटेको हो ।
सिरहामा यस वर्ष पाँच हजार १ सय ७० हेक्टर क्षेत्रफलमा प्रतिहेक्टर एक दशमलव पाँच प्रतिशतका दरले सात हजार ७ सय ५५ मेट्रिक टन मात्र आँप उत्पादन भएको कृषि ज्ञान केन्द्र राजविराजका प्रमुख भगीरथ यादवले जानकारी दिए ।
कूल पाँच हजार ७ सय ५५ हेक्टरमा आँप फल्ने जग्गा रहेको जिल्लामा गत वर्ष पाँच हजार १ सय ७० हजार हेक्टरमा प्रतिहेक्टर चार दशमलव पाँच प्रतिशतका दरले २३ हजार २ सय ६५ मेट्रिक टन आँप उत्पादन भएको थियो ।
यस्तै सप्तरीमा समेत यस वर्ष आँप उत्पादन ह्वात्तै घटेको छ । यहाँ कूल पाँच हजार हेक्टरमा प्रतिहेक्टर एक दशमलव पाँच मेट्रिक टनका दरले सात हजार मेट्रिक टन आँप उत्पादन भएको यादव बताउँछन् । गत वर्ष सप्तरीमा प्रतिहेक्टर आठ मेट्रिक टनका दरले आँप उत्पादन भएको थियो । पूर्व–पश्चिम राजमार्गसँग जोडिएको सिरहाको जिरोमाइल, गोलबजार, मिर्चैया तथा सप्तरीको कञ्चनपुर, रुपनगर, सीतापुर, महुली, कल्याणपुर, कुशहा, लोहजार, जण्डौल, हरिपुरलगायत आँपको पकेट क्षेत्र हुन् ।
आँपमा मजुरा लागेदेखि नै हावाहुरी, असिनापानी र मधुवा किराले क्षति पुर्याएको बागवानी अधिकृत यादवले बताए । सिरहा र सप्तरीको बजारमा माल्दा आँप प्रतिकिलो रु १००, बम्बई आँप रु १२०, सरही आँप रु ८० तथा अन्य आँप प्रतिकिलो रु ५० मा बिक्री भइरहेको छ । गत वर्ष प्रतिकिलो रु ५० भन्दा कममै आँप बिक्री भएको थियो । शुरुआतमै मूल्य बढेकाले अन्तिम समयसम्म आँपको मूल्य बढ्न सक्ने स्थानीय व्यापारी बताउँछन् ।(रासस)
प्रकाशित समय १०:०१ बजे

















