गृहपृष्ठ असारे विकास : १६ दिनमा ६९ अर्ब खर्च

असारे विकास : १६ दिनमा ६९ अर्ब खर्च

asare-bikash-newskarobar

सरकारले असारे विकासलाई निरन्तरता दिँदै असारको १६ दिनमा मात्र ६९ अर्ब रूपैयाँ खर्च गरेको छ । महालेखा परीक्षकको कार्यालयका अनुसार असार १ गते कुल ८ खर्ब २९ अर्ब ४ करोड रूपैयाँ बजेट खर्च भएकोमा असार लागेपछि दैनिक ३ देखि ५ अर्ब रूपैयाँसम्म खर्च गरेर यो रकम ८ खर्ब ९८ अर्ब रूपैयाँ पुर्‍याइएको छ ।

विकास कार्यका लागि विनियोजित पुँजीगत बजेट अहिले रातारात सक्ने गरी खर्च भइरहेको छ । काठमाडौंको चाबहिल सरस्वतीनगरमा अघिल्लो रात गरेको पिच भोलिपल्टै असारे भेलले बगाएर लगिदियो, तर सरकारलाई विकास भएको देखाउनु छ । यसरी देशभरि नै असारे भेलमा विकासे काम भइरहेको पाइएको छ ।

विगत १६ दिनमा मात्र १४ अर्ब ५० करोड रूपैयाँ पुँजीगत खर्च भएको छ । असार १ गते जम्मा १ खर्ब ५५ अर्ब ३५ करोड रूपैयाँ पुँजीगत बजेट खर्च भएकोमा १६ गतेसम्म १ खर्ब ६९ अर्ब ८५ करोड रूपैयाँ पुगेको छ ।

आइतबार असार १३ गते सबैभन्दा बढी १० अर्ब ३५ करोड रूपैयाँ खर्च गरिएको छ भने १३ गते ५ अर्ब ३२ करोड रूपैयाँ बजेट खर्च गरिएको छ ।

यसैबीच, अर्थविद्हरुले राष्ट्रिय रोगका रुपमा निरन्तरता दिइँदै आइएको असारे विकासलाई वर्तमान दुई तिहाइको बलियो सरकारले अन्त्य गर्नुपर्नेमा जोड दिएका छन् ।

कार्यसम्पादनमा आधारित भएर बजेट विनियोजन हुनुपर्ने, आयोजना, कार्यक्रम तथा बजेट खर्चको अनुगमन निरन्तर हुनुपर्ने, असारमा १० प्रतिशत पूँजीगत खर्च गर्नुपर्ने प्रवृत्तिलाई अन्त्य गर्दै ११ महीनासम्म काम नहुने तर वर्षको अन्तिम महीनामा ४० देखि ५० प्रतिशत पूँजीगत खर्च हुने गरिएको अर्थविदहरूको भनाइ छ ।

पूर्वअर्थमन्त्री शंकर कोइरालाले विगतका दिनमा देशमा स्थिर सरकार गठन नभएका कारण कार्यक्रम स्वीकृत हुन ढिलाइ हुने र कार्यक्रम समयमै शुरु नहुनेजस्ता समस्या देखिने गरेको बताउँदै हाल पाँच वर्षसम्म ढुक्कका साथ सरकार सञ्चालन हुने अवस्था रहेको बताए ।

मन्त्रालय, विभाग तथा स्थानीय तहजस्ता सम्बन्धित निकायलाई जिम्मेवार बनाउने तथा समयमै कार्यक्रम सुरु नगर्नेलाई कारवाही गर्न सरकारलाई पूर्वअर्थमन्त्री कोइरालाले सुझाव दिए ।

रिपोर्टर्स क्लबको कार्यक्रममा अर्थविद् डिल्लीराज खनालले वर्तमान सरकारको पालामा विसंगति र बेथिति बढेको, राजनीतिक दल, मन्त्रालय तथा कर्मचारीतन्त्र कतै जवाफदेहिता नरहेकाले वित्तीय व्यवस्थापनको समस्या झागिँदै गएको बताए ।

कार्यसम्पादनमा आधारित भएर बजेट विनियोजन हुनुपर्ने, बजेट तथा कार्यक्रम एवं परियोजनाको निरन्तर अनुगमन हुनुपर्ने उनको भनाइ थियो । त्यस्तै ‘वर्क प्लान,एक्सन प्लान’लाई पनि ध्यान दिन खनालले आग्रह गरे ।

नेपाली कांग्रसका नेता दीपक खनालले विकास खर्चमा पनि सरकार चुकिरहेको र असारमात्रै खर्च गर्ने प्रवृत्ति दोहोरिएको टिप्पणी गरे । उनले भने,‘अहिले सरकारले पिचमाथि पिच गरिरहेको छ । जहाँ पिच गर्नुपर्ने थियो, त्यहाँ गर्दैन तर पिच भएको ठाउँमा चाहीँ पिच गर्छ । पुतलीसडकमा पिच गर्छ, यो त हाम्रो बेथिति हो ।’

प्रकाशित समय १७:५६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु