गृहपृष्ठ हेटौंडामा उद्योगको चाप, नयाँलाई जग्गा अभाव
हेटौंडामा उद्योगको चाप, नयाँलाई जग्गा अभाव
औगोगिक क्षेत्र हेटौंडामा जग्गा थप गरेर औद्योगिक क्षेत्र विस्तार गरिएको भए पनि नयाँ उद्योगका लागि जग्गा अभाव भएको छ । हेटौंडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका अनुसार औद्योगिक क्षेत्रले जग्गा थप गरेर व्यवस्थापन गरेको भए पनि नयाँ उद्योगका लागि जग्गाको माग बढेकाले जग्गा अभाव भएको हो ।
विगतमा ३ हजार १ सय १९ रोपनी क्षेत्रफलमा फैलिएको हेटौंडा औद्योगिक क्षेत्रमा २ सय ९० रोपनी जग्गा थप गरी विस्तारित औद्योगिक क्षेत्रका रूपमा नयाँ उद्योग थपिएको भए पनि जग्गाको माग राख्ने सबैलाई उपलब्ध गराउन नसकिएको कार्यालयका अधिकृत राजेन्द्र श्रेष्ठले बताए ।
उनका अनुसार थप जग्गामा १५ उद्योग निर्माण तथा सञ्चालन भइसकेका छन् । हाल औद्योगिक क्षेत्रमा ३ उद्योग मात्र बन्द छन् भने बाँकी सबै सञ्चालनमा छन् । प्रदेशको राजधानी हेटौंडा भएसँगै थप उद्योग सञ्चालनका लागि जग्गा माग भएको तर दिन नसकिएको अधिकृत श्रेष्ठले जानकारी दिए ।
कार्यालयका अनुसार तत्काल नयाँ उद्योग दर्ता तथा सञ्चालनका लागि जग्गा नहुँदा समस्या भएको छ । कार्यालयका अधिकृत श्रेष्ठका अनुसार जग्गाको अभाव पूर्ति गर्न औद्योगिक क्षेत्रको पूर्वपट्टि खाली रहेको जग्गाका लागि बोलपत्र आह्वान गरिएको छ । उनका अनुसार खाली जग्गामा पानी, विद्युतको अभाव छ अधिकृत श्रेष्ठले उक्त जग्गाका लागि बोलपत्र आह्वान गरिसकेको भए पनि अझै केही समय नयाँ उद्योगका लागि जग्गा उपलब्ध गराउन नसक्ने प्रष्ट पारे ।
चालू आर्थिक वर्ष २०७५र७६ मा औद्योगिक क्षेत्रभित्र थप ३० नयाँ उद्योग सञ्चालनमा आउने भएका छन् । आर्थिक वर्ष २०७३–७४ मा जग्गा दर्ता गरे पनि उद्योगको भौतिक संरचना नबनाएको भन्दै औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले केही उद्योगमाथि कारबाहीको प्रक्रिया अगाडि बढाएसँगै ती उद्योगहरुले भौतिक संरचना निर्माण सुरु गरेका हुन् ।
बन्द रहेको हेटौंडा कपडा उद्योगको २ सय ६० रोपनी जग्गामा पनि १५ उद्योग सञ्चालन भइसकेका छन् । उक्त जग्गामा सिई हाइड्रो मेकानिकल वक्र्स प्रालि, न्यू मकवानपुर खाद्य उद्योग प्रालि, फार्मर एग्रो सेन्टर प्रालि, नेसनल स्ट्रक्चर इञ्जिनियरिङ प्रालिले उद्योग सञ्चालन गर्न विसं २०७३ जेठअघि नै सम्झौता गरेका थिए ।
उद्योगको पूर्वाधार निर्माणकार्य सम्पन्न भए पनि विद्युत अभावका कारण उद्योग सञ्चालनमा आउने अवस्था नरहेको उद्योग संघ मकवानपुरका अध्यक्ष नवराज अर्यालले बताए । उनले हेटौंडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले अझ थप जग्गामा बिजुली र पानी जडान गरी थप उद्योगलाई दिनुपर्ने माग गरे । (रासस)
प्रकाशित समय ०९:०१ बजे

















