गृहपृष्ठ सहमति भए नेतृत्वको दाबी गर्दिनँ : वरिष्ठ नेता पौडेल
सहमति भए नेतृत्वको दाबी गर्दिनँ : वरिष्ठ नेता पौडेल
फाइल तस्बिर
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीलाई एकजुट बनाउन सक्ने नेतृत्व खोज्नुपर्ने बताएका छन् । नेपाल प्रेस युनियन चितवनले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा उनले त्यस्तो सहमति भएमा आफूले नेतृत्वको दाबी नगर्ने बताए ।
पार्टीभित्र सुधार र परिवर्तन आवश्यक रहेको बताउँदै उनले समयमा नै महाधिवेशन गर्नुपर्नेमा जोड दिए । पौडेलले भने, ‘म नहुँदा पनि एकता हुन सक्छ । जसमा एकता हुन्छ छलफलबाट त्यसैलाई नेतृत्व दिनुपर्छ ।’ पार्टीमा सुधार र परिवर्तनको आवश्यकता रहेको भन्दै पौडेलले त्यसका पक्षधरसँग छलफल भइरहेको जानकारी दिए ।
पार्टीले प्रतिपक्षको सशक्त भूमिका निर्वाह गर्नुपर्ने भन्दै उनले यस विषयमा पार्टीभित्र छलफल भइरहेको बताए । कांग्रेसलाई बलियो बनाउन तलैबाट संगठन मजबुत बनाएर लैजानुपर्ने पौडेलको भनाइ थियो ।
सरकारप्रति आक्रोश पोख्दै पौडेलले अहिलेको नेतृत्वको जनताले विकल्प खोजेको बताए । उनले भने, ‘त्यो विकल्प कम्युनिस्टबाट हुन सक्दैन, अब कांग्रेस तयार हुनुपर्छ ।’ जनताको अगाडि भरोसाका रुपमा कांग्रेसलाई अगाडि बढाउनुपर्ने भन्दै उनले गणितले केही पनि गर्दैन भने । पौडेलले भने, ‘नेपाली कांग्रेसको जनाधार र भूमिका महत्वपूर्ण भएकाले अंक गणितले असर पार्दैन ।’
सरकारले आफ्ना पक्षधरलाई मात्र पक्षपोषण गरेर विपक्षीलाई बेवास्था गरेको आरोप लगाए । (रासस)
प्रकाशित समय १२:४२ बजे
















