गृहपृष्ठ असार १५ देखि सुर्खेतबाट सिधै दुर्गममा हवाईसेवा
असार १५ देखि सुर्खेतबाट सिधै दुर्गममा हवाईसेवा
सुर्खेत– एक महिनापछि अर्थात् असार १५ देखि कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट विकट जिल्ला जुम्ला, हुम्ला, मुगु र डोल्पामा हवाई सेवा सुरु हुने भएको छ । मंगलबार सीता एयरले कर्णाली प्रदेशका विकट जिल्लामा सुर्खेतदेखि सिधै हवाई सेवा सुरु गर्ने प्रतिबद्धता जनाएको हो ।
कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पहलमा मंगलबार मुख्यमन्त्री कार्यालयमा कर्णाली प्रदेशका दुर्गम जिल्लामा हवाई सेवाबारे छलफल भएको थियो । छलफलपछि उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका उपसचिव वेसिन्दराज सुवेदी र सीता एयरका वरिष्ठ महाप्रबन्धक घनश्याम आचार्यले हवाई सेवा सञ्चालनसम्बन्धी प्रतिबद्धता पत्रमा हस्ताक्षरसमेत गरेका छन् । प्रतिबद्धतापत्र हस्ताक्षर कार्यक्रममा मुख्यमन्त्री शाही, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढा र सीता एयरका प्रबन्ध निर्देशक राजेन्द्रबहादुर सिंह, प्रमुख बजार व्यवस्थापक रिजेश थापालगायतको उपस्थिति थियो ।
प्रतिबद्धता पत्रमा कर्णाली प्रदेशमा पर्यटन र हवाई यातायात सेवा विस्तार गर्न प्रदेश राजधानीबाट जिल्ला सदरमुकाममा रहेका विमानस्थलमा डोर्निएर २२८ को जहाजबाट उडान भर्ने उल्लेख छ । सीताले यसअघि नेपालगन्जबाट हवाई सेवा सञ्चालन गरिरहेको थियो ।
प्रदेश राजधानी सुर्खेतबाट सिधै हवाई यातायात सञ्चालन भएपछि दुर्गम जिल्लाका नागरिकलाई नेपालगन्ज पुगेर सुर्खेत आउनुपर्ने समस्याबाट राहत मिल्ने भएको छ । यसअघि, कर्णाली प्रदेशका डोल्पा, जुम्ला, मुगु र हुम्लाका नागरिकले हवाई सेवा प्रयोग गरि सुर्खेत आवागमन गर्दा नेपालगन्जदेखि सुर्खेतसम्म तीन घण्टाको सडक यातायात प्रयोग गर्नुपर्ने अवस्था थियो । प्रदेश राजधानी सुर्खेतबाट सिधै यात्रा गर्दा भाडादर पनि सस्तो पर्ने सीता एयरका वरिष्ठ महाप्रबन्धक घनश्याम आचार्यले जानकारी दिए ।
प्रकाशित समय १८:२४ बजे

















