गृहपृष्ठ अागामी वर्ष ५ लाख राेजगारी दिँदै सरकार

अागामी वर्ष ५ लाख राेजगारी दिँदै सरकार

काठमाडाैं- सरकारले आगामी आर्थिक वर्ष २०७५/७६ मा ५ लाख नयाँ रोजगारी सिर्जना गर्ने लक्ष्य लिएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले मंगलबार संघीय संसद्मा प्रस्तुत गरेको बजेटले आगामी आर्थिक वर्षमा सो लक्ष्य पूरा गर्ने बताएको हो । सरकारले देशमै रोजगारी सिर्जना गरेर बिदेसिने प्रवृत्तिलाई रोक्ने नीति ल्याउने पनि जनाएको छ ।

आगामी बजेटले स्वदेशमै ५ लाख जनालाई रोजगारीको अवसर दिलाउने लक्ष्य प्राप्तिका लागि वैदेशिक लगानीलाई प्रोत्साहित गर्दै समृद्ध नेपाल बनाउने मार्गचित्र कोरेको छ । गत वर्षको बजेटमा पनि ४ लाख युवालाई स्वदेशमै रोजगारी दिने भनिए पनि त्यो लक्ष्य अझै पूरा भएको छैन ।

अहिलेको बजेटले ५ लाख रोजगारी सिर्जना गर्ने लक्ष्य लिए पनि कसरी सिर्जना गर्ने भन्ने कुरा खुलाएको छैन । बजेट कार्यान्वयनसँगै स्वदेशमै ५ लाख रोजगारी सिर्जना हुने अर्थमन्त्री खतिवडाले घोषणा गरेका हुन् । बजेटमा वैदेशिक रोजगारीलाई कम गर्दै स्वदेशमै रोजगारी बढाउने बताइएको छ ।

यस्तै, ऊर्जा क्षेत्रमा नागरिकलाई जोड्नेगरी योजना प्रस्तुत गरिएको छ । ३ हजार मेगावाटका विद्युत् आयोजना नागरिक लगानीबाटै निर्माण गरिने उल्लेख छ । स्वदेशमै पर्याप्त रोजगारी उपलब्ध गराउन पर्यटन क्षेत्रमा भिजिट नेपाल २०२० घोषणा गरिएको छ । यसैगरी, स्वदेशमै रोजगारी सिर्जना गर्ने अर्को महत्त्वपूर्ण कडीका रूपमा रहेको सरकारले ६ वटा सुरुङमार्ग निर्माण गर्ने घोषणा गरेको छ ।

नागढुंगा-नौबिसे, टोखा-छहेर-गुर्जेभन्ज्याङ, खुर्कोट-चियाबारी, सिद्धबाबामा र बीपीनगर-खुटिया-दीपायल सडकखण्डमा सुरुङ निर्माण हुनेछन् । यी विकासका आयोजना निर्माण गर्ने क्रममा पनि धेरैले स्वदेशमै रोजगारीको अवसर पाउने सरकारको अपेक्षा छ ।

वैदेशिक रोजगारीमा जाने कार्यलाई निरुत्साहित गर्ने बताइए पनि यस बजेटले विदेशबाट फर्किने कामदारले यसअघि प्रतिव्यक्ति ५० ग्राम मात्र काँचो सुन ल्याउन पाउने व्यवस्थालाई थप फराकिलो बनाउँदै यस बजेटले प्रतिव्यक्ति सय ग्रामसम्म काँचो सुन ल्याउन पाउने उल्लेख गरेको छ ।

सरकारले विदेशमा काम गरी फर्किने नेपाली कादारले काँचो सुन ल्याउन पाउने व्यवस्था गरेको छ । तर, त्यसका लागि कर भने तिर्नुपर्ने जनाएको छ । अहिले ५० ग्रामसम्मको सुनका गहना ल्याउन कर तिर्नुपर्दैन । अर्थमन्त्री खतिवडाले कामदारलाई कर तिरेर सय ग्रामसम्म काँचो सुन ल्याउन दिने घोषणा गरेका हुन् । यसले विदेशमा काम गरिरहेका नेपालीलाई फाइदा हुने सरकारको अपेक्षा छ । यसअघि काँचो सुन ल्याउन नपाउने व्यवस्था गरेपछि बाला बनाएर सुन तस्करी मौलाएको थियो ।

आगामी आवमा ५ लाख नयाँ रोजगारीको अवसर सिर्जना गर्ने लक्ष्यसहित सरकारले सार्वजनिक गरेको यस बजेटमा करिब ८ प्रतिशत आर्थिक वृद्धि हुने अनुमान गरिएको छ । यस वर्ष केलब ५ दशमलव ९ प्रतिशत मात्रै आर्थिक वृद्धिको अनुमान गरिएका बेला आगामी आर्थिक वर्षमा भने ८ प्रतिशत वृद्धि हुने अनुमान गरिएको हो । यसले पनि नयाँ रोजगारी बढाउने लक्ष्यमा थप बल पुर्याउने सरकारको अपेक्षा छ ।

प्रकाशित समय ०९:४५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु