गृहपृष्ठ ५ नम्बर प्रदेशको प्रदेशसभा नियमावली संशोधन हुँदै
५ नम्बर प्रदेशको प्रदेशसभा नियमावली संशोधन हुँदै
रुपन्देही- प्रदेश ५ को प्रदेशसभा नियमावली, २०७४ संशोधन गर्न संशोधन मस्यौदा समिति गठन भएको छ । प्रदेशसभा सदस्यको बैठकमा बुधबार सभामुख पूर्णबहादुर घर्तीले संशोधन गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्दा सर्वसम्मतले स्वीकृत भयो ।
प्रदेशसभा सदस्य कृष्णध्वज खड्काले प्रदेशसभा नियमावली, २०७४ संशोधनका लागि प्रदेशसभासमक्ष प्रस्ताव प्रस्तुत गरेका थिए । संशोधन मस्यौदा समितिमा हरि रिजाल, चेतनारायण आचार्य, दामा शर्मा, सन्तोष पाण्डे र अष्टभुजा पाठक रहेका छन् ।
यस्तै प्रदेशसभा नियमावली २०७४ को नियम १०८ बमोजिम प्रदेश नं ५ प्रदेशसभा सचिवालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्तावमाथिको सैद्धान्तिक छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मुख्यमन्त्री शंकर पोखरेलले जनताप्रति उत्तरदायी हुने प्रदेशसभालाई जवाफदेही बनाउने विषय सबैको चासोको विषय भएको उल्लेख गर्दै दाङमा भएको झाडापखालामा सम्पूर्ण जनशक्ति परिचालन भएको बताए ।
‘त्यहाँको पानीको मुहान प्रदूषित भएको विषयलाई प्रदेश सरकारको भौतिक पूर्वाधार तथा विकास मन्त्रालयले पनि अध्ययन गरिरहेको छ,’ मुख्यमन्त्री पोखरेलले भने ।
प्रदेशसभा नियमावली २०७४ को नियम १०८ बमोजिम प्रदेश नं ५ प्रदेशसभा सचिवालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि प्रदेशसभा सदस्य अमरबहादुर डाँगी, सन्तोष पाण्डे, उत्तरकुमार ओली, दिनेश पन्थीलगायतले विधेयकलाई आलोचनात्मक समर्थन गरेका थिए ।
त्यस्तै, कार्यव्यवस्था परामर्श समितिमा पनि सभामुख पूर्णबहादुर घर्तीले हेरफेर गरेका छन् । प्रदेशसभा सदस्य वीरबहादुर रानालाई हटाएर सुरेन्द्र हमाललाई चयन गरिएको छ ।
प्रकाशित समय ०७:५० बजे

















