गृहपृष्ठ हनुमन्तेकाे निर्माणाधीन पुल बगायाे

हनुमन्तेकाे निर्माणाधीन पुल बगायाे

भक्तपुर- हनुमन्त खोलामा आएको बाढीले निर्माणाधीन पुलको संरचना बगाएको छ । मध्यपुर थिमी नगरपालिका वडा नम्वर ४ र सुर्यविनायक नगरपालिका वडा–३ र ४ जोड्ने निर्माणाधीन पुल मंगलबार र बुधबार लगातार परेको वर्षाका कारण आएको बाढीले संरचना बगाएको हो ।

गत १९ जेठमा ढलान गर्ने गरी तयार गरिएको संरचना बाढीसँगै आएको फोहरले बगाएपछि निर्माण कार्य ढिलो हुने भएको छ ।

ढलान गर्न डन्डी बाँधिसकेकोमा एक्कासि आएको बाढीसँगै आएको फोहरले संरचना नै भत्काएको फिल्ड प्राविधिक अधिकृत रुद्र काफ्लेले जानकारी दिए । उनका अनुसार बाढीसँगै बगाएर आएको फोहरले पुल निर्माण झनै प्रभावित बनेको छ ।

सूर्यविनायक–४ का कार्यवाहक वडा अध्यक्ष घनश्याम भट्टराईले निर्माण कम्पनी भागेका कारण स्थानीयले गएको पुसदेखि पुल निर्माण सुरु गरेको जानकारी दिए । पुसमै काम थाले पनि कामदार अभावले निर्माण कार्य प्रभावित भएको उनी बताउँछन् ।

‘गत वैशाखमै पुल निर्माण गर्ने लक्ष्य राखेका थियौं,’ कार्यवाहक वडा अध्यक्ष भट्टराईले भने, ‘कामदार पाउन नसक्दा वैशाखसम्म काम नै थाल्न समस्या भयो ।’

निर्माण कम्पनी भागेपछि जिल्ला समन्वय समिति भक्तपुरको पहलमा निर्माण जिम्मा स्थानीयल नै लिएका हुन् ।

स्थानीय सुपरभाइजर गणेश कार्कीले गएको गत ५ जेठको अविरल वर्षाले पनि ढलान गर्न राखिएको फर्मा पूरै बगाएको बताए । बाढीले पुलको ढलान संरचना बगाउँदा करिब २० लाख रुपैयाँ क्षति भएको उनले जानकारी दिए ।

भण्डार थोतुङ, श्याम बाबु, जेभीले पुल निर्माण कार्य १ करोड ६० लाख ८७ हजार ५७८ भ्याट बाहेकमा ठेक्का पाएको थियो । पुल निर्माण एक वर्षअघि नै सम्पन्न भइसक्नुपर्ने थियो । तर, निर्माण कम्पनी भागेपछि स्थानीयले पुल निर्माण कार्य अघि बढाएका छन् ।

आगामी २० असारभित्र पुल निर्माण पूरा गरिसक्नुपर्ने बाध्यता छ । तर, बाढीले पुल निर्माण संरचना बगाएपछि समयमै सकिने आशंका बढेको स्थानीय दीर्घ सापकोटा बताउँछन् ।‘पहिला ठेकेदारले धोका दिए, अहिले मौसमले,’ उनी भन्छन्,‘हामी पुलको आशामा मात्र रहने भयौं ।’ वषासँगै आएको फोहोर र ढलले पुलको संरचना भत्काएका कारण अनुमानित लागतअनुसारको रकममा सम्पन्न गर्न समस्या हुने देखिएको छ ।

प्रकाशित समय ०९:२४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु