गृहपृष्ठ स्वदेशमै मजदुरी, मासिक ६० हजार आम्दानी
स्वदेशमै मजदुरी, मासिक ६० हजार आम्दानी
काठमाडौं– स्वदेशमै मजदुरी गरेर मासिक ५० देखि ६० हजारसम्म कमाउन सक्ने भएपछि युवाहरु इको प्यालन जडानको कामप्रति आकर्षित देखिएका छन् । इँटाको विकल्पमा कारखानामा पहिला नै तयार पारिएको प्रि–फ्याब प्यानल जडानको काममा राम्रो कमाइ भएपछि युवा आकर्षण त्यसतर्फ बढेको हो ।
इन्टरनेसनल ग्रिन डेभलपर्स नेपालले आयोजना गरेको दुई दिने इको प्यानल जडान तालिमबाट धेरै लाभ मिलेको सहभागी विजेन्द्र सुवालले बताए । स्वदेशमै मासिक ५०–६० हजार आम्दानी हुने भएपछि युवा पनि दंग देखिएका छन् ।
कम्पनीले युवाहरुलाई निःशुल्क तालिम दिएको हो । तालिम अवधि र तालिमपछि कम्पनीले भत्तालगायतका विभिन्न सुविधा पनि प्रदान गरिएको कम्पनीले जनाएको छ । कम्पनीका योजना प्रमुख इन्जिनियर कृष्णसुन्दर कुम्पाखले दुई दिने तालिमपछि इच्छुकलाई पुनः भत्तासहितको एक महिने परीक्षण अवधिमा खटाइने जानकारी दिए । ‘परीक्षण अवधिमा पनि सफल हुनेलाई रोजगारीको सुनिश्चितता गरेका छौं,’ उनले भने ।
तालिममा काठमाडौं, भक्तपुर, बुटवल, पोखरा, डडेल्धुरालगायत जिल्लाका इन्जिनियर, डकर्मी, फलाम तथा आल्मुनियमको काम गर्ने २४ युवा सहभागी थिए । तालिममा प्यानल जडान गर्ने तरिका, प्यानलको प्रोडक्ट, प्रिकास्ट आदिबारे सैद्धान्तिक ज्ञान दिइएको थियो ।
प्रकाशित समय ११:१५ बजे

















