गृहपृष्ठ भारतमा बसेर नेपाली बैंक लुट्ने ‘काले’को योजना विफल
भारतमा बसेर नेपाली बैंक लुट्ने ‘काले’को योजना विफल
भारतमा बसेर नेपाली बैंकबाट करिब ५ अर्ब रकम चोर्ने विदेशी नागरिक काले अर्थात पिटरको योजना विफल भएको छ । उनले परिचालन गरेका नेपालीहरूलाई प्रहरीले पक्राउ गरेसँगै बैंकिङ प्रणालीबाट हुन थालेको ठूलो रकम लुटको पर्दाफास भएको हो ।
महानगरीय प्रहरी महाशाखाका अनुसार पिटरले नेपाली टिम परिचालन गरी कृषि विकास बैंक, पानस रेमिट र नविल बैंकबाट ५ अर्ब रकम चोर्ने योजना बनाएका थिए ।
ती ह्याकिङ समूहका सदस्यले सुरुमा नबिलमा प्रयास गरेपनि सफल नभएपछि कृषि बैंकबाट रकम चोरी भएको माहाशाखाले जनाएको छ । नेपालीलाई भरिया बनाएर रकम चोर्ने योजना विफल भए पनि पिटर भने अझै पक्राउ परेको छैनन् ।
उनका भरियाका रूपमा नेपालमा बैंकबाट अवैध रूपमा पैसा झिक्ने १२ जनालाई पक्राउ गरी महाशाखाले बुधबार सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेहरू नुवाकोटका ४३ वर्षीय लवाङ तामाङ, रसुवाकी ४० वर्षीया लक्ष्मी लामा तामाङ, काठमाडौंका २६ वर्षीय सञ्जय आले, रसुवाकी २० वर्षीया निर्मला तामाङ, रसुवाकै १८ वर्षीय निमा तामाङ, सर्लाहीका ४२ वर्षीय पुष्पराज खड्का, लमजुङका २३ वर्षीय विद्यासागर लामिछाने, तनहुँका ३८ वर्षीय श्रवणकुमार श्रेष्ठ, भक्तपुरकी ३२ वर्षीया सुनिता श्रेष्ठ, भारत घर भइ काठमाडौं बस्दै आएका ३० वर्षीयसुबन्कर पन्जा, कैलालीका २२ वर्षीय विजय साह र कैलालीकै ४५ वर्षीय चन्द्रबहादुर बुढा छन् । उनीहरूबाट प्रहरीले ४० लाख ५० हजार रुपैयाँ बरामद गरेको छ ।
कृषि विकास बैंकको लहान शाखाबाट ४ करोड ७३ लाख ९६ हजार र नयाँ बानेश्वरको पानस रेमिटबाट प्रणालीमा ह्याक गरी १२ लाख रकम झिकिएको हो । मनी चेञ्जर कम्पनीमा भएको शंकास्पद कारोबारको आधारमा प्रहरीले अनुसन्धान गर्ने क्रममा कृषि विकास बैंकबाट समेत यसरी पैसा झिएिको पत्ता लागेको हो ।
बैंकको रकम चोरीमा कर्मचारीकै हात हुन सक्ने बताउँदै कृषि विकास बैंकका उप–महाप्रबन्धक दिर्घ अर्यालले सो शाखाका सबै कर्मचारीलाई बैंकबाट बाहिर राखेर अनुसन्धान गर्ने काम भइरहेको जानकारी दिए ।
उनले अनुसन्धानका लागि ४ सदस्यीय टोली काठमाडौंबाट लहान पठाइसकेकोसमेत जानकारी दिए ।
कस्तो थियो पिटरको योजना?
विदेशी नागरिक काले भनिने पिटरले लामो समय देखि भारतमा बसेर नेपालीको सहायतामा बैंक ह्याक गर्ने योजना बनाएका थिए, जसका लागि पिटरले १२ जना नेपालीलाई भारतमा नै बोलाएर मिटिङ समेत गरे र नेपालको कृषि विकास बैंक, नबिल बैंक लगायतका बैैंकहरुमा खाता खोल्न लगाए ।
यसले गर्दा ह्याक गरिएको रकम सहजै ती १२ जनाको खातामा पठाउन सकिन्थ्यो । ह्याक भएर आएको रकम १२ नेपालीको खातामा पठाई पुनः त्यो पैसा निकालेर त्यसको १० देखि १५ प्रतिशत कमिसन नेपाली भरियालाई दिएर बाँकी हुण्डीबाट भारत पठाउने योजना पिटरको थियो ।
‘पिटरको ५ अर्ब लुट्ने योजना थियो तर प्रहरी सक्रियताले चोर पक्राउ गर्न सफल भयौं,’ महाशाखा सूचना अधिकृत तथा प्रहरी उपरीक्षक ईश्वर कार्कीले भने, ‘पिटरले भारतमा बसेर लामो समयदेखि नेपाली एजेन्ट तयार गर्दै आएको रहेछ । ’
यसरी गरियो पक्राउ
नयाँ बानेश्वरको पानस रेमिटबाट एकै व्यक्तिले ६ पटकसम्म ६०–६० हजारका दरले रकम झिकेको सूचना प्रहरीलाई पाउनासाथ तत्काल अनुसन्धानका लागि प्रहरी परिचालित भएको कार्कीले बताए ।
‘पैसा झिक्ने व्यक्तिको परिचयपत्रका आधारमा उसलाई प्रहरीले सोधपुछ गर्दा सो रकम नुवाकोटका लवाङ तामाङलाई बुझाउनका लागि रकम निकालेको फेला पर्यो । लगत्तै प्रहरीले नुवाकोट प्रहरीको सहयोगमा सोही राति नै १० बजे लवाङलाई पक्राउ गर्यो,’ प्रहरी उपरीक्षक कार्कीले भने, ‘पक्राउ परेका लवाङले सो रकम सर्लाहीका पुष्पराज खड्कालाई दिने बताएपछि प्रहरीले पुष्पलाई समेत पक्राउ गरी सोधपुछ गर्दा उनले भारतमा पठाउन उक्त रकम निकालेको बताए ।’
यसरी पानस रेमिटमा भएको ह्याक प्रकरणको अनुसन्धानमा अन्य बैंकबाट पनि निकालिएको शंकाका आधारमा प्रहरीले अनुसन्धान गर्दै जाँदा असोज ६ गते कृषि विकास बैंक पुग्यो ।
अनुसन्धानको क्रममा बैंकको लहान शाखाबाट शंकास्पद रुपमा शाखाको पैसा अन्य व्यक्तिको एकाउन्टमा पठाएको देखिएपछि सो पैसा लिन आउने व्यक्तिलाई निगरानी गर्न थाल्यो । भोलिपल्ट नै खातावालाहरू पैसा निकाल्न आए र सबैलाई प्रहरीले पक्राउ गर्यो ।
यसरी पक्राउ पर्नेबाट सो रकम हुण्डीमार्फत भारतमा काले भनिने पिटरलाई पठाउने गरेको खुल्यो । यो जानकारी पाएपछि प्रहरीले हुण्डी सञ्चालकलाई पनि पक्राउ गर्यो । ती व्यक्तिले पिटरले आफूलाई इमो मार्फत निर्देशन दिने गरेको खुलाए । पिटरको फोन नम्बर पत्ता लगाए पनि बाँकी जानकारी भने प्रहरीले पाइसकेको छैन ।
पछिल्लो समय नेपाली बैंकहरू विदेशी ह्याकरको निसानामा पर्दै आएका छन् । यो महिना मात्रै २ पटक नेपालका ठूला बैंकहरुमा ठूलो मात्रामा रकम चोरी गर्ने प्रयास भयो । तर प्रहरीको उचित सक्रियतामा दुवै पटक क्षति हुन भने पाएन ।
प्रकाशित समय १८:११ बजे

















