गृहपृष्ठ राउन्ड अन्नपूर्णको घोडेपानीमा पर्यटक खचाखच
राउन्ड अन्नपूर्णको घोडेपानीमा पर्यटक खचाखच
राउन्ड अन्नपूर्ण अन्तर्गतको प्रसिद्ध पर्यटकीयस्थल घोडेपानीमा आन्तरिक तथा बाह्य पर्यटकको चाप बढे पनि प्रतिकूल मौसमका कारण पर्यटकले दृश्यावलोकनको आनन्द लिन पाएका छैनन् ।
विगत पाँच दिनदेखि छिनछिनमा बादल लाग्ने, वर्षा हुने तथा मौसमले साथ नदिएपछि कैयौं दिन लगाएर घोडेपानी तथा पुनहिलको भ्रमणमा आएका स्वदेशी तथा विदेशी पर्यटक निराश हुने गरेका छन् । मौसम प्रतिकूल भए पनि शरद ऋतुको शुरुवातसँगै अन्नपूर्ण गाउँपालिका-६ मा पर्ने घोडेपानीमा विभिन्न नाकाबाट पर्यटकको आगमन बढिरहेकाले यहाँका होटल खचाखच भरिएका इलाका प्रहरी कार्यालय घोडेपानीका प्रमुख सर्वजित गुरुङले बताए ।
कास्कीको पोखरा नयाँ पुल, घान्द्रुक हुँदै घोरेपानी र यता म्याग्दी सदरमुकाम बेनी–तातोपानी, घारा, शिख हुँदै घोरेपानी र नागी-महरेडाँडा हुँदै पुनहिलमा जानेमा अधिकांश चीन, बेल्जियम, इटली, जर्मन, इजरायल, फ्रान्स, अमेरिका, कोरिया, बेलायत, भारतलगायत मुलुकका पर्यटक भ्रमणका लागि आएको इलाका प्रहरी कार्यालयका प्रमुख गुरुङको भनाइ छ ।
नौ जना चिनियाँ पर्यटकलाई लिएर घोडेपानी आएका पर्यटक गाइड सन्तमान गुरुङले मौसम प्रतिकूल भएका कारण पर्यटकले घोडेपानी र पुनहिलबाट हिमशृंखलाको दृश्यावलोकन गर्न नपाएका बताए । ‘दैनिक आउने ३५० हाराहारीमा पर्यटकमध्ये कास्की क्षेत्रबाट आउने अत्यधिक छन्,’ उनले भने । यहाँ आएका पर्यटक दुई/तीन दिनसम्म घोडेपानी,पुनहिल तथा आसपासका क्षेत्रमा रमाउने गर्छन् ।
समुद्री सतहबाट ३ हजार २ सय १० मिटरको उचाइमा अवस्थित घोडेपानीमा मनोरम हिमशृंखला, मगर जातिको संस्कृति र रहनसहन, विविध प्रजातिका पशुपन्छी, वनस्पतिका साथै सूर्योदयको अवलोकन, स्थानीय कला तथा मगर नृत्यलगायत प्रस्तुत गरी पर्यटकलाई आकर्षित गर्ने गरिएको स्थानीय होटल व्यवसायी पूर्णबहादुर पुनले जानकारी दिए ।
‘मौसम खराबीका कारण अन्य पर्यटकीय क्षेत्रमा जान नसकेका समेत आएका छन्,’ उनले भने । मगर समुदायको मात्र बस्ती रहेको घोडेपानीमा ४८ घरधुरी रहेकामा अधिकांशले पर्यटन व्यवसाय गरी बसेका छन् । चार दशकअघि अन्नपूर्ण पदयात्रा मार्ग सुरु भएपछि बाटो हिँडने पर्यटकका लागि चिया, नास्ता खुवाउन खुलेका साना होटल तथा भट्टीले पर्यटकको बाक्लो आगमनसँगै अहिले सुविधा सम्पन्न होटल बनेका छन् ।
पर्यटकलाई लक्षित गरेर स्थानीय आमा समूह र होटल व्यवसायी समितिले सरसफाइमा नमुना बनाउने प्रयास गरिरहेको छ । पर्यटकको आगमन बढ्दै जान थालेपछि प्रहरीले पनि पर्यटकको सुरक्षाका लागि गस्ती गर्न थालेको छ । विश्वको उत्कृष्ट १० गन्तव्यभित्र पर्ने अन्नपूर्णमा २१ दिने अन्नपूर्ण परिक्रमा पदयात्रामार्गअन्तर्गत घोडेपानी १७ देखि १९ औँ दिनको सुन्दर गन्तव्य हो ।
४५ वर्षअघि २०३२ सालदेखि घोडेपानीमा बस्ती विस्तार भएसँगै होटल व्यवसायले फड्को मार्न थालेको स्थानीय होटल व्यवसायीको भनाइ छ । सुरुमा टहराबाट होटल व्यवसाय सुरु गरेका यहाँका व्यवसायीले अहिले करोडौं रुपैयाँ खर्चेर विदेशी पर्यटक लक्षित सुविधा सम्पन्न होटल सञ्चालन गरेका हुन् । (रासस)
प्रकाशित समय १५:४८ बजे

















