गृहपृष्ठ बजेटले महिला उद्यमीलार्इ उपेक्षा गरेको आरोप
बजेटले महिला उद्यमीलार्इ उपेक्षा गरेको आरोप
काठमाडौं– महिला उद्यमी महासंघ नेपालले सरकारले सार्वजनिक गरेको आगामी आर्थिक वर्षको बजेटले महिला उद्यमशीलता विकास कोषलाई नसमेटेको आरोप लगाएको छ ।
सरकारले तीन वर्षअघि स्थापना गरेको कोषले दूरदराजका महिलासमेतलाई उद्योग व्यवसायमा लाग्ने प्रेरित गरेका बेला आगामी बजेटले त्यसलाई चासो नदिनु दुःखद् भएको महासंघ अध्यक्ष शारदा रिजालले बताइन् । सरकारले महिला उद्यमशीलता विकास कोष खडा गरी उद्यम गर्न चाहने महिलालाई एकदेखि ५ लाख रुपैयाँसम्म ऋण दिइरहेकोमा आगामी वर्षको बजेटमा यसलाई निरन्तरता नदिइएकाले धेरै महिला उद्यमी निरुत्साहित हुनुपरेको उनको भनाइ छ ।
आगामी वर्षको बजेटले महिलाद्वारा सञ्चालित परियोजनामा १५ लाख रुपैयाँसम्मको सामूहिक ऋणमा ६ प्रतिशत ब्याज अनुदानको व्यवस्था गरेको छ । तर, यसमा महासंघ सहमत छैन । ‘उद्यमी महिलालाई बैंकबाट ऋण लिने व्यवस्था गरिएको छ,’ अध्यक्ष रिजालले भनिन्, ‘ बैंकले साझेदारी र सहज ब्याजदरमा ऋण उपलब्ध नगराउने भएकाले महिला उद्यमी समस्यामा पर्ने देखिन्छ ।’
महिला उद्यमशीलता विकास कोषका लागि महासंघले २७ करोड रुपैयाँ बजेट माग गरेको थियो । तर, सरकारले रकम विनियोजन नगरेपछि अब कोषमा ६ करोड रुपैयाँमात्र बाँकी रहेको महासंघले जनाएको छ । ‘यो बाँकी रकम ७७ जिल्लाका महिला उद्यमीलाई कनिका छरेजस्तोमात्र हुन्छ,’ उनले भनिन् ।
बजेटले महिलालाई उपेक्षा गरे पनि बेरोजगार जनशक्तिका लागि रोजगारीका अवसर सिर्जना गर्न प्रादेशिक रुपमा तालिम सञ्चालन गर्ने व्यवस्था सकारात्मक रहेको महासंघले जनाएको छ ।
प्रकाशित समय १९:१३ बजे

















